निर्जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन साढे २८ अर्बभन्दा बढी, अग्रस्थानमा शिखर इन्स्योरेन्स

वैशाख १९, काठमाडौं । २० ओटा निर्जीवन बीमा कम्पनीले चालू आर्थिक वर्ष (आव) को नौ महीनामा कूल रू. २८ अर्ब ७० करोड बीमाशुल्क आर्जन गरेका छन् ।  बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चैत महीनासम्म २० निर्जीवन बीमा कम्पनीले उक्त बीमाशुल्क आर्जन गरेका हुन् ।  सबैभन्दा बढी बीमाशुल्क शिखर इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । चैत मसान्तसम्ममा कम्पनीले रू. ३ अर्ब ७१ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेको हो । त्यसैगरी दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनीले रू. २ अर्ब ४२ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । चैत मसान्तसम्म २० कम्पनीमध्ये सबैभन्दा कम बीमाशुल्क नेशनल इन्स्योरेन्स कम्पनीले रू. ६७ करोड ८८ लाख बीमाशुल्क आर्जन गरेको छ ।  त्यसैगरी ती कम्पनीहरुले चैत महीनामा मात्रै कुल रू. ३ अर्ब ४० करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । फागुन महीनामा मात्रै रू. ३ अर्ब ४७ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेका थिए । फागुन मसान्तको तुलनामा चैत मसान्तसम्ममा बीमाशुल्क २ दशलमव १४ प्रतिशतले घटेको हो ।  त्यस्तै चैत महीनामा मात्र सबैभन्दा बढी बीमाशुल्क आर्जन शिखर इन्स्योरेन्स कम्पनीले नै आर्जन गरेको छ । सो अवधिमा कम्पनीले रू. ६० करोड ८६ लाख बीमाशुल्क आर्जन गरेको हो । यो बीमाशुल्क फागुन महीनाको तुलनामा ८० प्रतिशत वृद्धि भएको छ । कम्पनीले फागुन मसान्तसम्ममा रू. ३३ करोड ७४ लाख बीमाशुल्क आर्जन गरेको थियो । त्यसैगरी दोस्रोमा नेको इन्स्योरेन्स कम्पनीले रू. २४ करोड ७ लाख बीमाशुल्क आर्जन गरेको छ । प्रतिशतका आधारमा सबैभन्दा बढी फागुनको तुलनामा चैत महीनामा नेशनल इन्स्योरेन्स कम्पनीको बीमाशुल्क १०२ प्रतिशत वृद्धि भएको छ । फागुनमा यस कम्पनीले रू. ४ करोड ९१ लाख बीमाशुल्क आर्जन गरेकोमा चैतमा बढेर रू. ९ करोड ९४ लाख पुगेको हो । २० कम्पनीमध्ये ११ कम्पनीको बीमाशुल्क फागुनको तुलनामा चैतमा बढेको छ भने बाँकी नौ कम्पनीको बीमाशुल्क घटेको छ ।  प्रतिशतका आधारमा सबैभन्दा बढी बीमाशुल्क राष्ट्रिय बीमा कम्पनीको घटेको छ । फागुनको तुलनामा चैतमा कम्पनीको बीमाशुल्क ७५ प्रतिशत घटेको हो । कम्पनीले फागुनमा रू. ५५ करोड २५ लाख बीमाशुल्क आर्जन गरेकोमा चैतमा रू. १३ करोड ८० लाखमा झरेको हो ।  

सम्बन्धित सामग्री

निर्जीवन बीमा कम्पनी : कुनले कति दिँदैछन् लाभांश ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १२ निर्जीवन बीमा कम्पनीमध्ये हालसम्म पाँच ओटाले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश दिने भएका छन् । नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई गत आवको मुनाफाबाट लाभांश दिन लागेका हुन्, जसमध्ये नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांश साधारण सभाबाट पारित गराइसकेका छन् ।  कुनले कति दिँदैछन् ? नेपाल इन्स्योरेन्सले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ५२६३ प्रतिशत नगद लाभांश, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८ दशमलव ६३ प्रतिशत बोनस शेयर र ६ दशमलव ३७ प्रतिशत नगद लाभांश (करसहित), युनाइटेड अजोड इन्स्योरेन्सले १० दशमलव २६१२ प्रतिशत र कर प्रयोजनको लागि शून्य दशमलव ५४०१ प्रतिशत नगद लाभांश र एनएलजी इन्स्योरेन्सले ५ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका हुन् ।   सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले प्रस्तावित लाभांश पारितका लागि फागुन ३० गते साधारण सभा बोलाएको छ । गत आवको मुनाफाबाट यस कम्पनीले आफ्ना शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  निर्जीवन बीमा कम्पनीमध्ये चार ओटाले भने गत आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेका छन्, जसमा नेको इन्सुरेन्स, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र सानिमा जिआईसी इन्स्योरेन्स छन् ।   प्रभु इन्स्योरेन्स, सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले भने हालसम्म लाभांश वितरणसम्बन्धी निर्णय गरेका छैनन् ।

