सीमा समस्या समाधान तथा काेराेना खाेप आयातका लागि भन्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतकाे भ्रमण गरेका छन्। माघ १ गतेबाट शुरू भएकाे भ्रमणका क्रममा पूर्वनिर्धारित विषयले प्रवेश नपाए पनि नेपाल-भारतबीच सीमाङ्कनका गर्न बाँकी काम यथाशीघ्र थाल्ने सहमति भएकाे छ। प्रतिपक्षी नेताहरूले भने उनकाे भ्रमण असफल भएकाे टिप्पणी गरेका छन्।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली माघ १ गते मित्र राष्ट्र भारतकाे भ्रमणमा गएका छन्। मन्त्री ज्ञवालीकाे भ्रमण कोभिड-१९ सहकार्य र नेपाल भारत सीमासहितका विषयमा केन्द्रित हुने नेपालको परराष्ट्र मन्त्रालयले जनाएको थियाे।
भ्रमणअघि परराष्ट्रमन्त्री ज्ञवालीलाई विभिन्न राजनीतिक संगठन तथा नागरिक समाजले काम चलाउ सरकारका मन्त्रीले महत्वपूर्ण निर्णय गर्न नहुने बताएका थिए। २३ राजनीतिक संगठनको कार्यगत एकताका तर्फबाट सिपी गजुरेलले वक्तत्व जारी गरेर उनलाई सुझाव समेत दिएका थिए।
भारत भ्रमणका क्रममा उनले त्यहाँका समकक्षी एस जयशंकरसँग भेट गरेका थिए। त्यस्तै उनी दुवै देश सम्मिलित संयुक्त आयाेगकाे बैठकमा समेत सहभागी बनेका थिए। भ्रमणका क्रममा उनले विभिन्न भारतीय नेताहरूसँग समेत भेटेका थिए।
भारत भ्रमणका क्रममा पूर्वनिर्धारित सीमा समस्याबारे छलफल हुने भनिएपनि अन्ततः भारतले त्यस विषयमा छलफल हुन नसक्ने बताएकाे थियाे।
भारत भ्रमणबाट फर्किएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमाका विषयमा नेपाल र भारतबीच सहमति नभएको बताएका थिए। भ्रमण सकेर फर्किए लगत्तै जसपा नेता बाबुराम भट्टराईले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमण असफल भएको बताएका थिए।