लघुवित्तलाई कर्जा असुल्नै सकस

काठमाडौं । गरीब तथा विपन्न वर्गको समूह बनाएर धितो तथा विनाधितो लगानी गर्ने लघुवित्त वित्तीय संस्थाहरूलाई ऋण उठाउन सकस हुन थालेको छ । आर्थिक गतिविधिमा आएको कमीका कारण कर्जा ग्राहकको ऋण तिर्ने क्षमता घट्नुका साथै ऋण नतिर्ने आन्दोलनले असुलीमा समस्या भएको हो । एउटै व्यक्तिलाई एकभन्दा बढी संस्थाको ऋण र अनुत्पादक क्षेत्रमा लगानी भएकाले पनि असुली प्रभावित भएको मानिएको छ ।  कर्जा असुली प्रभावित भएसँगै लघुवित्तको खराब कर्जा ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७८ असारमा लघुवित्तहरूको औसत खराब कर्जा २ दशमलव ९७ प्रतिशत थियो । २०७९ चैतसम्म आइपुग्दा खराब कर्जा ७ दशमलव ४३ प्रतिशत पुगिसकेको छ । औपचारिक तथ्यांक प्रकाशित नभए पनि २०८० असारमा लघुवित्तको खराब कर्जा करीब १० प्रतिशत पुगेको अनुमान छ ।  यद्यपि २०८० असारमै नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै लघुवित्तबाट लिएको ऋण तिर्न नसकेका ग्राहकले ऋणको भुक्तान अवधि १ वर्ष थप गरी कर्जाको पुनर्तालिकीकरण र पुन: संरचना गर्न पाउने व्यवस्था गरेको थियो । केन्द्रीय बैंकले लघुवित्तहरूले २०७९ चैतमा सक्रिय वर्गमा रहेको कर्जाका ऋणीहरूले तिर्न बाँकी ब्याजको न्यूनतम ५ प्रतिशत ब्याज रकम तिरेर ऋणको पुनर्तालिकीकरण र पुन: संरचना गर्न पाउने व्यवस्था गरेको थियो ।  पुनर्तालिकीकरणको सुविधा नदिएको भए लघुवित्तहरूमा खराब कर्जा अनुपात दोब्बर बढ्ने निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जनादर्नदेव पन्त बताउँछन् । ‘राष्ट्र बैंकले दिएको सहुलियतले लघुवित्तलाई खराब कर्जा व्यवस्थापन गर्न सहज भएको छ,’ उनले भने, ‘त्यो सहुलियत नभएको भए लघुवित्तको खराब कर्जा अहिले देखिएको भन्दा दोब्बर हुन्थ्यो ।’ २०७९ चैतसम्म सञ्चालनमा रहेका ६३ ओटा लघुवित्त संस्थामा ५९ लाख ९९ हजार जना ग्राहक रहेकोमा ऋण लिनेको संख्या ३१ लाख ६२ हजार छ । लघुवित्तहरूले कुल ४ खर्ब ४१ अर्ब रुपैयाँ कर्जा लगानी गरेकोमा ३ खर्ब ८१ अर्ब रुपैयाँ भने सर्वसाधारणलाई प्रवाह गरेका छन् । गरीब तथा विपन्न वर्गको उत्थानका लागि काम गर्नुपर्ने लघुवित्तको मूल मर्म नै बिर्सेर नाफामुखी हुँदा समस्या सृजना भएको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल बताउँछन् । ‘लघुवित्तको दोहोरो कर्जा र अनुत्पादक क्षेत्रमा लगानी हुँदा समस्या भएको छ,’ उनले भने, ‘यसले कर्जा असुलीमा समस्या भई खराब कर्जा बढेको छ ।’ लघुवित्तबाट पीडित भएको भन्दै ग्राहक आन्दोलित भएपछि राष्ट्र बैंकले गत साउनमा कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा सुझाव कार्यदल बनाएको छ । कार्यदलले भदौ महीनाभरमा आफ्नो सुझाव बुझाउने तयारी गरेको छ । कार्यदलले प्रारम्भिक प्रतिवेदनमा एउटै व्यक्तिले २३ ओटासम्म संस्थाबाट ऋण लिएको र ५२ लाख रूपैंयासम्म कर्जा उपभोग गरेको उल्लेख गरेको छ । ग्राहक आन्दोलित भएपछि पछिल्लो समय लघुवित्तहरूले पनि ऋण असुलीमा कडाइ गरेका छैनन् । ऋण नतिर्नेलाई अनावश्यक दबाब दिने, घरका सामान उठाउने जस्ता गतिविधि लघुवित्तहरूले गरेका छैनन् ।  राष्ट्र बैंकले गत फागुनमा निर्देशन जारी गरी कर्जाको सीमा घटाएर ७ लाख रुपैयाँमा झार्नुका साथै एउटा मात्र संस्थाबाट ऋण लिने पाउने र लघुवित्तबाट ऋण लिएकाहरूले बैंक, वित्तीय संस्थाबाट लिन नपाउने व्यवस्था गरिसकेको छ । अब कार्यदलले बुझाउने प्रतिवेदनका आधारमा लघुवित्त क्षेत्रलाई व्यवस्थापन गर्ने केन्द्रीय बैंकको तयारी छ । 