निर्जीवन बीमा कम्पनीहरूको नाफामा संकुचन

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूको कुल नाफा घटेको छ । विशेषगरी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीको कुल नाफा घटेको हो । उनीहरूले हालै सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कुल नाफा २ दशमलव १५ प्रतिशतले घटेको छ । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा भारतीय स्वामित्वका नेशनल र दि ओरियन्टल इन्स्योरेन्सले अभैm पनि यस्तो विवरण सार्वजनिक गरेका छैनन् । साथै, उनीहरू नेपाल स्टक एक्सचेन्जमा पनि सूचीकृत छैनन् । गत आवसम्म निर्जीवन बीमा कम्पनीहरूको नाफा बढेको नै थियो । तर, चालू आवमा भने पहिलो त्रैमासमै नाफा घटेको वित्तीय विवरणहरूले देखाएका छन् । समीक्षा अवधिमा दाबी भुक्तानी बढी गर्नुपर्दा नाफा घटेको नेपाल बीमक संघका महासचिव तथा सगरमाथा इन्स्योरेन्सका सीईओ चंकी क्षत्री बताउँछन् । यसपालि बाढीपहिरोलगायत कारण बीमा भएका सम्पत्तिहरूमा क्षति पुगेको छ । फलस्वरूप बीमा कम्पनीहरूमा पनि सोहीअनुसार नै दाबी परेको छ । त्यसको असरले नै नाफामा संकुचन आएको उनको भनाइ छ । गत आवको समीक्षा सोही अवधिमा १८ निर्जीवन बीमा कम्पनीले रू. ९३ करोड ५२ लाख ८८ हजार खुद नाफा कमाएका थिए । तर, यसपालि भने त्यो भन्दा २ करोड १ लाख ५५ हजार कम अर्थात् ९१ करोड ५१ लाख ३३ हजार खुद नाफा कमाएको तथ्यांकमा देखिन्छ । संख्यात्मक रूपमा भने जम्मा ४ कम्पनीको मात्रा नाफा घटेको देखिन्छ । नेको, एनएलजी, प्रुडेन्सियल र अजोड इन्स्योरेन्सको नाफा क्रमशः ४२ दशमलव १८ प्रतिशत, ५ प्रतिशत, १० प्रतिशत र ७९ प्रतिशतले घटेको छ । यसबाहेकका कम्पनीको नाफा बढेको छ । समीक्षा अवधिमा नाफा कमाउने मामलामा शिखर इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । उक्त कम्पनीले रू. १३ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै, दोस्रो स्थानमा रहेको प्रिमियरले ८ करोड १५ लाख र तेस्रो स्थानमा रहेको नेकोले रू. ७ करोड १९ लाख खुद नाफा कमाएका छन् ।

