‘तत्काल बीमा कम्पनीको पूँजी वृद्धि असम्भव’

काठमाडौं । बीमा कम्पनीहरूले अहिलेको अवस्थामा चुक्तापूँजी बढाउन सम्भव नभएको प्रतिक्रिया दिएका छन् । नियमनकारी निकाय बीमा समितिले गत बिहीवार एक परिपत्र जारी गर्दै बीमा कम्पनीहरूलाई चुक्तापूँजी बढाउन निर्देशन दिएको थियो । कोरोना महामारी र तरलता अभाव जारी रहेका बेला पूँजी वृद्धि चुनौतीपूर्ण हुने बीमा कम्पनीका सञ्चालक तथा लगानीकर्ताको तर्क छ । हाल जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापूँजी २ अर्ब र निर्जीवन बीमा कम्पनीको १ अर्ब रूपैयाँ हुनुपर्ने प्रावधान छ । बीमा समितिको पछिल्लो परिपत्रमा जीवन बीमा कम्पनीको ५ अर्ब र निर्जीवन बीमा कम्पनीको २ अर्ब ५० करोड रूपैयाँ चुक्तापूँजी हुनुपर्ने उल्लेख छ । समितिले २०७९ चैत मसान्तभित्रै नयाँ तोकिएको न्यूनतम चुक्तापूँजी पुर्‍याउन निर्देशन दिएको छ । तर यति छोटो समयमा तोकिएको चुक्तापूँजी पुर्‍याउन सम्भव नभएको बीमा कम्पनी सञ्चालक बताउँछन् । पूँजी वृद्धि गर्ने विषय तत्काललाई बीमा क्षेत्रका लागि हानिकारक हुन सक्ने उनीहरू बताउँछन् । निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्लले समितिको निर्देशन अनुसार पूँजी बढाउन कठिन हुने बताए । ‘बीमा कम्पनीको चुक्तापूँजी समयसापेक्ष बनाउन आवश्यक छ । तर, एकाएक बढाउनु चुनौतीपूर्ण हुन्छ,’ उनले भने, ‘कम्तीमा ३–४ वर्ष दिएको भए सहज हुन्थ्यो । १ वर्षमा १५० प्रतिशतले चुक्तापूँजी बढाउन कठिन छ ।’ तरलता अभाव, कोरोना महामारीले ल्याएको आर्थिक अस्थिरताका कारण लगानी थप्न समस्या हुने उनको भनाइ छ । ‘अहिले बैंकिङ क्षेत्रमा तरलता अभाव छ । त्यसको असरले सबै क्षेत्रमा पूँजी अभाव हुँदै गएको छ,’ उनले भने, ‘त्यसमाथि पछिल्लो समय महँगी पनि बढेको छ । यो अवस्थामा थप लगानी गर्न कठिन छ ।’ चुक्तापूँजीको सम्बन्धमा समितिले तोकेको नयाँ सीमा निर्जीवन बीमा कम्पनीको हकमा आवश्यकभन्दा बढी भएको उनले बताए । ‘अहिले एउटा निर्जीवन बीमा कम्पनीको वार्षिक व्यवसायको आकार औसत १ अर्ब ५० करोड रूपैयाँ हाराहारी छ । यो अवस्थामा चुक्तापूँजी व्यवसायको आकारभन्दा बढी अर्थात् २ अर्ब ५० करोड रूपैयाँ बनाउँदा राम्रो हुन्छ जस्तो मलाई लाग्दैन । पूँजी वृद्धिभन्दा पनि फोर्सफुल मर्जरमा लैजान यस्तो नीति लिए जस्तो लाग्छ ।’ जीवन बीमा कम्पनीका लगानीकर्ता पनि तत्काल पूँजी वृद्धि चुनौतीपूर्ण भएको बताउँछन् । एक जीवन बीमा कम्पनीका लगानीकर्ताले तत्काल पूँजी बढाउन समस्या हुने बताए । ‘जीवन बीमा कम्पनीलाई पनि यति छोटो समयमा चुक्तापूँजी बढाउन चुनौती हुन्छ । समितिले यसमा पुनर्विचार गर्नु आवश्यक छ,’ उनले भने । बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरू चाहीँ यसले मर्जरमा जानुपर्ने अवस्था ल्याउन सक्ने बताउँछन् । ‘पूँजी बढाउने उत्तम विकल्प हकप्रद शेयर हो । तर, शेयरधनीहरू त्यसको लागि पर्याप्त पूँजी छैन भन्छन्,’ एक बीमा कम्पनीका सीईओले भने, ‘त्यो अवस्थामा कम्पनीहरू मर्जरमा जान बाध्य हुनुपर्छ ।’ यसअघि समितिले २०७४ माघ १३ गते जीवन बीमा कम्पनीलाई २ अर्ब र निर्जीवनलाई १ अर्ब रूपैयाँ न्यूनतम चुक्तापूँजी पुर्‍याउन निर्देशन दिएको थियो । त्यसको लागि समितिले २०७५ असार मसान्तसम्मको म्याद दियो । तर, कम्पनीहरूले २०७६ को अन्तिमतिर मात्र तोकिएको चुक्तापूँजी पुर्‍याए । यसपटक पनि बीमा कम्पनीहरूलाई तोकिएको समयमा चुक्तापूँजी पुर्‍याउन चुनौती हुने देखिएको छ । पूँजी वृद्धिले कम्पनीहरूको लाभांश क्षमता घट्ने लगानीकर्ता बताउँछन् । ‘अब बीमा कम्पनीको चुक्तापूँजी धेरै नै हुने भयो । तर, त्यो अनुसार व्यवसाय बढ्ने अवस्था तत्काल छैन,’ एक लगानीकर्ताले भने, ‘त्यो अवस्थामा उनीहरूको लाभांश क्षमता घट्छ । किनकि, हामीले बैंकले जसरी झ्याम झ्याम लगानी गरेर पैसा कमाउने होइन । जोखिमको व्यवसाय गर्ने हुँदा लगानी पनि सुरक्षित ठाउँमा गर्नुपर्छ । जहाँ हामीले ठूलो मात्रामा प्रतिफल पाउँदैनौं । त्यसकारण लाभांश क्षमता घट्ने देखिन्छ ।’ यो तर्कलाई बैंकिङ क्षेत्रले पनि पुष्टि गर्छ । वाणिज्य बैंकहरूको चुक्तापूँजी २ अर्ब रूपैयाँ हुँदा उनीहरूको लाभांश क्षमता औसत ३०–३५ प्रतिशतसम्म रहेको जानकार बताउँछन् । वाणिज्य बैंकहरूको चुक्तापूँजी ८ अर्ब रूपैयाँ बनाएपछि उनीहरूको लाभांश क्षमता घट्दै गएको छ । गत आवमा वाणिज्य बैंकको औसत लाभांश क्षमता १२–१३ प्रतिशत मात्र थियो । बीमा क्षेत्रमा पनि यस्तो अवस्था आउन सक्ने लगानीकर्ता बताउँछन् । ‘कम्पनीको चुक्तापूँजी बढ्नु आफैंमा राम्रो पक्ष हो । तर, त्यो अनुसार बजार र व्यवसाय पनि हुन पर्‍यो नि ! व्यवसायभन्दा चुक्तापूँजी बढी भएपछि पक्कै पनि समस्या आउँछ,’ एक लगानीकर्ताले भने, ‘चुक्तापूँजी अनुसारको व्यवसाय बढ्न सकेन भने साँच्चै समस्या आउन सक्छ ।’ छलफलमा जुट्दै लगानीकर्ता समितिले चुक्तापूँजी बढाउने निर्णय गरेपछि बीमा कम्पनी सञ्चालकहरू छलफलमा जुट्ने तयारीमा छन् । त्यो छलफलबाट हुने निर्णयको आधारमा बीमा समितिमा ज्ञापनपत्र पेश गरिने संघका अध्यक्ष मल्लको भनाइ छ । ‘बीमा समितिको चुक्तापूँजी बढाउने निर्णयको विषयमा छलफल गर्न लगानीकर्ताहरू जुट्दैछौं । छलफलबाट आवश्यक सुझाव सहित समितिमा ज्ञापनपत्र बुझाउने हाम्रो योजना छ,’ उनले भने ।

