काठजन्य वस्तु आयातमा वर्षमा १८ अर्ब विदेशिएपछि स्वदेशी फर्निचर प्रवर्द्धन योजनामा व्यवसायी

काठमाडौं । नेपालको कुल भूभागमध्ये ठूलो अंश वनजंगल क्षेत्रले ओगेटेको भए पनि फर्निचरलगायत काठजन्य उत्पादन आयातमा वर्षेनि करिब १८ अर्ब रुपैयाँ विदेशिने गरेको छ । वन मन्त्रालयका अनुसार नेपालमा कुल भूभागको ४५ प्रतिशतभन्दा बढी क्षेत्र वन जंगलले ढाकेको छ । त्यसमा ४१ प्रतिशत वनक्षेत्र र बाँकी बुट्यान क्षेत्र हो ।  तर, भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष (आव) २०७८/७९ मा १७ अर्ब ८२ करोड ७३ लाख रुपैयाँ मूल्यको काठ र फर्निचर आयात भएको छ । आव २०७७/७८ मा पनि १५ अर्ब १८ करोड रुपैयाँ बराबरको काठ र फर्निचर आयात भएको थियो । आव २०७०/७१ यता ९ वर्षको हिसाब निकाल्दा काठ र फर्निचर आयातमा देशको ६५ अर्ब ८४ करोड ३७ लाख रुपैयाँ विदेशिएको छ ।  काठजन्य उत्पादनको आयातमा यति धेरै रकम विदेशिनुमा सरकारको गलत नीति र व्यवसायीको उद्योगलाई बेवास्ता गरी व्यापारमा मात्रै ध्यान दिने मानसिकता जिम्मेवार रहेको जानकारहरूको बुझाइ छ । यसरी निजीक्षेत्रलाई व्यापारमा मात्रै केन्द्रित भएको आरोप लागिरहेका बेला त्यो आरोपबाट मुक्त हुने र फर्निचर आयातमा विदेशिइरहेको रकम जोगाउनेतर्फ व्यवसायी अग्रसर भएको पाइएको छ । स्वदेशी वस्तुको प्रवर्द्धन एवं फर्निचर उत्पादनमा क्रियाशील उद्योगी हितेश गोल्छाले देशको मागलाई निकै हदसम्म पूरा गर्नुका साथै विदेश निर्यात पनि गर्नसक्ने किसिमले फ्युजन फर्निचर उद्योग विस्तार गर्न लागिएको आर्थिक अभियानसँगको कुराकानीमा बताए ।  ‘फ्युजन फर्निचर उद्योगलाई विस्तार गर्ने अहिलेको योजना हो । नेपालमै स्वदेशी काठको उपयोग गरेर माग धान्न उद्योगको विस्तार आवश्यक देखियो,’ उनले भने । गोल्छाले नेपालकै काठबाट फर्निचर बनाउनुपर्ने र स्थानीय कच्चा पदार्थकै उपयोग गर्नुपर्छ भन्ने आफूहरूको धारणा रहेको पनि स्पष्ट गरे । उनले सरकारले पनि स्वदेशी उत्पादनको उपयोगका लागि आवश्यक कार्य गर्नुपर्ने बताए । ‘अहिले नेपालमा अधिकांश सामुदायिक वनका काठ उपयोग भइरहेका छन् । हामीलाई प्लान्टेसन गरेको काठ चाहिन्छ,’ उनले थपे, ‘सरकारले सागरनाथ जस्ता नेपालको वनलाई समयानुकूल बनाउने र उपयोग गराउने कार्यक्रम फेरि पनि सञ्चालन गर्नुपर्छ ।’  सागरनाथ वन व्यवस्थापनलाई जोड दिने परियोजना हो । गोल्छाले पछिल्लो समयमा नेपालमा वनको क्षेत्रफल बढ्दै गएको देखिए पनि वृक्षरोपण हुन नसक्दा कच्चा पदार्थको आपूर्तिमा समस्या रहेको बताए । 

सम्बन्धित सामग्री

काठजन्य वस्तु आयातमा वर्षमै बाहिरियो १८ अर्ब

वनलाई नेपालको धनका रुपमा व्याख्या गरिँदै आए पनि यसको व्यवस्थापन चुस्त नहुँदा एक वर्षमा नै करिब १८ अर्ब रुपैयाँको काठजन्य वस्तु आयात भएको छ । नेपालको कुल भूभागमध्ये ४५ प्रतिशत क्षेत्रफल वनले ढाकेको छ । यो तथ्यांकअनुसार नेपालले काठजन्य वस्तु निर्यातबाटै अर्बौं रुपैयाँ आर्जन गर्न सक्नेमा उल्टै आयातमा खर्च भइरहेको छ । भन्सार विभागको तथ्यांकअनुसार […]

वनैवनको देशमा आठ अर्बको काठ आयात

मुलुकमा एक वर्षमा आठ अर्ब रुपियाँ बराबरको काठ र काठजन्य सामान आयात भएको छ । नेपाललाई हरियो वन नेपालको धन भने पनि स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि ठूलो परिमाणमा काठजन्य वस्तु आयात गर्नुपरेको हो । भन्सार विभागको तथ्याङ्कअनुसार आव २०७८/७९ मा आठ अर्ब २२ करोड ३८ लाख ६५ हजार ५२६ रुपियाँको काठ र काठजन्य सामान आयात भएको छ । आव २०७७/७८ मा आठ अर्ब ५२ करोड ८६ लाख तीन हजार ५९१ रुपियाँको तथा आव २०७६/७७ मा पाँच अर्ब ८० करोड ३४ लाख ६७ हजार ५२९ रुपियाँको काठ र काठजन्य सामान आयात भएको विभागको तथ्याङ्क छ ।