निर्जीवन बीमा ११% ले बढ्यो

काठमाडौं । नेपालमा सञ्चालित २० निर्जीवन बीमा कम्पनीमध्ये १९ कम्पनीले चालू आवको पहिलो महीना (साउन) मा करीब रू. ३ अर्ब बीमाशुल्क संकलन गरेका छन् । निर्जीवन बीमा व्यवसायसम्बन्धी बीमा समितिबाट प्राप्त साउन महीनाको विवरणले यस्तो देखाएको हो । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीबाहेकका कम्पनीले साउनमा २ अर्ब ९९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । साउनमा निर्जीवन बीमा कम्पनीहरूले २ लाख ४१ हजार ८३७ ओटा बीमालेख जारी गरेका छन् । समीक्षा अवधिमा निर्जीवन बीमा व्यवसाय १० दशमलव ७४ प्रतिशतले बढेको छ । गत आवको सोही महीनामा निर्जीवन बीमा कम्पनीहरूले २ अर्ब ७० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निर्जीवन बीमातर्पmको वृद्धिदर सामान्य देखिएको बताए । ‘यसै पनि साउन आर्थिक वर्षको शुरुआती महीना भएका कारण यस समयमा व्यवसाय त्यति हँुदैन । समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूको वृद्धि राम्रो देखिएको छ । तर, त्यसको तुलनामा निर्जीवन बीमामा त्यति राम्रो वृद्धि देखिएन,’ उनले भने, ‘समीक्षा अवधिमा भएका प्राकृतिक प्रकोपका कारण व्यवसाय वृद्धिदर त्यति राम्रो देखिएन होला ।’ १० प्रतिशतको वृद्धिदरलाई नराम्रो पनि भन्न नसकिने उनको भनाइ छ । ‘कोरोना महामारी अझै जारी छ । यो अवस्थामा व्यवसायमा ह्रास नै आएको छैन । यसलाई सकारात्मक रूपमा लिनुपर्छ,’ उनले भने । समीक्षा अवधिमा बीमाशुल्क संकलन गर्ने मामलामा शिखर इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । साउनमा उक्त कम्पनीले रू. ३३ करोड बीमाशुल्क संकलन गरेको छ । बढी बीमा शुल्क संकलन गर्ने दोस्रो नम्बरमा सगरमाथा इन्स्योरेन्स देखिएको छ । कम्पनीले रू. ३० करोड बीमाशुल्क संकलन गरेको छ । यसैगरी तेस्रो नम्बरमा रहेका नेको र सिद्धार्थ इन्स्योरेन्सले २६/२६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरूको कुल नाफा रू. ४६२ करोड

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका १८ निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष (आव) २०७७/७८ मा रू. ४ अर्ब ६२ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्, तीमध्ये नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरूले त्यो बराबरको नाफा कमाएका हुन् । बीमा कम्पनीहरूले हालै सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । वित्तीय विवरणअनुसार गत आवमा बीमा कम्पनीहरूको नाफा औसत्मा ७ दशमलव ३३ प्रतिशतले बढेको छ । अघिल्लो आवको तुलनामा बीमा कम्पनीहरूको नाफा बढे पनि वृद्धिदर भने खुम्चिएको छ । अघिल्लो आवमा कम्पनीहरूको नाफा १२ दशमलव ४१ प्रतिशतले बढेको थियो । तर, यसपटक भने नाफा वृद्धिदर खुम्चिएर ७ दशमलव ३३ प्रतिशतमा सीमित भएको छ । भारतीय स्वामित्वको नेशनल इन्स्योरेन्स र दि ओरियन्टल इन्स्योरेन्स भने नेप्सेमा सूचीकृत भएका छैनन् । साथै, उनीहरूले वित्तीय विवरण पनि सार्वजनिक गरेका छैनन् । कोरोना महामारीका कारण बीमा व्यवसाय प्रभावित हुँदा नाफा वृद्धिदर खुम्चिएको कम्पनीहरूको भनाइ छ । कोरोना महामारीका बीच नाफा बढ्नुलाई नै सकारात्मक रूपमा लिनुपर्ने उनीहरू बताउँछन् । गत आवमा व्यवसाय सञ्चालनबाट त्यति नाफा कमाउन नसकिएको एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनीलवल्लभ पन्तले बताए । शेयर कारोबारबाट नाफा बढ्न सहयोग पुगेको उनको भनाइ छ । ‘गत आवमा सञ्चालन नाफामा त्यति वृद्धि छैन । कम्पनीहरूले शेयर कारोबारबाट आम्दानी गर्दा कुल नाफामा वृद्धि देखिएको हो,’ उनले भने । बीमांकीय मूल्यांकनपछि भने कम्पनीहरूको नाफा थप बढ्ने बताइएको छ । यसपालि नाफा कमाउने मामलामा नेको इस्योरेन्स अग्र स्थानमा आएको छ । उक्त कम्पनीले रू. ५४ करोड ६ लाख खुद नाफा कमाएर आफूलाई पहिलो स्थानमा ल्याएको छ । नाफा कमाउने मामलामा अघिल्लो आवमा राष्ट्रिय बीमा कम्पनी पहिलो नम्बरमा रहेको थियो । यस्तै, नाफा कमाउने मामिलामा शिखर इन्स्योरेन्स दोस्रो नम्बरमा आएको छ । उक्त कम्पनीले रू. ४७ करोड ५७ लाख नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको सगरमाथाले भने रू. ४५ करोड १५ लाख नाफा कमाएको छ ।