सम्बन्धित सामग्री

चैतभित्र पूँजी वृद्धि नगर्ने बीमा कम्पनी कारबाहीमा पर्ने

काठमाडौं । बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई पूँजी वृद्धि गर्न दिएको समय सीमा यो चैतमा सकिँदैछ । तर, कतिपय बीमा कम्पनीहरुले तोकिएको चुक्ता पूँजी पुर्‍याउन सकेका छैनन् । निर्जीवन बीमा कम्पनीले साढे २ अर्ब र जीवन बीमा कम्पनीलाई चैत मसान्तभित्र पाँच अर्ब चुक्ता पूँजी पुर्‍याउन प्राधिकरणले गत वर्षको चैतमै निर्देशन दिएको थियो । प्राधिकरणको निर्देशनपछि २१ […]

आधुनिक बीमा सेवामा फड्को : राष्ट्रिय बीमा संस्थानको ५६औं वार्षिकोत्सव विशेष

काठमाडौं । मुलुकको बीमा क्षेत्रमा साढे ५ दशकको योगदान रहेको राष्ट्रिय बीमा संस्थान आज (बिहीवार) ५६औं वर्षमा प्रवेश गर्दै छ । २०२४ पुस १ गते राष्ट्रिय बीमा संस्थानको स्थापना एक निजी कम्पनीको रूपमा भएको थियो । स्थापनाकालमा संस्थानको अधिकृत पूँजी १ करोड मात्र रहेको देखिन्छ । राष्ट्रिय बीमा संस्थान ऐन २०२५ जारी भइसकेपछि २०२५ पुस १ गतेदेखि यसले संस्थागत रूप लिएको हो । २०२४ फागुन ११ गतदेखि व्यवसाय शुरू गरेकाले संस्थानले फागुन ११ गतेलाई आधार मानेर वार्षिकोत्सव मनाउने गरेको छ । शुरुआतमा निर्जीवन बीमा गर्ने संस्थानले प्रथम बीमितको रूपमा नेपालका तत्कालीन शासक राजा महेन्द्रको बीमा गरेको थियो । संस्थानले २०२९ फागुन ७ गतेदेखि जीवन बीमा व्यवसाय शुरू गर्‍यो । त्यसपछि बीमा २०७१ सालसम्म निर्जीवन र जीवन दुवै बीमा गर्दै आएकोे थियो । तर दुवै प्रकारका बीमा एउटै कम्पनीबाट गर्न नपाइने निर्देशनपछि २०७१ सालमा निर्जीवन बीमाका लागि राष्ट्रिय बीमा कम्पनीको स्थापना गरियो । संस्थानले अहिले जीवन बीमा मात्र गर्छ । अहिले सबै प्रदेशमा गरी २३ शाखा कार्यालयबाट जीवन बीमाको व्यवसाय भइरहेको छ । बीमा अभिकर्ताका लागि अहिले धेरै सजिलो भएको संस्थानका अधिकारीहरू बताउँछन् । शुरूका दिनमा अभिकर्ताले बीमा गर्न शाखा कार्यालयमा गएर कागजपत्र बुझाइसकेपछि काठमाडौंमा पठाउनुपर्ने र काठमाडौंबाट बीमालेख प्रिन्ट गरेर पठाउनुपर्ने व्यवस्था थियो । तर अहिले कागजपत्र पूरा गरेर ल्याएको आधा घण्टाभित्र बीमालेख जारी गरिसक्ने व्यवस्था रहेको संस्थानका प्रशासक कविप्रसाद पाठकले बताए । ‘गतवर्षदेखि कनेक्ट आईपीएस, खल्ती र ई–सेवाबाट बीमाशुल्क संकलन शुरू गरेका छौं,’ उनले भने, ‘यही फागुनदेखि दाबी भुक्तानी पनि कनेक्ट आईपीएसको माध्यमबाट गर्दै छौं ।’ उनका अनुसार संस्थानले प्रविधिको क्षेत्रमा ठूलो सुधार गरेको छ । बीमा क्षेत्रमा बीमा संस्थानको ठूलो योगदान छ ईश्वर पौडेल अध्यक्ष, राष्ट्रिय बीमा संस्थान राष्ट्रिय बीमा संस्थानलाई कसरी अघि बढाउँदै हुनुहुन्छ ? म यो संस्थामा आएको ५/६ महीना मात्र भएको छ । राष्ट्रिय बीमा संस्थान बीमा क्षेत्रको अग्रणी संस्था हो । यसले बीमालाई व्यवस्थित गर्न, बीमाको बारेमा चेतना बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । संस्थान व्यावसायिक हिसाबले पनि सबल छ । पुरानो संस्था भएकाले पूँजी निर्माणमा संस्थान अग्रणी छ । हामीले बीमालाई अगाडि बढाउन कस्तो रणनीति लिने भनेर गहन छलफल गरेका छौं । लामो समयदेखि संस्थानको लेखापरीक्षण भएको छैन । त्यसलाई पूरा गर्नुपर्ने छ । समग्रमा संस्थानलाई अझै अब्बल बनाउन लागिपरेका छौं । संस्थानका शाखा पनि कम छन् । शाखा सञ्जाल विस्तारका लागि कस्तो योजना छ ? संस्थानका शाखा कम भयो भन्ने छ । तर जनशक्तिको स्थिति हेर्दा यो स्वाभाविक नै हो जस्तो लाग्छ । पहिले जीवन र निर्जीवन दुवै हेर्ने गरेको बीमा संस्थानबाट निर्जीवन बीमा हेर्नेगरी राष्ट्रिय बीमा कम्पनी बनेपछि जनशक्ति घटेका हुन् । पछि संस्थान निजीक्षेत्रका अन्य बीमा कम्पनी जसरी आक्रामक रूपमा विस्तार हुन नसकेको देखिन्छ । यसको एउटा कारण लेखापरीक्षण नहुँदा पूँजी बढ्न नसक्नु पनि हो । अहिले हाम्रा जति शाखा छन्, तिनबाट काम कारबाही अघि बढाउने, पछि पूँजी वृद्धि पनि गर्ने र शाखा बढाउने सोच छ । बीमा संस्थानमा सञ्चालक समिति र व्यवस्थापन समूहबीच कत्तिको समन्वय भइरहेको छ ? हिजो एउटा परिस्थितिमा यसको ऐन आयो । २०२५ सालमा अन्य कुनै बीमा कम्पनी नरहेको अवस्थामा संस्थानले आफ्नै संयन्त्र र स्रोतसाधनमार्फत यो व्यवसाय शुरू गरेको थियो । अहिलेको अवस्थामा व्यवस्थापनमा रहेका साथीहरू लामो समय बीमा क्षेत्रमा काम गरेका हुनुहुन्छ । साथै सर्वसाधारण शेयर धेरै नभएकाले व्यवस्थापनमा समस्या छैन । संस्थानका कर्मचारीले छाड्ने गरेको कुरा पनि आइरहन्छ नि । कारण के होला ? कर्मचारीले छाड्ने कुरा व्यक्तिगत कारण हो । कहाँ जाने, के गर्ने भन्ने भन्ने विषय कर्मचारीको योग्यता र क्षमतामा पनि भर पर्छ । सेवासुविधाको कुरा पनि होला । संस्थानमा सेवा सुविधा अलि अगाडिकै कायम छ । त्यसलाई अद्यावधिक गर्नुपर्ने छ । त्यसमा हामी लागेका छौं । सेवासुविधा बढाउन प्रस्ताव पनि गरिसकेको हो । तर अहिले आर्थिक मन्दीको जस्तो अवस्था भएकाले सबै कुरा समुचित तवरले हेर्नुपर्छ । संस्थानको ५५ वर्षको यात्रालाई कसरी समीक्षा गर्नुहुन्छ ? नेपालको समग्र बीमा क्षेत्रमा बीमा संस्थानको ठूलो योगदान छ । जनसाधारणलाई बीमाका बारेमा जानकारी दिन र चेतना विकास गर्न संस्थानले अग्रणी भूमिका निर्वाह गरेको छ । अहिले निजीक्षेत्रका बीमा कम्पनीका कारण हाम्रो