सम्बन्धित सामग्री

६० करोड डलर कर्जा दिने बहुराष्ट्रिय बैंक खोज्दैछ वेदान्त रिसोर्सेज

काठमाडौं । भारतीय अर्बपति व्यापारी अनिल अग्रवालले प्रवद्र्धन गरेका वेदान्त रिसोर्सेज लिमिटेड (भीआरएल)ले ५० करोड देखि ६० करोड डलरसम्म कर्जा दिने बैंक खोजिरहेको छ । कम्पनी अहिले कर्जाका लागि दोयचे बैंक, जेपी मोर्गन चेज, बार्कलेज जस्ता बैंकहरुसँग वार्तारत् रहेको बताइएको छ । यही महीनाको अन्त्यसम्ममा कम्पनीले लिएको कर्जा चुक्ता गर्नका लागि भने सो ऋण खोजिएको यस मामिलाबारे जानकार स्रोतको भनाई उद्धृत गर्दै इकोनोमिकटाइम्सको अनलाइन संस्करणमा समाचार प्रकाशित छ । कम्पनीको लन्डनमा रहेको मुख्यालयले जिंक इन्टरनेशनल युनिटफर्मात पैसा सापटी लिन खोजेको बताइएको छ । जिंक इन्टरनेशनल कम्पनीको पूर्ण स्वामित्वको अफशोर सहायक कम्पनी हो । फारालोन क्यापिटल म्यानेजमेन्टले दिने भनेको ऋण आउन अझै समय लाग्ने भएपछि भीआरएलले अन्य बैंकबाट सानो परिमाणमा ऋण लिन खाजिरहेको छ ।   कम्पनीले मे ३१ मा ५० ७ दशमलव १२५ प्रतिशत दरको ५० करोड डलर ऋणपत्रमा रिफाइनान्स गर्नु पर्नेछ । यसका लागि उसलाई कम्तिमा पनि ५०÷६० करोड डलर चाहिएको छ  । हालैका महीनाहरुमा कम्पनीलाई ऋण जुटाउन सकस भइरहेको छ । एजेन्सी

ह्वात्तै बढ्यो बैंकहरूको खराब कर्जा, यी तीन बैंकलाई झनै सकस

ऋणीहरूले समयमै ऋण तथा किस्ता नतिर्दा बैंकहरूको खराब कर्जा ह्वात्तै बढेको छ । चालू आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरण प्रकाशित गरेका बैंकहरूलाई हेर्दा अहिले खराब कर्जा टाउको दुखाई बनेको छ ।

खराब कर्जा बढ्दै जाँदा बैंकहरूलाई ऋण उठाउन सकस

४२ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरूको खराब कर्जा करिब ९८ अर्ब  वाणिज्य बैंकहरूलाई कर्जा उठाउन

मौद्रिक नीति र वित्तीय नीतिका सकस

सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा अर्थतन्त्रमा सहज परिस्थिति नै रहने आकलन गरेर ल्याएका कारण मौद्रिक नीति ल्याउँदा समस्या बढ्ने देखिएको छ । सरकारले आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य तोकेअनुरूप त्यसलाई सघाउन ल्याउने मौद्रिक नीतिले कर्जा विस्तार गर्न सक्ने अवस्था नभएका कारण पनि मौद्रिक नीतिलाई सकस भएको हो । सरकारले आगामी आर्थिक वर्षको आर्थिक वृद्धि ८ […]

कर्जा–निक्षेप अनुपात ९५ प्रतिशत बनाउन सुझाव

कर्जा निक्षेप अनुपात (सीडी रेसियो)को निर्धारित सीमाभित्र रहन सकस महसुस गरेपछि बैङ्क तथा वित्तीय संस्थाका सञ्चालकले कर्जा निक्षेपको अनुपातलाई नै संशोधन गर्न सुझाएका छन् । नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्षका लागि कसिलो मौद्रिक नीति ल्याउने अनुमान गर्दै यस्तो रेसियो ९० बाट ९५ प्रतिशत पु-याउनुपर्ने माग गरेका छन् ।

केन्द्रीय बैंकलाई तरलता व्यवस्थापनमा सकस

नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्रमा कर्जा बढाउने नीति लिएको छ, तथापि यसको कार्यान्वयन पक्ष निष्प्रभावी देखिएको छ । बैंकिङ स्रोतका अनुसार उत्पादनशील क्षेत्रमा कर्जाको माग नभएका कारण उपभोग र आयातमा मात्र कर्जाको माग भएको देखिन्छ । उद्योगधन्दा र निर्माण क्षेत्रको कर्जा घटाएर उपभोगको क्षेत्रमा कर्जा बढाउँदा तरलता संकट थप चुलिने देखिन्छ । उत्पादनशील क्षेत्रमा कर्जाको […]

साना किसानलाई कृषि कर्जा लिन सधैं सकस, ३६% ब्याजमा लिएको ऋणबाट कृषि उद्यम !

काठमाडौं । चार हेक्टर जमीनमा तरकारी र फलफूल खेती गर्न आवश्यक लगानी नपुगेपछि सुनसरीको गढी– ३ छिटाहाका अगुवा कृषक भुवनेश्वर यादवले कृषि कर्जा लिने योजना बनाए । सोही योजनाअनुसार उनी आफ्नै गाउँनजिकै रहेको राष्ट्रिय वाणिज्य बैंकमा कर्जाका लागि गए ।  ‘तरकारी र फलफूल खेतीलाई आधुनिकीकरण गर्न १ करोड रुपैयाँ कर्जा लिन खोजेको थिएँ,’ उनले भने, ‘तर, मैले पहल गरेको १० महीना भयो । अझैसम्म कृषि कर्जा पाउने सुरसार छैन ।’ उनले बैंकमा कर्जाका लागि पटकपटक पुग्दा कर्मचारीले विभिन्न बहाना गर्ने गरेको गुनासो गरे ।  बैंक तथा वित्तीय संस्थाले किसानका लागि भनेर विभिन्न कृषि कर्जाका योजना ल्याएका हुन्छन् । तर, अधिकांशको अवस्था चन्द्रदेव पशुपालन कृषकसमूहमा आबद्ध यादवको जस्तै हुन्छ । नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्दा कृषि कर्जामा ठूलो रकम लगानी गरिएको पाइए पनि त्यस्तो कर्जा वास्तविक किसानकहाँ नपुगेको गुनासो रहँदै आएको छ । ‘जसको बैंकसँग पहुँच र प्रभाव पुग्छ, उनैले कृषि कर्जा पाउने गर्छन्,’ अर्की किसान गुरियाकुमारी झननी भन्छिन्, ‘माटोसँग खेल्ने किसानको पहुँच हुने कुरा भएन । जसले गर्दा वास्तविक किसानलाई कर्जा पाउन सधैं समस्या हुने भयो ।’ उनले ६ महीनादेखि कृषि विकास बैंकबाट कर्जा लिन खोजे पनि हालसम्म नपाएको गुनासो गरिन् ।  बैंकबाट कर्जा लिन समस्या भएपछि अधिकांश किसानले आफन्त तथा गाउँकै धनाढ्यसँग ३६ प्रतिशत ब्याजमा ऋण लिएर उन्नत जातका तरकारी तथा फलफूल खेती गर्दै आएको यादवले आर्थिक अभियान दैनिकलाई बताए । ‘राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा पनि कृषि उद्यम तथा व्यवसाय प्रवर्द्धनका लागि किसानलाई कृषि कर्जा उपलब्ध गराउने कुरा उल्लेख छ, तर बैंकबाट कर्जा लिन हामी जस्ता किसानलाई निकै समस्या छ,’ उनले भने । नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी निर्देशक अनिल शर्मा पनि किसानलाई कर्जा लिन अझै कठिन रहेको बताउँछन् । वास्तविक तथा साना किसानले कृषि कर्जा पाउन नसकेको उल्लेख गर्दै उनले बैंकिङ कर्जाका कार्यक्रमबाट किसान वञ्चित हुनुपर्ने अवस्था कायमै रहेको बताए । उनका अनुसार कृषि कर्जा विस्तार गर्ने र सहुलियत कर्जा उपलब्ध गराउन थालेको पछिल्लो ८ वर्षमा करीब ८५ हजार कृषकले मात्र यस्तो कर्जा पाएका छन् । नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवाल नेपालको कृषिक्षेत्रलाई माथि उठाउन र अझै व्यावसायिक बनाउन बैंकिङ क्षेत्रले ठूलो मात्रामा कृषिमा लगानी गर्नुपर्ने बताउँछन् । उनले आगामी दिनमा सरकारले सम्पत्ति धितो राखेर ऋण दिने प्रचलन मात्र नराखेर बौद्धिक सम्पत्तिलाई पनि बैंकमा धितो राखेर ऋण लिन पाउने नियम लागू गर्न सकेमा शिक्षित पुस्ताको समेत कृषिक्षेत्रमा आकर्षण बढ्ने उनको भनाइ छ ।  राष्ट्र बैंकका अधिकारीहरू किसानले कृषि कर्जा नपाएको गुनासो प्राप्त नभएको दाबी गर्छन् । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले राष्ट्र बैंकले अहिले कृषि कर्जालाई अनिवार्य गराएको बताउँदै कुल कर्जाको १५ प्रतिशत कर्जा कृषि कर्जाका रूपमा लागू गरिएको बताए । ‘वाणिज्य बैंकहरूले दिने गरेको कर्जामध्ये पनि ११ प्रतिशत कर्जा कृषिक्षेत्रमा गएको छ । तर, कुनै बैंकले कर्जा दिन आनाकानी गरेका छन् भने अहिलेको फरक परिस्थितिका कारण लगानी सुरक्षित हुने नदेखेपछि त्यस्तो भएको हुनसक्छ,’ उनले भने, राष्ट्र बैंकका अनुसार हालसम्म कृषिक्षेत्रमा करीब ६ खर्ब रुपैयाँ लगानी भइसकेको छ ।