प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हरेक महिना सबै सरकारी निकायको प्रगति विवरणसहितको रिपोर्ट कार्ड प्रधानमन्त्री कार्यालयमा पठाउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा उहाँले मन्त्रीपरिषद्का निर्णय कार्यान्वयनको अनुगमन गर्ने स्वचालित प्रणाली तथा एकीकृत मूल्याङ्कन प्रणालीलाई चुस्तदुरुस्त अघि बढाउन निर्देशन दिनुहुँदै भन्नुभयो, “हरेक महिना सबै निकायको प्रगति विवरणको रिपोर्ट कार्ड मकहाँ आउने व्यवस्था मिलाउनूस्।” उहाँले प्रधानमन्त्री कार्यालयलाई स्मार्ट र सेन्टर अफ एक्सिलेन्सका रूपमा विकास गर्न निर्देशन दिनुभएको छ।