उपस्थिति अलि कमजस्तो देखिएको छ । यद्यपि हामो भूमिका उच्चस्तरको छ । हामी व्यावसायिक रूपमा सबल पनि छौं । चालू आवमै लेखापरीक्षण सम्पन्न गर्ने तयारीमा छौं कविप्रसाद पाठक प्रशासक, राष्ट्रिय बीमा संस्थान विगतको तुलनामा अहिले राष्ट्रिय बीमा संस्थानमा बीमाशुल्क तथा दाबी भुक्तानी सेवामा के कस्तो परिवर्तन आएको छ ? पहिला बीमाशुल्क तिर्न बैंकमै जानुपर्ने वा हाम्रो काउन्टरमै आएर तिर्नुपर्ने अवस्था थियो । गतवर्षदेखि कनेक्ट आईपीएस, खल्ती र ई–सेवाबाट बीमाशुल्क संकलन कार्य शुरू गरेका छौं । यही फागुनदेखि दाबी भुक्तानी पनि कनेक्ट आईपीएसमार्फत गर्दै छौं । क्रमशः अन्य भुक्तानी पनि अनलाइनबाटै गर्ने व्यवस्था गर्नेछौं । संस्थानले आफूलाई कसरी प्रविधिमैत्री बनाइरहेको छ ? संस्थानमा म आइसकेपछि वेबबेस्ड सफ्टवेयर लागू गरेका छौं । यसमार्फत काम गर्दा शाखा कार्यालयको कारोबार र प्रधान कार्यालयको कारोबार एकीकृत भएको छ । साथै बीमा गरिसकेपछि ग्राहकलाई जानकारी दिने हिसाबले एसएमएस सेवा पनि शुरू गरेका छौं । मोबाइल एपको पनि विकास गरेका छौं, जसमार्फत बीमाशुल्क बुझाउन सकिने सुविधा ल्याइएको छ । लामो समयदेखि संस्थानको लेखापरीक्षण हुन सकेको छैन । यो कहिले हुन्छ ? लेखापरीक्षण हुन नसक्नु ठूलो समस्याको रूपमा रहेको छ । सबै तिरबाट राष्ट्रिय बीमा संस्थानले लेखापरीक्षण गरेन, गर्न सकेन भन्ने कुरा आइरहन्छ । हामीले यसलाई मुख्य प्राथमिकतामा राखेर चालू आर्थिक वर्षमै सक्नेगरी कार्ययोजना बनाउन लागिरहेका छौं । त्यसका लागि अहिले चार्टर्ड एकाउन्टेन्ट, सेमिक्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट कन्ट्र्याक्टमा लिन लागेका छौं । चुक्तापूँजी बढाउने सम्बन्धमा तपाईंहरूको योजना के छ ? आउँदो चैतभित्र चुक्तापूँजी ५ अर्ब रुपैयाँ पुर्‍याउन नेपाल बीमा प्राधिकरणको निर्देशन छ । हाम्रो विशेष ऐन, राष्ट्रिय बीमा ऐन २०२५ अनुसार हाम्रो अधिकृत पूँजी ५० करोड रुपैयाँ मात्र भए पुग्ने व्यवस्था छ । त्यसो हुँदा ५ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्‍याउन हामीलाई कानूनी अड्चन थियो । प्राधिकरणको उक्त निर्देशन आइसकेपछि ५ अर्ब चुक्तापूँजी पुर्‍याउने गरी पूँजी वृद्धि योजना सञ्चालक समितिबाट स्वीकृत गरेका छौं । प्राधिकरणलाई पनि यसको जानकारी गराएका छौं । पूँजी थप गर्न हाम्रा तीनओटै संस्थापक नेपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंक लिमिटेडलाई पत्राचार गरिसकेका छौं । अहिले पूँजी वृद्धिका लागि बनाइएको मोडालिटी ७० प्रतिशत संस्थापकबाट र ३० प्रतिशत सर्वसाधारणबाट जुटाउने हो । पछिल्लो समय संस्थानको बीमा व्यवसाय कत्तिको प्रतिस्पर्धी छ ? प्रतिस्पर्धा बढेको छ । तर हाम्रो ६०–७० प्रतिशत कर्पोरेट व्यवसाय छ । नेपाल सरकारका सम्पूर्ण कर्मचारी, सरकारी बैंक र सरकारी निकायको सम्पूर्ण व्यवसाय हामीसँग छ । व्यक्तिगत बीमाका लागि मात्र प्रतिस्पर्धा गर्ने हो । त्यसका लागि सेवाको गुणस्तर बढाउनुका साथै नयाँ नयाँ प्रडक्ट ल्याउँछौं । व्यावसायिक सूचकमा अगाडि नै छौं कृष्णकुमार श्रेष्ठ सहायक प्रशासक, राष्ट्रिय बीमा संस्थान अहिले राष्ट्रिय बीमा संस्थानको व्यावसायिक अवस्था कस्तो छ ? संस्थानले गत आर्थिक वर्षमा २०७८/७९ मा बीमाशुल्क करीब ९ अर्ब रुपैयाँ संकलन गरेको छ । यस्तै चालू आर्थिक वर्ष २०७९/८० को ६ महीनामा करीब साढे ५ अर्ब रुपैयाँ बीमाशुल्क संकलन भएको छ । यो वर्ष १२ अर्ब रुपैयाँ बीमाशुल्क संकलन हुने अनुमान छ । त्यस्तै गत आर्थिक वर्षमा २०७८/७९ मा करीब साढे ४ अर्ब रुपैयाँ दाबी भुक्तानी भएको थियो । चालू आर्थिक वर्षको ६ महीनामा १ अर्ब ८० करोड रुपैयाँ दाबी भुक्तानी भएको छ । यसमध्ये मृत्यु दाबीतर्फ ३ करोड १० लाख रुपैयाँ भुक्तानी भएको छ । मृत्यु दाबी एकदम कम पर्नुको अर्थ हाम्रो कार्यसम्पादन राम्रो भएर पनि हो । संस्थानमा लगानीयोग्य रकम कति छ ? अहिलेको स्थितिमा संस्थानको लगानीयोग्य रकम ४५ अर्ब रुपैयाँ छ । हरेक वर्ष यसमा करीब ५ अर्ब रुपैयाँ बढिरहेको छ । अहिले बैंकले ब्याज पनि धेरै दिइरहेको छ । यसले गर्दा संस्थानको राम्रै आम्दानी भइरहेको छ । बीमितलाई शेयरको व्यवस्था गर्नुपर्छ भन्ने तपाईंको मान्यता देखिन्छ । त्यो किन हो ? जीवन बीमा कम्पनीले ५ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्‍याउनैपर्ने बीमा प्राधिकरणको निर्णय कार्यान्वयन गर्न हामीले संस्थापक शेयर ७० प्रतिशत र सर्वसाधारण शेयर ३० प्रतिशत गर्ने व्यवस्था गरेका छौं । सर्वसाधारण शेयरमध्ये ५ प्रतिशत कम्पनीका कर्मचारीलाई र केही प्रतिशत बीमितलाई दिनु उपयुक्त हुन्छ भन्ने मेरो मान्यता हो । यसबाट हाम्रो बीमालेखप्रति मानिसको आकर्षण बढ्छ । बीमितलाई शेयर दिँदा व्यवसाय तथा सरकारको राजस्व बढ्ने र बीमाको दायरा फराकिलो हुने देखिन्छ । संस्थानले आफ्नो व्यवसायका अतिरिक्त के कस्ता कार्य गरिरहेको छ ? बीमा संस्थानले व्यवसायका अतिरिक्त परोपकारी संस्थाका लागि सहयोग गर्दै आएको छ । हामीले अनाथ बालबालिकाका लागि खाद्यान्न वितरण गर्‍यौं । हामीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोग गर्दै आएका छौं । यस प्रकारका परोपकारी कार्यक्रम निरन्तर चलिरहेका हुन्छन् ।

९ वटा जीवन बीमा कम्पनी मर्जमा नजाने, कसरी पुर्‍याउँदैछन् ५ अर्ब पूँजी ?