बैंकको कर्जा प्रवाह बढ्दा निर्जीवन व्यवसायमा वृद्धि

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा निर्जीवन बीमा कम्पनीहरूले रू. ३१ अर्ब ७० कुन बीमाशुल्क संकलन गरेका छन् । गत आवमा २७ लाख ३१ हजार ७७३ ओटा बीमालेख विक्री गरेर निर्जीवन बीमा कम्पनीहरूले त्यस बराबरको बीमाशुल्क संकलन गरेका हुन् । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालन छन् । गत आवमा उनीहरूले त्यस बराबरको बीमाशुल्क संकलन गरेको बीमा समितिको तथ्यांकले देखाएको छ । गत आवमा निर्जीवन बीमा कम्पनीहरूको बीमाशुल्क संकलन करीब १७ प्रतिशतले बढेको छ । अघिल्लो आव २०७६/७७ मा निर्जीवन बीमा कम्पनीहरूले २७ अर्ब १५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । कोरोना महामारीका बीच पनि व्यवसाय १७ प्रतिशतले बढ्नुलाई निर्जीवन बीमा कम्पनीहरूले सकारात्मक रूपमा लिएका छन् । एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनीलवल्लभ पन्तले गत आवमा व्यावसायिक वृद्धिदर राम्रो भएको बताए । बैंकहरूको कर्जा प्रवाह बढ्दा निर्जीवन बीमा व्यवसाय बढेको पन्तको भनाइ छ । बैंकबाट कर्जा लिएर गरिने कुनै पनि व्यवसाय तथा बनाइने घरको अनिवार्य रूपमा बीमा गर्नुपर्ने हुन्छ । त्यसैले बैंकको कर्जा बढ्दा स्वतः निर्जीवन बीमा व्यवसाय पनि बढेको सीईओ पन्तले बताए । गत आवमा वाणिज्य बैंकहरूले रू. ८ खर्ब १५ अर्ब ४४ करोड नयाँ कर्जा प्रवाह गरेका छन् । यस्तै, विकास बैंक तथा अन्य वित्तीय संस्थाहरूले पनि उच्च मात्रामा कर्जा प्रवाह गरेका छन् । यसरी कर्जा प्रवाह उच्च हुँदा बीमाको व्यवसाय पनि बढेको कम्पनीहरूको भनाइ छ । ‘गत आवमा बैंकहरूको कर्जा प्रवाह उच्च देखियो । त्यसको असरले नै व्यवसाय बढेको हो,’ पन्तले भने, ‘साथै, चालू आवदेखि कृषिबीमामा दिइने अनुदान घटाउने भएपछि गत आवमा अधिकांश कृषकहरू बीमाको दायरामा आए । त्यसको असरले पनि व्यवसाय बढेको हो ।’ सरकारले गत आवसम्म कृषिबीमामा ७५ प्रतिशतसम्म अनुदान दिँदै आएको थियो तर, निवर्तमान सरकारले गत जेठ १५ गते चालू आवका लागि वार्षिक बजेट ल्याउँदा कृषि बीमामा दिइने अनुदानलाई ५० प्रतिशतमा सीमित राख्यो । त्यसपछि अधिकांश किसानले अनुदानको लाभ लिनका लागि पनि बीमा गरेको पन्तको भनाइ छ । व्यवसाय बढे पनि निर्जीवन बीमा बजारको दायरा विस्तार भने नभएको पन्त बताउँछन् । ‘गत आवमा प्राविधिक कारणले गर्दा व्यवसाय बढेको हो । बीमा बजार नै विस्तार भएको होइन,’ उनले भने, ‘कोरोना कहर जारी हुँदा बीमा बजारलाई विस्तार गर्न सकिएको छैन ।’ गत आवमा बीमाशुल्क संकलन गर्ने मामिलामा शिखर इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । उक्त कम्पनीले गत आवमा रू. ३ अर्ब ९७ करोड बीमाशुल्क संकलन गरेको थियो । दोस्रो स्थानमा सगरमाथा इन्स्योरेन्स कम्पनी देखिएको छ । कम्पनीेले गत आवमा रू. २ अर्ब ६५ करोड बीमाशुल्क संकलन गरेको छ । यसैगरी तेस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले रू. २ अर्ब ४१ करोड बीमाशुल्क संकलन गरेको छ ।

