काठमाडौंमा सार्वजनिक शौचालयको स्वरूप फेरिंदै

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक शौचालयको स्वरूप फेरिंदै गएकाे छ । उपत्यकामा रहेका सार्वजनिक शौचालयको स्वरूप कस्तो कल्पना गर्नुहुन्छ ? न सफासुग्घर, न पानीको व्यवस्था, उल्टै रोगको संक्रमण बढ्ने एउटा अव्यवस्थित संरचना रहेकाे छ । अब त्यसो होइन, सार्वजनिक शौचालय लोभ लाग्दा बन्न थालेका छन् । ती शौचालय प्रयोग गरेपछि तपाईंमा बेग्लै ताजगी आउने देखिएकाे […]

सम्बन्धित सामग्री

खुला खुलामञ्च-८ : निजी सवारी पार्किङभन्दा पहिले सार्वजनिक यातायात सुधार

पार्किङ समस्याको सही निराकरण, निजी सवारीको दरकार र प्रयोगको स्वरूप तथा गुणस्तरीय सार्वजनिक यातायातको मोडल पहिचान गरेर अगाडि बढ्दा हामी उत्कृष्ट शहरी यातायात व्यवस्थामा पुग्न सक्छौं ।

अस्तव्यस्त काठमाडौं बन्ला व्यवस्थित ?