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई आगामी चैतमसान्तभित्र मर्जरमा गइसक्न भनेको छ । यसबीचमा १९ बीमा कम्पनी मर्जरमा जाने भएका छन् । केही बीमा कम्पनी भने मर्जमा नजाने देखिएका छन् । ती कम्पनीहरुले आफ्नै पूँजी वृद्धि गर्ने कार्ययोजना बीमा समितिमा पेश गरेका छन् । अहिले १९ जीवन बीमा कम्पनी र १९ निर्जीवन बीमा कम्पनी रहेका […]

बीमा कम्पनी थप्नुको औचित्य

नेपालका नीतिनिर्मातामा दूरदृष्टि छैन र यस्ता निर्णयमा स्वार्थ अन्तर्निहित हुन्छ भन्ने भनाइलाई बीमा समितिको कामले पुष्टि गरेको छ । नयाँ कम्पनी सञ्चालनमा आएको २ वर्ष पनि नबित्दै पूँजीवृद्धिको नाममा मर्जरमा जान बाध्य पार्ने नीति समितिले लिएको छ । हिजो के आधारमा त्यति थोरै पूँजीमा कम्पनी खोल्न दिइयो भन्ने कुराको जवाफ समितिसँग छैन । अहिले कम्पनीको पूँजी किन बढाउन पर्‍यो भन्ने कुराको पनि पर्याप्त तर्कपूर्ण जवाफ पाइँदैन । संख्या घटाउन किन परेको हो भन्ने कुराको औचित्यपूर्ण जवाफ पनि समितिसँग छैन । त्यसैले बीमा समितिले केही व्यक्तिको स्वार्थ पूरा हुने गरी यी सबै काम गर्दैछ कि भन्ने आशंकालाई बल मिलेको छ । नियामक निकाय स्वायत्त हुँदा राम्रोसँग काम गर्न पाउँछन् । तर, राष्ट्र बैंक र बीमा समिति अर्थ मन्त्रालयभित्रको विभागजस्ता भएकाले सरकारको स्वार्थको शिकार भएको पाइन्छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको पूँजी वृद्धि गर्दा त्यसको असर अहिलेसम्म परिरहेको छ । केहीको विश्लेषणमा यही पूँजी वृद्धि बाध्य पारिएकै कारण बजारमा तरलताको अभाव भएको हो । राष्ट्र बैंकले नगद लाभांशमा कडाइ गर्दै बोनस शेयर दिन प्रोत्साहित गरेपछि बजारमा झनै नगद कम हुन थालेको हो । राष्ट्र बैंकले चार गुणा बढी चुक्ता पूँजी बढाउन लगाएर बैंकहरूलाई ठूलो पूँजीकोषको भारी बोकाएको छ । त्यही भएर बैंकहरूको मुनाफामा संकुचन आएको छ । नाफा कमाउनैपर्ने दबाबमा परेका बैंकहरूले वित्तीय स्थायित्वलाई भन्दा मुनाफा हेरेर लगानी गरे । त्यही कारण घरजग्गा, सवारीसाधन र आयातका लागि कर्जा प्रवाह बढी गरे । यही क्षेत्रका कारण अर्थतन्त्र सुन्निएर समस्या आयो र अहिले विदेशी विनिमय सञ्चितिमा दबाब पर्न थाल्यो । बैंकको लगानी क्षमता बढाउन, नियमन गर्न सजिलो बनाउन आदि तर्क राष्ट्र बैंकले नदिएको होइन । तर, ती सबै उसको कमजोरीको परिणति हो । यही कमजोरी अहिले बीमा समितिले पनि देखाउन थालेको छ । मर्जरमा जाऊन् भनेर पूँजी वृद्धिको योजना ल्याए पनि एकाधबाहेक धेरै कम्पनीले हकप्रद शेयर जारी गरेर पूँजी वृद्धि गर्ने सम्भावना उच्च छ । बैंक तथा वित्तीय संस्थाहरूमा पनि यस्तै भएको थियो । केही नयाँ कम्पनीले त सर्वसाधारणलाई जारी गर्नुपर्ने शेयर पनि जारी गर्न भ्याएका छैनन् । बीमा जोखिमको रक्षावरण गर्ने अनिवार्य माध्यम भए पनि नेपालमा करकापमा मात्रै बीमा गर्नेको संख्या धेरै छ । सवारीसाधनको बीमा र बैंकबाट कर्जा लिँदा घरजग्गाको बीमा अनिवार्य गरिएकाले निर्जीवन बीमा कम्पनी खोल्न प्रतिस्पर्धा जस्तै भएको हुन सक्छ । यस्तोमा धेरै बीमा कम्पनीहरू खोल्न स्वीकृति दिन आवश्यक थियो त ? भन्ने प्रश्न उठेको छ । संख्या बढाउने पनि समिति र मर्जरबाट संख्या घटाउन खोज्ने पनि समिति, योभन्दा विरोधाभास र भद्रगोल कार्यशैली के हुन सक्छ ? कुनै पनि नीति कार्यान्वयनमा ल्याएपछि कम्तीमा पनि एकाध दशक त्यसको परीक्षण हुन जरुरी छ । त्यसपछि मात्रै त्यसको समीक्षा गरेर पुनर्विचार गर्नु उपयुक्त हुन्छ । तर, नेपालमा कुनै पनि नीति नेतृत्व परिवर्तन हुनासाथ परिवर्तन गरिहाल्ने ज्यादै खराब बानी पाइन्छ । यसले कसैलाई पनि व्यवसाय गर्न प्रेरित र प्रोत्साहित गर्दैन । नियामक निकाय स्वायत्त हुँदा राम्रोसँग काम गर्न पाउँछन् । तर, राष्ट्र बैंक र बीमा समिति अर्थ मन्त्रालयभित्रको विभागजस्ता भएकाले सरकारको स्वार्थको शिकार भएको पाइन्छ । गभर्नर निलम्बन प्रकरण यसैको उदाहरण हो भने बीमा समितिले गरेका निर्णय पनि यसकै प्रभाव हो भन्ने देखिन्छ । अतः कुनै पनि नीति लागू गर्दा पूर्ण अध्ययन र अनुसन्धान गरेर शुरू गरिनुपर्छ । हो, लामो समयसम्म कुनै पनि नीति यथावत् रहन सक्दैन । तर, पर्याप्त अध्ययनविना परिवर्तन गर्नु पनि हुँदैन । समितिको हचुवा निर्णयले बीमा क्षेत्र झनै पछि पर्ने मात्र होइन, अर्थतन्त्रमै गम्भीर समस्या नथपिएला भन्न सकिँदैन । अहिले जसरी समितिले बीमा कम्पनीको संख्या घटाउन खोजेको छ, त्यसको आधारमा यसअघि बीमा कम्पनीको संख्या किन वृद्धि गरियो भन्ने औचित्य पुष्टि हुन सकेको छैन । त्यसैले आगामी दिनमा यस्ता उदाहरणबाट पाठ सिक्न सबैका लागि जरुरी हुन्छ ।

