बजार घट्दा पनि जलविद्युत् तर्फ आकर्षण कायमै, १ महीनामा सर्वाधिक गुमाउनेमा बैंकिङ्ग समूहका लगानीकर्ता

काठमाडौं । एक महीनामा नेप्से परिसूचक ४ दशमलव ६७ प्रतिशत घटेको छ । माघ ३ गते नेप्से परिसूचक २ हजार १६३ दशमलव ०६ विन्दुमा रहेकोमा फागुन ३ गते २ हजार ६२ दशमलव ०३ विन्दुमा झरेको हो ।  बजार घट्दा पनि जलविद्युत् समूहको शेयरमा लगानीकर्ताको आकर्षण कायमै छ । एक महीनाको तथ्यांकलाई हेर्दा १३ समूहगत परिसूचकमध्ये अन्य समूह र जलविद्युत् समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । हाइड्रोपावर समूहको परिसूचक माघ ३ गते २ हजार ६७३ दशमलव १७ रहेकोमा फागुन ३ गते बढेर २ हजार ७०३ दशमलव ५ विन्दुमा पुगेको हो ।  अरु सेक्टरका कम्पनीको जस्तो धेरै पूँजी जलविद्युत् कम्पनीको छैन । नयाँ जलविद्युत् कम्पनीले २० देखि ३० प्रतिशतसम्म शेयर निष्कासन गरेका छन्, बाँकी  संस्थापकको होल्ड भएको हुन्छ । यी कारणले गर्दा जलविद्युत्को शेयरमा लगानीकर्ताको आकर्षण देखिएको जानकार बताउँछन् ।  पछिल्लो समय लगानीकर्ता दीर्घकालीन लगानीभन्दा अल्पकालीन लगानी गरिरहेका हुन्छन् । अल्पकालीन लगानीमा लगानीकर्ताको रोजाइ कम पूँजी भएको कम्पनीमा हुन्छ । सोही कारण पनि लगानीकर्ताको रोजाइमा जलविद्युत् कम्पनीको शेयर परेको जानकार बताउँछन् ।   जलविद्युत् कम्पनीले कर्जा तिर्न हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था विद्युत् नियमन आयोगले गरेको छ । सोही कारण धेरैजसो जलविद्युत् कम्पनीले हकप्रद शेयर निष्कासन गर्न लागेका छन् । यस कारण पनि लगानीकर्ताको आकर्षण जलविद्युत् कम्पनीको शेयरमा परेको जानकारको बुझाइ छ ।   पछिल्लो एक महीनामा बैंकिङ्ग समूहका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो अवधिमा यस समूहको परिसूचक ८ दशमलव ३७ प्रतिशत घटेको छ । माघ ३ गते यस समूहको परिसूचक १ हजार २१६ दशमलव ०८ विन्दुमा रहेकोमा फागुन ३ गते बिहीवार घटेर १ हजार ११४ दशमलव २७ विन्दुमा झरेको हो । यस समूहका कम्पनीको भोल्यूम बढी भएका कारण र पछिल्लो समय प्रतिफल घट्दै घएकाले लगानीकर्ताको आकर्षण नपरेको जानकार बताउँछन् ।  एक महीनामा परिसूचक सर्वाधिक घट्ने सूचीमा दोस्रोमा लघुवित्त समूह छ । लघुवित्तको परिसूचक ७ दशमलव ३६ प्रतिशत घटेको छ । माघ ३ गते यस समूहको परिसूचक ३ हजार ९६३ दशमलव ८१ विन्दुमा रहेकोमा फागुन ३ गते घटेर ३ हजार ६७१ दशमलव ९६ विन्दुमा झरेको छ ।  नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीलाई १५ प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गर्दा ९५ प्रतिशतसम्म विभिन्न कोषमा छुट्याउनु पर्ने प्रावधान ल्याएसँगै शेयर मूल्य ओरालो लागेको हो । यसो त चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासमा अधिकांश लघुवित्त कम्पनीको खराब कर्जा बढेको छ भने केही कम्पनी नोक्सानीमा छन् । त्यस्तै गत आवको मुनाफाबाट यस वर्ष धेरै कम्पनीले लाभांश नदिने निर्णय गरेका छन् । यही कारण लघुवित्त कम्पनीको शेयर मूल्य ओरालो लागेको जानकार बताउँछन् । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

