आज 'निर्वाचन आयोगलाई ओलीको जवाफ : नेकपा विभाजन भएकै छैन', 'प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा', 'जापानमा हिउँमा परेर १३ जनाको मृत्यु, सयौँ घाइते', 'अमेरिकामा ७० वर्षपछि एक महिलालाई मृत्युदण्ड दिइयो' लगायतका विषयवस्तुहरू समावेश गरिएका छन्।
नेकपा (दाहाल-नेपाल) पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले डमरु बजाउँदै केन्द्रीय कमिटी सदस्य बाँडिरहेको आरोप लगाएका छन्। प्रधानमन्त्री ओलीले सर्वसत्तावादी र निरंकुश चरित्र देखाएको उनको आरोप छ।
केपी शर्मा ओली नेतृत्वको नेकपाले निर्वाचन आयोगमा जवाफ पेश गरेको छ। पत्रमा जवाफ पठाउँदै ओलीले नेकपा विभाजन नभएको र पुष्पकमल दाहाल दोस्रो वरियताको अध्यक्ष कायम रहेको बताएकाे हाे। पत्रमा दाहाल–नेपाल समूहले ओलीलाई अनुशासनको कारबाही गर्दै उनको ठाँउमा माधव नेपाललाई अध्यक्ष नियुक्त गरेको विवरण पेश गर्नुको औचित्य र वैधानिकता नभएको उल्लेख गरेका छन्।
विश्व महाशक्ति बन्ने दौडमा रहेको चीनलाई रोक्ने गरी वासिङ्टनडीसीले इन्डो–प्यासिफिक रणनीतिलाई अघि सारेको भर्खरै बाहिर आएको एक दस्तावेजबाट खुलेको छ। राष्ट्रिय सुरक्षा रणनीति अन्तर्गत वासिङटनबाहिर आएको दस्तावेज ‘अमेरिकाको लागि इन्डो–प्यासिफिकको रूपरेखा’ मा ‘इन्डो–प्यासिफिक’ मार्फत् आफू र आफ्ना क्षेत्रीय सहयात्रीहरु मिलेर आर्थिक रूपमा आक्रमक तरिकाले अघि बढिरहेको चीनलाई रोक्ने योजना अमेरिकाको रहेको देखिएको छ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा शुक्रबारसम्मका लागि स्थगित भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा बुधबार भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले कार्टुन देखाएर प्रतिगमनको विरोध गरेको छ।
राष्ट्रिय चिकित्सा शिक्षा आयोगले पहिलोपटक एमबिबिएसलगायत स्नातक तहका चिकित्सा शिक्षाका कार्यक्रममा एकीकृत प्रवेश परीक्षाको तयारी गरेको छ। तर, चिकित्सा शिक्षा ऐनमा सार्वजनिक शैक्षिक संस्थामा स्नातक तहमा कम्तीमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था भए पनि त्यसको भने टुंगो लागेको छैन।
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सनातनदेखि नै सत्ताले अत्याचार गर्ने गरेको भन्दै प्रधानमन्त्री केपी ओली त्यही अत्याचारीको प्रतीकका रूपमा उदाएको बताएका छन्।
नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले सरकारलाई काम गर्न नदिएको उदाहरण पेस गर्न चुनौती दिएका छन् ।
संयुक्त राज्य अमेरिकामा करिब सात दशकपछि पहिलोपटक एक महिलालाई अमेरिकी संघीय कानुनबमोजिम मृत्युदण्ड दिइएको छ। गर्भवती महिलालाई हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेकी ५२ वर्षीया लिसा मन्टगमेरीलाई घातक सुई लगाएर बुधबार मृत्युदण्ड दिएको अमेरिकी न्याय विभागले जनाएको छ।
जापानको समुद्री तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको जापानी उद्धारकर्मीहरूले जनाएका छन्। जापानी अग्नि तथा विपत् व्यवस्थापन निकायका अनुसार उक्त घटनामा परेर दुई सय ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
भारतीय सर्वोच्च अदालतले तीनवटै कृषि कानुन कार्यान्वयन नगर्न आदेश दिएको छ। अदालतद्वारा सरकारका नाममा मंगलबार जारी आदेशअनुसार अर्को आदेश नआएसम्मका लागि तीनैवटा कानुन कार्यान्वयन नगर्नु भनिएको छ।