चुक्तापूँजी वृद्धि अभियान : राष्ट्रिय बीमा कम्पनीलाई २ अर्ब २३ करोड आवश्यक

काठमाडौं । बीमा क्षेत्रमा अचेल चुक्तापूँजी वृद्धिको चर्चा व्यापक छ । नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरूलाई दिगो बनाउने भन्दै चुक्तापूँजी बढाउन निर्देशन दिएसँगै चर्चा शुरु भएको हो । समितिले २०७४ सालदेखि बीमा कम्पनीहरूको चुक्तापूँजी बढाउनुपर्नेमा जोड दिँदै आएको छ । त्यसबेला समितिले जीवन बीमा कम्पनीको २ अर्ब र निर्जीवन बीमाको १ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्न निर्देशन दिएको थियो । यस वर्ष जीवन बीमालाई ५ अर्ब र निर्जीवनलाई २ अर्ब ५० करोड रुपैयाँ कायम गर्न निर्देशन दिएको छ । चुक्तापूँजी बढाउन आगामी २०७९ चैत मसान्तसम्मको समय दिइएको छ । समितिले चैत १० गते बीमा कम्पनीहरूलाई एक महिनाभित्र चुक्तापूँजी वृद्धिको कार्ययोजना पेश गर्न लिखित निर्देशन दिएको थियो । समितिको सोही निर्देशनबमोजिम बीमा कम्पनीहरू कार्ययोजना तयारीमा जुटेका छन् । सरकारी स्वामित्वका राष्ट्रिय बीमा कम्पनी (निर्जीवन) र राष्ट्रिय बीमा संस्थान (जीवन) लाई भने एक वर्षभित्र समितिले तोकेको पूँजी पुर्‍याउनु निकै चुनौतीपूर्ण हुने जानकार बताउँछन् । साबिकको पूँजी पनि कायम गर्न नसकेका यी कम्पनीले अहिले भने पूँजी बढाउन विशेष चासो दिएको बताएका छन् । नियामक निकायको निर्देशनसँगै कम्पनीहरूको दिगो विकासका लागि थप पूँजी आवश्यक रहेको सम्बद्ध अधिकारीको भनाइ छ ।   आगामी वैशाख १० गतेभित्र समितिमा पूँजी वृद्धिको कार्ययोजना पेश गर्ने गरी व्यवस्थापकीय विभागले काम गरिरहेको राष्ट्रिय बीमा कम्पनीका सचिव निरञ्जन आचार्यले जानकारी दिए । बीमा समितिको निर्देशनबमोजिम चुक्तापूँजी कायम गर्न उसलाई थप २ अर्ब २३ करोड ३३ लाख रुपैयाँभन्दा बढी आवश्यक पर्ने सचिव आचार्यले बताए । हाल कम्पनीको चुक्तापूँजी २६ करोड ६६ लाख रुपैयाँ छ । सचिव आचार्यका अनुसार व्यवस्थापकीय विभागबाट तयार हुने कार्ययोजना सञ्चालक समितिबाट पारित गरी वैशाख १० गतेभित्रै समितिमा पेश हुनेछ । कम्पनीले हालको १ अर्ब चुक्तापूँजी कायम गर्न १२० प्रतिशत बोनस शेयर वितरण गर्ने योजना बनाए पनि बीमा समितिको निर्देशनले त्यो रोकिएको थियो । राष्ट्रिय बीमा संस्थानबाट २०७१ सालमा अलग्गिएर छुट्टै निर्जीवन बीमा व्यवसाय सुरु गरेको यो कम्पनीलाई संस्थानको वास्तविक वित्तीय अवस्था सार्वजनिक नभएसम्म लाभांश वितरण गर्न नसक्ने भन्दै समितिले रोक लगाएको थियो । १२० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव हटाएर बीमा समितिबाट उक्त वर्षको लेखापरीक्षण स्वीकृत गराएको कम्पनीले अब नयाँ कार्ययोजना तयार गर्ने सचिव आचार्यले बताए । राष्ट्रिय बीमा संस्थानले जीवन र निर्जीवन बिमा कम्पनी छुट्टिएको आर्थिक वर्ष ०७१/७२ सम्मको लेखापरीक्षण प्रतिवेदन बीमा समितिबाट स्वीकृत गराइसकेकाले राष्ट्रिय बीमा कम्पनीको पूँजी वृद्धि योजना स्वीकृतिमा समस्या नहुने सचिव आचार्यको विश्वास छ । गत पुससम्मको वित्तीय विवरणअनुसार राष्ट्रिय बीमा कम्पनीको जगेडा कोषमा ३ अर्ब २४ करोडभन्दा बढी र बीमा कोषमा २ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी छ । त्यस अवधिसम्म कम्पनीले १९ करोड ४३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १४५ रुपैयाँ छ । प्रतिशेयर नेटवर्थ १ हजार ३१७ रुपैयाँ छ । धितोपत्रको दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता १६ हजार ८८० रुपैयाँ छ । पछिल्लो एक वर्षमा कम्पनीको शेयर मूल्य उतारचढाव हेर्दा न्यूनतम १३ हजार ९०७ देखि अधिकतम २४ हजार ३७० रुपैयाँसम्म पुगेको देखिन्छ ।