काठमाडौं देशको राजधानी मात्र नभएर एक प्रमुख शहर जहाँ लाखौको सपना, भविष्य र गन्तव्य जोडिएको शहर हो । दैनिक अर्बाैंको व्यापार हुने यस शहरमा चाहे व्यवसायको निमित्त होस् वा सामाजिक कार्यको निमित्त, चाहे सिंहदरबार चाहार्न होस या औषधि उपचारको निमित्त होस् नेपाली जनताले एकपल्ट ठोक्किनैपर्ने बाध्यता रहिआएको छ । विकासले गति लिँदै गर्दा मेलम्चीले काठमाडौं पनि प्रवेश गरेकै हो । काठमाडौंमा मेट्रो रेल कुद्दैन≤ तर समग्र विकासको गति हेर्दा कतै न कतैबाट यस शहरले लाभ भने अवश्य उठाएको छ । तर, विकासको पूर्णविराम हुँदैन । हिजोको तुलना गर्दैमा विकासले आजको स्तर कायम गर्न सकेको मान्न सकिँदैन । हिजोको तुलना गरी हेर्दा काठमाडौंले ठूलै फड्को मारेको हुन सक्छ । तर, अझै पनि पानीको निमित्त संघर्ष गर्नुपर्ने अवस्था छ । पहेलो पानी प्रयोग गर्न बाध्यता रहिआएको छ । फोहोर संकलनको निमित्त मासिक रकम तिरे पनि फोहोर समयमा नउठ्ने समस्या छ । स्वच्छ हावा प्राप्त गर्न पाउनु पनि एउटा संघर्षसरह देखिन्छ यहाँ । वर्षा याममा बाटोमै नहर बनेर यातायात ठप्प पारेको देखिन्छ । सवारी जामले गर्दा दिनचर्या नै प्रभाव पार्न थालेको छ । काठमाडौंवासीलाई पिरोल्ने अर्को कुरा महँगी हो । चाहे छोराछोरी पढाउन तिरिने शुल्क होस् या दैनिक रासन पानीको शुल्क – दिनहुँ काठमाडौं महँगिँदै गएको देखिन्छ । यातायात सेवा प्रयोग गर्न खेप्नुपर्ने भीडभाड एकातर्फ छ भने त्यसकै मूल्य पनि महँगो भइसकेको देखिन्छ । काठमाडौंको अँध्यारो पाटो हेर्ने हो भने लागू पदार्थको कुलत अर्को जटिल समस्याको रूपमा देख्न सकिन्छ । यहाँ अपराध सुनसान कोठाभित्र हुन थालेको छ र यो दैनिक बढेको देखिन्छ । कतै भोकमरी अनि कतै कुलतले काठमाडौं व्यस्त शहर भएर देखिन थालेको छ । यहाँ सबै तिरबाट प्रत्यक्ष प्रभाव पार्न सकिने माध्यम र कारण भेटिन्छन् । कोही साग बेचेरै गुजारा चलाइरहेका हुन्छन, अनि कोही लाखौं कमाउँदा पनि पर्याप्त नभएको गुनासो गर्छन् । बेरोजगारीले थला पारेको यस शहरमा कोही खाडी र कोही अस्ट्रेलिया अमेरिकामा भविष्य देख्नेहरूको बिगबिगी छ । एकथरी समूह त्यसैमा व्यवसाय गर्न तत्पर देखिन्छन् । प्रदूषित शहरका रूपमा काठमाडौं चिनिन थालेको छ, यहाँको वायुको खराबस्तर बेला बेला उच्च बिन्दुमा पुगेर बाहिर हिँड्नसमेत कठिन हुने अवस्था आउने गरेको छ । काठमाडौंलाई यही अवस्थामा छोड्नेभन्दा पनि सुधारको दायरामा ल्याउन आवश्यक छ । यहाँ थप विकासभन्दा पनि भइरहेको अवस्थालाई सुधार दिलाउनुपर्ने देखिन्छ । त्यसको निमित्त काठमाडौंलाई अहिले तत्काल सम्बोधन गरी हाल्नुपर्ने आवश्यकता छ । भविष्यलाई हेरेर प्राथमिकताको आधारमा छुट्ट्याई विकासलाई अर्को गति प्रदान गर्न आवश्यक छ । काठमाडौं वासीलाई धुरुक्कै पारेको भनेको फोहोरको समस्याले हो । ल्यान्डफिल साइटमा बेला बखत देखिने समस्यालाई दिगो समाधान आवश्यक छ । यसको विकल्पतर्फ समयमै अध्ययन गर्न आवश्यक छ । फोहोर फ्याल्नु आफैमा समाधान होइन, त्यसको प्रशोधनतर्फ पनि समयमै उन्मुख हुन सकेमा दिगो समाधान निस्कने थियो । कम्पोस्ट मल बनाउन होस् या फायर ब्रिकेट उत्पादनको निमित्त होस् उचित व्यवस्थापनले यसको समाधान दिलाउने थियो । काठमाडौंमा अहिले पनि सार्वजनिक शौचालयको बेहाल छ । यसको उचित व्यवस्थापनमा महानगरले ध्यान दिन आवश्यक छ । बढ्दो शहरीकरणले गर्दा काठमाडौंमा पार्किङको समस्या उच्च रहेको देखिन्छ । मूलत: काठमाडौंको न्यूरोड, दरबारमार्गजस्ता ठाउँमा सवारीसाधन राख्ने ठाउँसम्म नहुने हुँदा छुट्टै समस्या आइपरेको छ जसको निमित्त समाधान र ध्यान आवश्यक छ । ढल व्यवस्थापनको पनि ठूलो समस्या छ । ढलको उचित तरीकाले व्यवस्थापन गर्न सके काठमाडौंभित्र बग्ने खोला प्रदूषित हुने थिएनन् । कतिपय विषय जस्तो काठमाडौंको सडकमा हुने जामलाई नियन्त्रण गर्न सकिँदैन, यो बढ्दो शहरीकरणले निम्त्याउने एउटा पक्ष नै हो । तर, जामलाई व्यवस्थित गर्न भने अवश्य सकिन्छ । सर्वप्रथम त आवश्यक ठाउँमा ट्राफिक लाईट जडान गर्नुपर्छ । त्यसपछि उक्त ट्राफिक लाइटको प्रयोग पनि आवश्यक छ । अहिले पनि काठमाडौंको कतिपय ठाउँमा ट्राफिक लाइट भए पनि त्यसको प्रयोग भएको भेटिँदैन । मुख्य बाटोभन्दा फरक अर्को वैकल्पिक बाटो हुन सक्छ, त्यसको निर्माण र सुधार गर्न सके पनि जाममा हुने समस्याको न्यूनीकरण हुने थियो । यहाँ पानीको समस्या, महँगीको समस्याले पनि उस्तै समस्या निम्त्याएको छ । समाधान खोज्दै जाँदा काठमाडौं अवसरको शहर भनेर बिर्सन हुँदैन । अहिले पनि काठमाडौं भ्रमण गर्ने आन्तरिक र विदेशी पर्यटकको संख्या उल्लेखनीय छ । यहाँका धार्मिक स्थलमा व्यापक सुधार आवश्यक छ । तिनकुने जस्तो ठाउँलाई सदुपयोग गर्न आवश्यक छ । त्यति क्षेत्रमा पर्याप्त वृक्षरोपण गर्न सके मात्र पनि वातावरणमा ठूलो राहत हुने थियो । निजी शिक्षा महँगो भएको हुँदा सार्वजनिक शिक्षामा गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यकता देखिन्छ । महँगो नै गुणस्तरीय हुन्छ भन्ने छैन भनेर प्रमाणित गर्न आवश्यक छ । अस्तव्यस्त बनेको राजधानीलाई एउटा गति प्रदान गर्न सकेमा नयाँ स्वरूप भेटिने थियो । एकै पटक मेट्रोको परिकल्पना गर्नुभन्दा पनि क्रमश: हुने विकासलाई अपनाउन आवश्यक छ । काठमाडौं शहरमा अहिले ठूलाठूला विकासभन्दा पनि उचित व्यवस्थापन खाँचो छ, जसले आवश्यक आधारभूत विषयहरू सम्बोधन गर्न सक्नेछ । विकास एकतर्फी पक्कै हुँदैन हातेमालो आवश्यक छ । अब पनि काठमाडौं वर्षामा हिलोमाडौं र सुक्खा याममा धूलोमाडौं नरहोस् । नयाँ नेतृत्वले यस महानगरलाई उदाहरणका रूपमा प्रस्तुत गर्न सकून् । रेग्मी बैंकर हुन् ।