सम्बन्धित सामग्री

यो साताको बजार : १.६४ प्रतिशत घट्यो नेप्से, कारोबार रकम ४३ प्रतिशत बढ्यो

काठमाडौं । यो साता धितोपत्र दोस्रो बजार गत साताको तुलनामा घटेको छ । बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दिएको जानकारी अनुसार गत साताको तुलनामा यो साता नेप्से परिसूचक १ दशमलव ६४ प्रतिशत अर्थात् ३४ दशमलव २९ अंक घटेको छ ।  गत साताको अन्तिम कारोबार दिन २ हजार ९६ दशमलव ३२ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ६२ दशमलव शून्य ३ विन्दुमा बन्द भएको हो । यो साता पाँच कारोबार दिनमा नेप्से परिसूचक तीन कारोबार दिन घटेको छ भने दुई कारोबार दिन बढेको छ । पहिलो कारोबार दिन १० दशमलव ५० अंकले घटेको बजार दोस्रो दिन १५ दशमलव ३३ अंकले बढेको छ । त्यस्तै तेस्रो दिन ३० दशमलव ५६ अंकले घटेको बजार चौथो दिन ५ दशमलव ९१ अंकले बढेको छ भने पाँचौं दिन १४ दशमलव ४६ अंकले घटेको छ ।  यो साताको कारोबार हेर्दा बजार एक दिन बढ्ने र अर्को दिन घट्ने देखिएको छ । लगानीकर्ताको सक्रियता अल्पकालीन कारोबारमा रहेको ब्रोकर बताउँछन् । लगानीकर्ता बजार अझै माथि जाने अपेक्षामा रहे पनि दीर्घकालीन लगानीका लागि भने डराइरहेको ब्रोकरको अनुमान छ । धितोपत्र बजारमा लगानीका लागि पर्याप्त आधार रहे पनि लगानीकर्ताको आत्मबल बढ्न नसक्नु बजारले गति लिन नसक्नुको प्रमुख कारण रहेको ब्रोकरको बुझाई छ । यो साता नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । गत साता १४ अर्ब ३० करोड ११ लाख रुपैयाँभन्दा बढीको ४ करोड १२ लाख ९२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता २० अर्ब ४६ करोड १६ लाख रुपैयाँभन्दा बढीको ५ करोड ६६ लाख १४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । गत साताको तुलनामा यो साता कारोबार रकम ६ अर्ब १६ करोड रुपैयाँभन्दा बढी र कारोबार कित्ता १ करोड ५३ लाखभन्दा बढी भएको हो । औसतमा समेत यो साता कारोबार रकम र कित्ता दुवै बढेको छ । गत साताभन्दा यो साता औसतमा कारोबार रकम १ अर्ब २३ करोड रुपैयाँभन्दा बढी र औसत कारोबार कित्ता ३० लाख ६४ हजारले बढी भएको हो । बजार घट्दा कुल पूँजीकरण पनि १ दशमलव ६४ प्रतिशत कम भएको छ । गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ९५ अर्ब २४ करोड रुपैयाँभन्दा बढी रहेको कुुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४१ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी कायम भएको हो । यो साता लगानीकर्ताले ५३ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको सम्पत्ति मूल्य गुमाएका छन् । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) । वित्त र जलविद्युत् समूहको मात्र परिसूचक बढ्यो  यो साताको कारोबारमा दुई समूहगत परिसूचक मात्र बढेका छन् । गत साताको तुलनामा वित्त समूहको २ दशमलव शून्य ५ प्रतिशत र जलविद्युत् समूहको १ दशमलव शून्य २ प्रतिशत परिसूचक बढेको हो । बाँकी समूहको परिसूचक भने यो साता घटेको छ । यो साता सबैभन्दा बढी होटल तथा पर्यटन समूहको परिसूचक घटेको छ । यो समूहको परिसूचक ३ दशमलव ८१ प्रतिशत घटेको हो । त्यस्तै व्यापारिक समूहको २ दशमलव ९० प्रतिशत, अन्यको २ दशमलव ९० प्रतिशत, जीवन बीमाको २ दशमलव ६३ प्रतिशत, बैंकिङको २ दशमलव ५२ प्रतिशत, लगानीको १ दशमलव ९० प्रतिशत, लघुवित्तको १ दशमलव ७९ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ४९ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ८६ प्रतिशत, विकास बैंकको शून्य दशमलव ८३ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ४९ प्रतिशत परिसूचक घटेको छ ।  परिसूचक घटेको आधार मान्दा यो साता वित्त समूहले सबैभन्दा बढी कमाएका छन् भने होटल तथा पर्यटन समूहले सबैभन्दा बढी गुमाएका छन् । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

सातामा ६९.३७ अंक घट्यो नेप्से परिसूचक, कारोबार रकम भने ७४ करोडले बढ्यो

चैत १९, काठमाडौं । यो साता धितोपत्र दोस्रो बजारमा रू. १३ अर्ब ४२ करोडभन्दा बढीको कारोबार भएको छ । उक्त रकम बराबरको २ करोड ६० लाख ६१ हजार ६१५ कित्ता धितोपत्र यो साता खरीदविक्री भएको हो । यो साता गत साताको तुलनामा रू. ७४ करोड ४२ लाखभन्दा बढीको १९ लाख ७० हजार ८५३ कित्ता बढी धितोपत्र कारोबार भएको हो । गत साता रू. १२ अर्ब ६८ करोडभन्दा बढीको २ करोड ४० लाख ९० हजार ७६२ कित्ता धितोपत्र कारोबार भएको थियो ।  कारोबार रकम बढेको यो साता नेप्से परिसूचक भने ६९ दशमलव ३७ अंकले घटेको छ । यो साता पाँच कारोबार दिनमा एक दिन मात्र बजार बढेको छ । साताको पहिलो कारोबार दिन ४१ दशमलव ४१ अंक, दोस्रो दिन ३० दशमलव ४३ अंक र तेस्रो दिन १४ दशमलव २६ अंकले घटेको बजार चौथो दिन भने ४० दशमलव ६८ अंकले बढेको थियो । पाँचौ दिन भने फेरी बजार २३ दशमलव ९५ अंकले घटेर बन्द भएको छ । गत साता २ हजार ६१३ दशमलव ६७ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता २ हजार ५४४ दशमलव ३० विन्दुमा झरेको हो । यसै साता बीमा कम्पनीहरुको पूँजी वृद्धिको चर्चा चलेपनि यसले लगानीकर्ताहरुको मनोबल भने बढाउन सकेन । वित्तीय प्रणालीमा लगानीयोग्य पूँजीको अभाव रहि रहेको अवस्थामा बजार सकारात्मक बन्न कठिन हुने जानकारहरु बताउँछन् । स्थानीयतहको निर्वाचनको खर्च वित्तीय प्रणालीमार्फत भए यसबाट धितोपत्र दोस्रो बजारमा सकारात्मक प्रभाव पर्ने विश्वास लगानीकर्ताहरुको छ ।  यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचकसँगै ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १३ दशमलव ४७ अंक तल झरेको छ । गत साता ४८८ दशमलव ९४ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४७५ दशमलव ४७ विन्दुमा झरेको हो । साताको कारोबारमा लगानीकर्ताहरुको सम्पत्तिको मूल्य कुल बजार पूँजीकरण रू. ९३ अर्ब ३२ करोड ५३ लाखले घटेको छ । गत साता रू. ३७  खर्ब ५ अर्ब ५९ करोड ८८ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. ३६ खर्ब १२ अर्ब २७ करोड ३४ लाखमा झरेको हो ।   यो साता वित्त समूहका लगानीकर्ताले सर्वाधिक गुमाए  : यो साता सर्वाधिक गुमाउँनेमा वित्त समूहका लगानीकर्ता रहेका छन् । गत साताको तुलनामा यो साता कारोबारमा आएका सबै समूहगत उपसूचकहरु घट्दा वित्त समूहको सर्वाधिक ५ दशमलव ४९ प्रतिशतले घटेको छ । त्यस्तै यो साता वाणिज्य समूहको २ दशमलव २३ प्रतिशत, विकास बैंक समूहको ४ दशमलव ४४ प्रतिशत, होटल्स तथा पर्यटन समूहको १ दशमलव ७७ प्रतिशत, जलविद्युत् समूहको ३ दशमलव २१ प्रतिशत, लगानी समूहको शून्य दशमलव ८९ प्रतिशतले परिसूचक घटेको छ ।  त्यस्तै जीवन बीमा समूहको ४ दशमलव २० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ३ दशमलव शून्य ५ प्रतिशत, लघुवित्त समूहको १ दशमलव ७६ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशमलव ८९ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ३५ प्रतिशत, अन्य समूहको ४ दशमलव ४८ प्रतिशत र ब्यापारिक समूहको ३ दशमलव ५५ प्रतिशतले परिसूचक घटेको छ ।

शेयरबजारका असंगति

साताको पहिलो दिन शेयरबजार निकै ठूलो अंकले ओरालो लाग्यो । नियामक निकायकै कारण बजार ओरालो लागेको भन्दै केही लगानीकर्ता संगठनहरूले आन्दोलन गर्ने बताएका छन् । लाखौं लगानीकर्ता सक्रिय भइरहेको बजार ठूलो अंकले घट्दा त्यसले तरंग पैदा गर्नु स्वाभाविक हो । लगानीकर्ताको विरोधकै कारण नियामकले सीमा बढाइदियो भने अर्को गलत काम हुन्छ । शेयरबजारका असंगतिमा सुधार ल्याउन नियामक र लगानीकर्ताका संगठनहरू तयार होलान् ? विगत केही महीना शेयरबजार निरन्तर उकालो लागिरहेको थियो । यस्तोमा केही अंक घट्नु स्वाभाविक भए पनि केही बेरका लागि कारोबार नै स्थगित गर्नुपर्ने गरी घट्नुमा नियामक निकायहरूको अनावश्यक कडाइ कारण भएको लगानीकर्ताको सोचाइ छ । धितोपत्र बोर्डले केही समयअघि जलविद्युत् कम्पनीहरूको नामै तोकेर तिनमा गरिएको लगानी जोखिमपूर्ण भनी विज्ञप्ति निकाल्यो । अहिले नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो कर्जामा रू. ४ करोड र १२ करोडको सीमा तोकिदियो । त्यसैको परिणति आइतवार १०८ दशमलव २६ अंकले घटेको लगानीकर्ताको भनाइ छ । तर, तरलता अभाव हुँदै जानुलगायत कारण पनि नभएका होइनन् । यसरी बजार घटेपछि लगानीकर्ताहरूबीच आरोपप्रत्यारोप पनि चलेको छ । लगानीकर्ता