पूँजी वृद्धि योजनाले बढाएन लगानीकर्ताको मनोबल

चैत १७, काठमाडौं । बीमा कम्पनीहरूको पूँजी वृद्धिको चर्चा चलिरहँदा धितोपत्र दोस्रो बजारमा भने त्यसको सकारात्मक प्रभाव नपरेको देखिएको छ । दोस्रो बजारमा हाल १२ ओटा जीवन बीमा कम्पनी र १८ ओटा निर्जीवन बीमा कम्पनी सूचीकृत रहेका छन् । गत बिहीवार बीमा समितिले बीमा कम्पनीलाई बलियो बनाउने उद्देश्यले जीवन बीमा कम्पनीले रू. ५ अर्ब र निर्जीवन बीमा कम्पनीले रू. २ अर्ब ५० करोड पूँजी कायम गर्नुपर्ने व्यवस्था गरेको थियो । आगामी एक वर्षभित्र तोकिएको चुक्तापूँजी कायम गर्ने गरी एक महीनाभित्र कार्ययोजना पेश गर्न समितिले कम्पनीहरूलाई निर्देशन दिएको छ । दोस्रो बजारमा सूचीकृत कम्पनीहरूसँग सम्बन्धित सूचनाले ती कम्पनीको शेयरमूल्यमा प्रभाव पार्ने गर्दछ । पूँजी वृद्धि सम्बन्धी चर्चाकाबीच पनि यो साता सूचीकृत १२ ओटा जीवन बीमा कम्पनीमध्ये तीन कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ भने बाँकी नौं कम्पनीको शेयरमूल्य घटेको छ । यसले पनि जीवन बीमा कम्पनीको पूँजी वृद्धि सम्बन्धी सूचनाले लगानीकर्ताको मनोबलमा तत्काल सकारात्मक प्रभाव भने नदेखिएको ब्रोकर कम्पनीहरू बताउँछन् । पूँजी वृद्धि अभियानले पूर्णता पाउला वा नपाउला भन्नेमा लगानीकर्ताहरू अन्योल देखिएको र यसले आगामी दिनमा बीमा क्षेत्रमा पार्ने असरका बारेमा गम्भीर अध्ययनमा लगानीकर्ता रहेको ब्रोकरको बुझाइ छ ।  यो साता सूचीकृत जीवन बीमा कम्पनीमध्ये नयाँ तीन जीवन बीमा कम्पनीको शेयरमूल्य भने बढेको छ । प्रभु लाइफको शेयरमूल्य यो साता सर्वाधिक बढेको छ । यो कम्पनीको प्रतिकित्ता रू. २६ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ भने युनियन लाइफको प्रतिकित्ता रू. १९ र सानिमा लाइफको प्रतिकित्ता रू. २ ले शेयरमूल्य बढेको छ । यो साता नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य भने सर्वाधिक घटेको छ । यो कम्पनीको प्रतिकित्ता रू. ९१ ले घटेको छ । गत साताको बिहीवार प्रतिकित्ता अन्तिम मूल्य रू. १ हजार १२२ रहेको नेपाल लाइफको अन्तिम शेयरमूल्य यो बिहीवार रू. १ हजार ३१ कायम भएको हो । गत साता धितोपत्र दोस्रो बजार पनि पाँच कारोबार दिनमा चार कारोबार दिन घटेको छ भने एक दिन मात्र बढेको छ । बीमा कम्पनीहरूको पूँजी वृद्धिको अभियानले लगानीकर्ताको मनोबल यो साता बढाउन नसकेको जानकारी लगानीकर्ता डमरू बल्लभ घिमिरेले दिएका छन् । यसअघि पनि वित्तीय क्षेत्रका कम्पनीहरूले पूँजी बढाउँदा धेरै हकप्रद शेयरमा जोड दिएकाले यसबाट लगानीकर्ताले राहतको महसुुस नगरेको अनुभव घिमिरेको छ । यसअघिका अनुभवमा कम्पनीहरूले पूँजी वृद्धिका लागि हकप्रद शेयरमा जोड दिँदा बजारमा शेयरको आपूर्ति बढी भएकाले यसको प्रभाव राम्रो नपरेको घिमिरे बताउँछन् । अहिले बीमा कम्पनीहरूमा लागू गरिएको पूँजी वृद्धि अभियानले पूर्णता पाउने वा नपाउँनेमा आम लगानीकर्ता अन्योलमा रहेकाले पनि यो साता यसको प्रभाव नदेखिएको उनको बुझाइ छ । आगामी दिनमा यो अभियानले लगानीकर्ताको हितलाई ध्यानमा राखी पूर्णता पाउने देखिएमा बजारमा सकारात्मक प्रभाव पार्ने विश्वास उनले व्यक्त गरे । बीमा समितिले यसअघि पनि बीमा कम्पनीहरूको पूँजीवृद्धि अभियान चलाएको थियो । यसअघि भने जीवन बीमा कम्पनीले रू. २ अर्ब र निर्जीवन बीमा कम्पनीले रू. १ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने व्यवस्था थियो । उक्त व्यवस्था बमोजिम राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीको पूँजी अझै अपुगनै रहेको छ । यसअघिकै व्यवस्था बमोजिम चुक्तापूँजी पुरा गर्न बाँकी रहेका कम्पनीहरूलाई तत्काल थप पूँजी कायम गर्न चुनौती देखिएको छ । राष्ट्रिय बीमा संस्था र कम्पनीको पूँजीवृद्धि भने संस्थानको वास्तविक वार्षिक प्रतिवेदन कायम नभएकाले अन्योल बनेको हो । पूँजी वृद्धिको योजना बनाइसकेका यी दुई कम्पनीको पछिल्लो आर्थिक वर्षसम्मको वार्षिक लेखापरीक्षण कार्य सम्पन्न नुहँदा समस्या देखिएको हो । यसअघिको पूँजी पु¥याउने कसरतमा रहेको राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीलाई भने थप पूँजी पु¥याउन निकै चुनौती देखिने जानकारहरू बताउँछन् । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूलाई तोकिएको पूँजी कायम गर्न नसके मर्जरमा जानसमेत आग्रह गरेका छन् । बिहीवार बीमा कम्पनीहरूका अध्यक्षहरूसँगको छलफलका क्रममा अध्यक्ष सिलवालले पूँजी वृद्धिका लागि मर्जरको बाटोसमेत अपनाउँन सकिने बताएका हुन् । उनले बीमा कम्पनीहरूलाई बलियो बनाई सेवाको गुणस्तर बढाउने र जनमानसमा बीमाप्रतिको विश्वास अभिवृद्धिका लागि पूँजी वृद्धि अभियानमा जोड दिएकाले यसप्रति चिन्तित भएर लाग्न सम्पूर्ण बीमा कम्पनीलाई सुझाव दिएका छन् ।

बीमा कम्पनीहरूको पूँजी वृद्धि : लगानीकर्तालाई फाइदा कि बेफाइदा ?

चैत ११, काठमाडौं । बीमा कम्पनीहरूको नियामक निकाय बीमा समितिले जीवन र निर्जीवन बीमा कम्पनीको पूँजी वृद्धि गर्ने निर्णय गरेको छ । समितिले बिहीवार बीमा कम्पनीहरूलाई पूँजीवृद्धिको योजनासहितको विवरण एक महीना भित्र समितिमा पेश गर्न निर्देशन दिएको छ । पहिले जीवन बीमाका लागि २ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि १ अर्ब रुपैयाँ चुक्तापूँजी हुनुपर्ने व्यवस्था थियो । तर, समितिले त्यसलाई बढाएर समितिले जीवन बीमा कम्पनीका लागि ५ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी कायम गर्न निर्देशन दिएको छ । पूँजी वृद्धि गर्दा जोखिम बहन गर्ने क्षमतामा वृद्धि हुने भएकाले यसलाई सकारात्मक रूपमा लिनुपर्ने कम्पनीका सञ्चालकहरू बताउँछन् । पूँजी वृद्धि गर्ने उपयुक्त उपाय मर्जनै भएकाले अब एक अर्कासँग छलफल थालिने एक इन्स्योरेन्स कम्पनी सञ्चालकले बताए । उनका अनुसार यो नीतिले पूँजीको आधार बलियो हुन्छ ।   यो निर्देशनसँगै अब बीमा कम्पनीहरूले पूँजी पुर्याउन कि त हकप्रद शेयर जारी गर्नुपर्ने हुन्छ, कि त यो अर्काे उपयुक्त बीमा कम्पनी खोजेर मर्जरमा जानु पर्ने हुन्छ । हकप्रद शेयर जारी गर्दा कम्पनीको चुक्तापूँजी त तोकिए जति पुग्ला तर, व्यवसाय विस्तार गर्न नसके त्यसको प्रभाव दीर्घकालमा शेयरधनीलाई पर्ने विश्लेक बताउँछन् । यसअघि बैंकहरूको पूँजी वृद्धिको नीतिले बैंकहरूले राम्रो प्रतिफल दिन नसकेको उदाहरण दिँदै शेयर विश्लेषक विष्णुप्रसाद बस्यालले पूँजी वृद्धि के का लागि गरिएको हो त्यो कुरामा लगानीकर्ता स्पष्ट हुनुपर्ने बताए ।  अहिलेका लगानीकर्ता हचुवाको भरमा लगानी गर्दा पछि फस्ने सम्भावना बढ्ने उनी बताउँछन् । बीमा कम्पनीको व्यवसाय विस्तार कस्तो छ, त्यसले प्रतिफलमा प्रभाव पार्ने हुँदा पूँजी वृद्धिकै कारण शेयर किन्न होड बाजी थाप्नु उपयुक्त नहुँने उनको भनाइ छ । ‘अहिलेका लगानीकर्ताको प्रवृति हेर्दा कुुनै कम्पनीले हकप्रद ल्याउँने भयो वा बोनस दिने भयो भने त्यसको शेयर किन्न होड बाजी गर्ने गरेको पाइन्छ । कतिपयले त यो मेरो कमाइ हो भनेर पनि भन्छन् । यसको फाइदा ट्रेडर्सहरूले लिएका हुन्छन् ।’ उनले भने, ‘पुँजी वृद्धि गर्नका लागि आधार हुनुपर्छ । व्यवसाय ठूलो छ, अहिलेको पूँजीले व्यवसाय गर्न पुगेको छैन् भने पुँजी वृद्धि हुर्न पर्छ । व्यवसाय विस्तार पनि नगर्ने हकप्रद शेयर जारी गर्न र त्यो पैसा कम्पनीमा मात्र थुप्रिराख्ने हो भने हकप्रदको कुनै अर्थ छैन् ।’ व्यवसाय विस्तार गर्न नसकेका कम्पनीको हकप्रद किन्न नहुने बस्याल बताउछन् । पूँजी वृद्धि गर्दा प्रतिशेयर आम्दानी घट्ने हुँदा कम्पनीको व्यवसाय विस्तारलाई लगानीकर्ताले ध्यान दिनुपर्ने उनको भनाइ छ । अहिले बीमा कम्पनीहरूलाई हकप्रद शेयर निष्कासन गर्न नदिने नीति छ ।  समितिले कायम गर्नु भनेको चुक्तापूँजीभन्दा बढी नेपाल लाइफको छ । यो कम्पनीको चुक्तापूँजी ८ अर्ब २० करोड रुपैयाँ कायम छ । कम्पनीहरूको दोस्रो त्रैमासिक वित्तीय विवरण हेर्दा नेपाल लाइफबाहेक अरूको कम्पनीको हाल कायम चुक्तापुँजीमा धेरै थप गर्नुपर्ने देखिन्छ । अहिले समितिले कायम गर्नु भनेको चुक्तापूँजीको नजिक–नजिक नेशनल लाइफ इन्स्योरेन्स मात्र पुगेको छ । यो कम्पनीको दोस्रो त्रैमाससम्मको चुक्तापूँजी ४ अर्ब ३ करोड रुपैयाँ कायम भएको छ । यो कम्पनीले हाल कायम चुक्तापूँजीमा २३ प्रतिशत मात्र पूँजी वृद्धि गरे पुग्ने देखिन्छ ।

