धरान । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि २ अर्ब ३ करोड ६४ लाख रुपैयाँको बजेट ल्याएको छ । नगरसभामा उपमेयर मञ्जु भण्डारी सुवेदीले आगामी आवको नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गरेकी हुन् । उपमेयर सुवेदीले बजेट प्रस्तुत गरेपछि मेयर तिलक राईले आगामी असार १९ गतेसम्मका लागि सभा स्थगित गरिएको घोषणा गरेका छन् ।
धरान उपमहानगरपालिकाले आव २०७८/७९ का लागि चालू आवको तुलनामा ३१ करोड बढी बजेट ल्याएको हो । आगामी आर्थिक वर्षको बजेटमा धरानका २० ओटा वडाका लागि २८ करोड बजेट विनियोजन गरिएको छ । मेयर कोषमा १ करोड २० लाख, मर्मत कोषमा ५० लाख, आकस्मिक कोषमा ३० लाख विनियोजन गरिएको छ भने चालू भइपरी आउने खर्चमा २० लाख र विपद् व्यवस्थापन कोषमा १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
स्वास्थ्यतर्फ घोषित विभिन्न नीति तथा कार्यक्रम संशोधन गर्न ३ करोड ९५ लाख र नगरपालिका स्रोततर्फ ८० लाख गरी कुल ४ करोड ७५ लाख विनियोजन गरिएको छ । नगर गौरवका योजनाका लागि १८ करोड २१ लाख विनियोजन गरिएको छ । शिक्षा युवा तथा खेलकुदतर्फ संघीय सशर्त अनुदान ३५ करोड ७८ लाख र नगरपालिका स्रोततर्फ २ करोड ५० लाख छुट्याइएको छ ।
सामाजिक विकासतर्फ सामाजिक समावेशीकरण विभेद तथा लक्षित कार्यक्रमहरू सञ्चालन गर्न १ करोड, कृषि, पशु, सहकारी तथा उद्योग सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न ९० लाख र धार्मिक, सांस्कृतिक तथा बहुजातीय विविधतायुक्त पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न छनोट भएका कार्यका लागि ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।