संगठनहरूले राष्ट्र बैंकको नीतिकै कारण बजार घटेको भनी गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्ने कुरा बताइरहँदा केही लगानीकर्ताले भने नेपाल राष्ट्र बैंकको नीतिलाई दोष देखाएर ठूला लगानीकर्ताले बजार घटाएको आरोप लगाएका छन् । राष्ट्र बैंकको नीति सकारात्मक भएको र यसले साना लगानीकर्ताको भनाइ गर्ने प्रतिक्रिया केही लगानीकर्ताको पाइन्छ । यी सबैको निष्कर्ष के हो भने नेपालको शेयरबजार परिपक्व भएको रहेनछ । शेयरबजार परिपक्व बन्दै गएको मानिए पनि अहिलेको घटनाले यसमा प्रश्न खडा गरिदिएको छ । स्वतन्त्र बजारमा बढ्न दिनु हुँदैन भनेर भाँजो हाल्ने र त्यसैअनुसार नीति बनाउन हतारिने प्रवृत्ति नियामकमा देखियो । त्यस्तै बजार घट्यो भनेर रुवाबासी गर्ने र बजार घट्नै हुँदैन भनेजस्तो व्यवहार गर्ने लगानीकर्ता पनि देखिए । यी दुवै गलत प्रवृत्ति हुन् । वास्तवमा बजार घट्ने बढ्ने भनेको कम्पनीहरूको आधारभूत कुराहरूमा आएको परिवर्तनले हो । तर, कम्पनीहरूको आधारभूत कुरा अध्ययन तथा विश्लेषण नगर्ने, हकप्रद, बोनस आदिको हल्लाको पछि लागेर लगानी गर्नेको संख्या अहिले पनि देखियो । त्यस्तै मूल्य बढेका बेला हकप्रद शेयर जारी गरेर मुनाफा कमाउने सोच भएका कम्पनीहरू पनि देखिए । शेयरबजारमा मनोविज्ञानले असर गर्छ । तर, अहिले त्यस्तो मनोवैज्ञानिक असर पर्ने खालको कुनै घटना भएको छैन । नियामक निकायहरूको नियम परिवर्तनले पनि शेयरबजारमा असर गर्छ । यस्तो नीतिनियम परिवर्तनले शेयरबजारमा असर पर्‍यो भनेर शेयरबजार बढाउनकै लागि नीतिनियम परिवर्तन गरिँदैन । यो कुरा लगानीकर्ताहरूले बुझ्नुपर्छ । अहिले जसरी नियामकको विरोध गर्ने कुरा भइरहेको छ त्यस्तो गतिविधिलाई सर्वसाधारणले समर्थन गर्दैनन् । यस्तो विरोधमा दम पनि हुँदैन । लगानीकर्ता संगठनहरूले गर्ने विरोध कार्यक्रम बजारमा भएका विभिन्न विकृतिहरू हटाउन केन्द्रित हुनुपर्ने हो । सबै कारोबार विद्युतीय भइसकेको अवस्थामा उच्च शुल्क लगाइएको छ । शेयरबजारमा भित्री कारोबार भइरहेको छ । यी तमाम विकृतिविरुद्ध आन्दोलन नगरेर बजार घटेको कुरामा आन्दोलन गर्नु औचित्यपूर्ण देखिँदैन । त्यसो त राष्ट्र बैंकले रू. ४करोड र रू. १२ करोडको जुन सीमा लगाएको छ त्यो कुनै खास रणनीति वा सोचविचार गरेर लगाएको देखिँदैन । सानामा कर्जाको पहुँच पुगोस् भनेर यसो गरिएको दाबी उसको छ । तर, यस्तो कर्जा साना र ठूला लगानीकर्तामा कति गाको छ अध्ययन भएको देखिँदैन । साना र ठूला लगानीकर्ताका लागि त्यसको अनुपात तोकिदिएको भए साना लगानीकर्ताले प्राथमिकता पाउँथे । सीमित ठूला लगानीकर्ताले बढी लिन पाएको अवसर नियन्त्रित हुन्थ्यो । लगानीकर्ताको विरोधकै कारणले नियामकले सीमा बढाइदियो भने अर्को गलत काम हुन्छ । शेयरबजारका यी असंगतिमा सुधार ल्याउन नियामक र लगानीकर्ताका संगठनहरू तयार होलान् ?