बीमा व्यवसायको विद्युतीय कारोबार

मानिसको जीवनशैलीमा भएको परिवर्तनसँगै दुर्घटना र विभिन्न जोखिम पनि बढिरहेका छन् । दैनिक क्रियाकलापमा नकारात्मक प्रभाव पर्नुको अतिरिक्त भौतिक पूर्वाधारहरूको क्षति एवम् आर्थिक व्ययभारमा वृद्धि भइरहेको छ । क्षतिबाट बच्न र जोखिम न्यूनीकरण गर्न जीवन वा सम्पत्ति बीमा गर्नु उपयुक्त तरीका हो । तर, जनमानसमा बीमा गर्नु भनेको व्यर्थमा रकम खर्च गर्नु हो भन्ने मानसिकता रहेको छ यसमा परिवर्तन ल्याउन सरोकारवाला व्यक्ति वा निकायहरू अझै पछाडि देखिन्छन् । अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने माध्यम बीमा हो भनी सकारात्मक सोचको विकास गरी पहुँचमा वृद्धि तथा परम्परागत पद्धतिबाट भइरहेको बीमा कारोबारलाई आधुनिक प्रविधिको आधारमा सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ । बीमकले पोलिसी जारी गर्दा उल्लेख गर्ने शर्त र अवस्थासहितको कागजात ग्राहकलाई उपलब्ध गराउने कार्यको अन्त्य हुनुपर्छ । प्रसिद्ध अर्थशास्त्री एडविन डब्ल्यू पिटरसनको भनाइमा ‘बीमा एउटा करार हो, जसमा एउटा पक्षले निश्चित बीमा शुल्कको बदलामा अर्को पक्षको विशिष्ट जोखिमलाई ग्रहण गर्छ र भविष्यमा कुनै उल्लिखित घटना घटेमा उसलाई एक निश्चित रकम दिने वा क्षतिपूर्ति दिने वचन दिएको हुन्छ ।’ एक पक्षको जोखिम अर्को पक्षले ग्रहण गर्ने र घटना भएमा क्षतिपूर्ति प्रदान गरी जोखिमलाई न्यूनीकरण वा हस्तान्तरण गर्ने भन्ने बुझिन्छ । बीमा करार परम्परागत तरीकाबाट भएकोमा वर्तमान समयमा शिक्षाको प्रचुर विकास, सञ्चार इन्टरनेटको सहज उपलब्धता, प्रविधिमैत्री जनसंख्यामा वृद्धि, बीमा कम्पनीहरूको प्रतिस्पर्धात्मक सेवा विस्तार, नियामकीय निकायको क्रियाशीलताको कारणबाट केही मात्रामा प्रणालीमा आधारित कारोबारहरूको शुरुआत भएको छ । प्रयास पूर्ण नभएकाले बीमा कारोवारको शुरूको निवेदनदेखि दाबी भुक्तानी फछ्र्योटसम्मको प्रक्रिया विद्युतीय मार्गबाट गर्न त्यससँग सम्बद्ध विषयलाई प्रविधिमा आधारित गराउँदै लैजानुपर्छ । औपचारिक बीमाको शुरुआत नेपाल बैंक लिमिटेडले प्रदान गरेको कर्जामा धितोको बीमा गरी जोखिम न्यूनीकरण गर्ने उद्देश्यले विस २००४ सालमा स्थापित नेपाल मालचलानी तथा बीमा कम्पनी लिमिटेडको स्थापनालाई लिइन्छ । बीमा व्यवसाय शुरू भएको ७४ वर्षमा जीवन बीमातर्फ २७ दशमलव १२ प्रतिशत, निर्जीवन बीमातर्फ २२ दशमलव ७४ ले वृद्धि भई समग्रमा बीमा शुल्कको आधारमा २६ दशमलव १८ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक रोजगार म्यादी जीवन बीमासमेत गणना गर्दा ३० प्रतिशतभन्दा बढी जनसंख्यामा बीमा पहुँच विस्तार भएको देखिन्छ । बजारमा १९ जीवन, २० निर्जीवन र २ पुनर्बीमा गरी ४१ ओटा कम्पनीहरू सञ्चालनमा छन् । स्थापित कम्पनीहरूले विशेष गरी शहरी इलाकामा प्रतिस्पर्धात्मक कार्यस्थल बनाएको देखिन्छ । जीवन बीमा कम्पनीहरूले ग्रामीण इलाकामा बसोवास गर्ने जनतासम्म सेवा विस्तार गर्न सकेका छैनन् । हालसालै सम्पन्न भएको जनगणनाको प्रारम्भिक नतिजाबमोजिम करीब ६५ प्रतिशत जनसंख्या शहरमा बसोवास गरिरहेका छन् । शहरी जनसंख्यामा वृद्धि देखिए पनि त्यहाँ सञ्चालन हुने आर्थिक क्रियाकलापहरूले बीमा कम्पनीहरूलाई आकर्षित गर्न सकेका छैनन् वा उक्त स्थानहरूमा बीमा गर्न सकिने प्रकृतिका कारोबारहरू भएका छैनन् । बीमा कारोबारका लागि शाखा काउन्टर स्थापना नगरी प्रविधिमा आधारित भई बीमा कारोबार गर्न कम्पनीहरूले कार्यक्रम अघि बढाउनुपर्छ । कम्पनीहरूले आधुनिक सफ्टवेयरको प्रयोग गरी कारोवार सञ्चालन गरिरहे पनि पूर्णरूपमा हरेक कारोबार अनलाइनको माध्यमबाट सञ्चालन गर्न सकेको अवस्था छैन । बीमा कारोबारमा विभिन्न उपकरणहरू वेबसाइट, एप्लिकेशन, ईमेल, सोसल मिडिया र कार्डको प्रयोग गरी डिजिटाइज्ड गर्न सकिन्छ । अथवा बीमकले कारोबारलाई विद्युतीय रूपमा सञ्चालन गर्न विद्युतीय बीमा प्लाटफर्म सञ्चालन गर्न सक्छन् । बीमा प्लाटफर्मको सञ्चालनबाट बीमितले विभिन्न प्रकारका व्यावसायिक योजनाहरू प्राप्त गर्न सक्छन् । कम्पनीहरूको व्यावसायिक विवरण, योजना, लाभ–लागत विश्लेषण गरी बीमितले पोलिसी किन्न सक्छ । बीमितलाई इच्छा लागेको पोलिसी किन्न कुनै मध्यस्थकर्ता वा एजेन्टको आवश्यकता पर्दैन । बीमितको खर्च कटौती र समयको बचत हुने भएकाले डिजिटल प्रविधिलाई नयाँ शक्तिका रूपमा लिन सकिन्छ । परम्परागत बीमा पोलिसीमा धेरै कागजातहरूको प्रयोग, शर्त र अवस्था बढी हुँदा बीमितले पोलिसी खरीद, नवीकरण र दाबी भुक्तानीमा कठिनाइ महसूस गर्छ । त्यसको निराकरणका लागि आधुनिक प्रविधिको बीमा प्लेटफर्म सञ्चालन गर्न उपयुक्त हुने देखिन्छ । बीमकलाई प्रविधियुक्त बनाउन, कर्मचारीलाई तालीम प्रदान गर्न र ग्राहकलाई प्रविधियुक्त बीमा पोलिसी खरीद गर्ने वातावरणको सृजना गर्न बीमा डिजिटल साक्षरता कार्यक्रम अति आवश्यक भएकाले उक्त कार्यका लागि थप लगानी गर्नुपर्ने देखिन्छ । लगानी वृद्धि गर्न बीमा प्रिमियम संकलनबाट अपुग हुने देखिएकाले नियामक निकायबाट चुक्ता पूँजीको सीमालाई वृद्धि गर्न निर्देशन गर्नुपर्दछ । पूँजी वृद्धि गरी प्रविधिको अतिरिक्त आम्दानी हुने क्षेत्रहरूमा समेत लगानी गर्न सकिने भएकाले संस्थाको वित्तीय सबलता सक्षम हुँदै पूर्ण डिजिटाइज हुनसक्ने गरी प्रविधिमा लगानी गर्न सकिन्छ । कम्पनीले अन्तरराष्ट्रिय स्तरको सफ्टवेयर प्रयोग गरी प्रत्येक कारोबारका चरणहरू अनलाइन सम्पन्न गर्न सक्ने योजना बनाउनुपर्छ । सफ्टवेयरमा अत्यधिक लगानी र प्रत्येक वर्ष वार्षिक मर्मत/सम्भार खर्च भुक्तानी गर्नुपर्ने हुँदा संस्थाको कायम रहेको चुक्ता पूँजी र वार्षिक नाफाबाट उक्त कार्य सम्पादन गर्न कठिन हुन सक्ने देखिन्छ । वेबसाइट, एप्लिकेशन राखिएका प्रविधिमा आधारित बीमा पोलिसीहरू बीमितले मोबाइल वा ल्यापटपको माध्यमबाट स्वेच्छाले बीमा पोलिसी किन्ने तथा भुक्तानी बैंक खाता, वालेट, कार्डबाट गर्न सक्ने र कम्पनीले पोलिसी स्वीकार गरी ग्राहक नम्बर उपलब्ध गराई पोलिसी खरीद, नवीकरण, भुक्तानी र दाबी भुक्तानी सोही नम्बरको आधारमा विनाकागजात सम्पन्न गर्न सकिने व्यवस्था गर्नुपर्ने देखिन्छ । कुनै एक कम्पनी लगानी र सफ्वेयरको अभाव भई कारोबारलाई विद्युतीय मार्गमा रूपान्तरण गर्न असमर्थ भएमा सबै कम्पनीको संयुक्त लगानीमा एग्रिगेटर कम्पनी स्थापना गरी उक्त कम्पनीले सदस्य बीमकहरूको पोलिसीहरू खरीददेखि दाबी भुक्तानीसम्म विस्तृत रूपमा वेबसाइटमा राखिदिने र ग्राहकले स्वेच्छाले खरीद गर्न र प्रिमियम भुक्तानी गर्न एग्रिगेटरले मध्यस्थता गरी फछ्र्योट गर्न सक्छ । कम्पनीलाई जुनसुकै स्थानबाट सञ्चालन गर्न, पोलिसी खरीद र भुक्तानी गर्न बैंक तथा वित्तीय संस्थाहरूसँग समेत अन्तरआबद्धता गर्नुपर्ने देखिन्छ । उक्त कार्य गर्न नियामकीय निकायको स्वीकृति आवश्यक हुने देखिएकाले अन्तरराष्ट्रिय अभ्यास, विद्युतीय कारोबार अवस्थालाई दृष्टिगत गर्दै सोही प्रकृतिका निर्देशनहरू जारी हुनुपर्छ । नियामकीय निकायले निर्देशन जारी गर्दा प्रविधियुक्त बीमा कारोवारलाई प्राथमिकता दिई क्रमशः समय र कागजातको प्रयोग कम हुनेतर्फ ध्यान पुर्‍याउनु आवश्यक छ । बीमकले पोलिसी जारी गर्दा उल्लेख गर्ने शर्त र अवस्थासहितको कागजात ग्राहकलाई उपलब्ध गराउने कार्यको अन्त्य हुनुपर्छ । बीमितलाई प्रदान गर्ने शर्तसहित पोलिसी इमेल ठेगानामा उपलब्ध गराउँदा संस्थालाई कागजातमा हुने खर्चमा कमी तथा ग्राहकलाई कागजात सुरक्षित राख्नुपर्ने अवस्थाको अन्त्य हुन्छ । कागजात र समयको बचत गर्न बीमकले पोलिसी इन्फरमेसन कार्डलाई प्रयोगमा ल्याउनुपर्छ । ग्राहकले पोलिसी किन्दा बीमकले चिप बेसमा आधारित कार्ड जारी गरी ग्राहकको व्यक्तिगत विवरण, पोलिसी, प्रिमियम भुक्तानी, नवीकरण, दाबी भुक्तानी वा जीवन बीमा भएमा अवधि समाप्तिपछि रकम भुक्तानी विवरणसमेत चिपमा उल्लेख गरी कार्ड उपलब्ध गराउँदा समय र कागजातमा हुने खर्च कटौतीमा सहयोग पुग्छ । बीमा कारोबारलाई आधुनिक प्रविधिमा समायोजन गर्दै अघि बढ्न नियामकीय निकायले जारी गर्ने निर्देशनहरूमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिने, चुँक्ता पूँजी वृद्धि गर्ने, अन्तरराष्ट्रियस्तरको सफ्टवेयरको प्रयोग प्रोत्साहित गर्ने, वेबसाइट, एप्लिकेशकनको प्रयोग गर्ने, पोलिसी र कारोबारको भुक्तानीका लागि एग्रिगेटर कम्पनीको स्थापना र सञ्चालन गर्ने तथा ग्राहकको विवरणहरू कार्डमा पर्सनलाईज्ड गरी बीमितलाई उपलब्ध गराउँदा बीमा कारोबार क्रमशः आधुनिक प्रविधि उन्मुख हुनसक्ने देखिन्छ । लेखक बैंकिङ तथा आधुनिक भुक्तानी प्रणालीसम्बन्धी जानकार व्यक्ति हुन् ।

बीमकरूको पूँजी वृद्धि गर्ने योजनामा बीमा समिति

बीमा समितिले बीमा कम्पनी (बीमक)हरूलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट नगद लाभांश वितरणमा रोक लगाउने भएको छ । नगद लाभांश वितरणमा निर्जीवन बीमा कम्पनीलाई पूर्णरूपमा (कर प्रयोजनबाहेक) र जीवन बीमा कम्पनीहरूलाई आंशिक रूपमा रोक लगाउन लागिएको हो । विशेषगरी कायमै रहेको कोरोना महामारीलाई लक्षित गरेर बीमा कम्पनीहरूलाई नगद लाभांश वितरणमा रोक लगाउने तयारी गरिएको हो । यसअघि २०७२ को भूकम्पको समयमा पनि बीमा कम्पनीहरूलाई नगद लाभांशमा रोक लगाइएको थियो । निर्जीवन बीमा कम्पनीहरूलाई कर प्रयोजन बाहेक नगद लाभांश वितरणम...