१८ प्रतिशतले बढ्यो निर्जीवन बीमा व्यवसाय

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा निजीक्षेत्रका निर्जीवन बीमा कम्पनीले रू. २३ अर्ब २ करोड बीमाशुल्क संकलन गरेका छन् । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । तीमध्ये निजीक्षेत्रका १९ निर्जीवन बीमा कम्पनीले ९ महीनामा उक्त बीमाशुल्क संकलन गरेको बीमा समितिको तथ्यांक छ । समितिका अनुसार सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले भने उक्त अवधिको विवरण पेश गरेको छैन । कोरोना कहरका बीच पनि समीक्षा अवधिमा बीमाशुल्क संकलन करीब १८ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा उक्त कम्पनीहरूले रू. १९ अर्ब ५१ करोड बीमाशुल्क संकलन गरेका थिए । कोरोना कहर र विगतमा लगाइएको लकडाउन तथा निषेधाज्ञाका कारण चालू आवको पहिलो त्रैमाससम्म निर्जीवन बीमा व्यवसाय नराम्ररी प्रभावित भएको थियो । तर, तेस्रो त्रैमाससम्म आउँदा यस्तो बीमाको व्यवसायमा सुधार आएको कम्पनीहरूको भनाइ छ । विशेषगरी बैंकबाट कर्जा प्रवाह बढ्दा निर्जीवन बीमाको व्यवसाय बढेको एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनीलवल्लभ पन्तले बताए । बैंकबाट कर्जा लिएर गरिने व्यवसाय तथा बनाइने घरहरूको अनिवार्य रूपमा बीमा गर्नुपर्ने हुन्छ । सो अवस्थामा बैंकबाट कर्जा प्रवाह बढ्दा निर्जीवन बीमाको व्यवसाय उत्साहजनक रूपमा बढेको पन्तको भनाइ छ । ‘कोरोना कहरको बीच पनि समीक्षा अवधिमा निर्जीवन बीमाको व्यवसाय बढेको छ । यसको मुख्य कारण बैंकको कर्जा प्रवाह बढ्नु हो,’ उनले भने, ‘साथै, बीमायोग्य सम्पत्तिको बीमा र नयाँ व्यवसाय पनि भइरहेको छ । यसले पनि व्यवसाय बढेको हो ।’ अबका दिनमा भने निर्जीवन बीमा व्यवसायको कस्तो हुन्छ भन्ने आकलन नगरिएको उनको भनाइ छ । ‘कोरोनाको दोस्रो लहर शुरू भएसँगै अहिले राजधानी सहित विभिन्न जिल्लामा निषेधाज्ञा लगाइएको छ । यसको असर पक्कै पनि व्यवसायमा देखिन्छ,’ उनले भने, ‘यद्यपि, नवीकरण गरिने बीमालेखमा समस्या आउँदैन । अनलाइनमार्फत नै गर्न सकिन्छ । पहिले लकडाउन हुँदा पनि नवीकरण व्यवसाय त्यति प्रभावित भएको थिएन । तर, नयाँ व्यवसायमा भने असर गर्ने देखिएको छ ।’ समीक्षा अवधिमा बीमाशुल्क संकलन गर्नेमा शिखर इन्स्योरेन्स अग्रस्थानमा देखिएको छ । उक्त कम्पनीले २ अर्ब ९६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । यस्तै, दोस्रो स्थानमा रहेको सगरमाथा इन्स्योरेन्सले रू. १ अर्ब ९९ करोड र तेस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले रू. १ अर्ब ९५ करोड बीमाशुल्क संकलन गरेको छ । ३ वर्षअघि सञ्चालनमा आएका तीन निर्जीवन बीमा कम्पनीमध्ये अजोड इन्स्योरेन्स अगाडि देखिएको छ । उक्त कम्पनीले रू. ९९ करोड बीमाशुल्क संकलन गरेको छ । यस्तै, जनरल इन्स्योरेन्सले रू. ५२ करोड र सानिमा जनरलले रू. ४६ करोड बीमाशुल्क संकलन गरेको बीमा समितिको तथ्यांकमा उल्लेख छ ।