असार २७, काठमाडौं । रौतहटको चन्द्रनिगाहपुरमा चार मेगावाट विद्युत् उत्पादन गर्ने सौर्य विद्युत् आयोजना तयार भएको छ ।
अपि पावर कम्पनी लिमिटेडले सञ्चालनमा ल्याएको उक्त आयोजनाको डिजाइन, उपकरण आयात, निर्माण, जडान तथा सञ्चालनको काम कुशल प्रोजेक्ट्स नेपाल कम्पनीले गरेको हो ।कोरोना महामारीको दोस्रो लहर र निषेधाज्ञाबाट अवरोध भएपनि आयोजना तोकिएको चार महीनाभित्रै तयार भएको कम्पनीले बताएको छ ।
आयोजनाबाट उत्पादित् विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत तीन किलोमिटर दुरीमा रहेको चन्द्रनिगाहपुर सबस्टेसनमा जोड्ने तयारी गरिएको छ। यो नेपालमा निजी क्षेत्रले सञ्चालनमा ल्याएको र ग्रिडसँग जोडिएको तेस्रो सौर्य विद्युत् आयोजना हो । यसअघि लुम्बिनि प्रदेशको बुटवल र प्रदेश नं २ को धनुषामा रहेका आयोजनाहरु ग्रिडमा जोडिएका थिए ।
अव आयोजनाले उत्पादन गरेको विद्युत् आगामी २५ वर्षसम्म प्रतियुनिट ७ दशमलव ३० रुपैयाँमा नेपाल विद्युत् प्राधिकरणले खरीद गर्नेछ ।कम्पनीले १२ बिघा क्षेत्रफलमा ४०० वाटका ११ हजार ११२ ओटा सौर्य प्यानल राखेर विद्युत् उत्पादन गर्ने तयारी गरेको हो । उक्त आयोजनाले वार्षिक ६९ दशमलव २५ गिगावाट घन्टा विद्युत् उत्पादन गर्नेछ । मासिक ५ लाख युनिटसम्म विद्युत् उत्पादन हुने कम्पनीले बताएको छ ।
कुशल प्रोजेक्ट नेपाल प्रालिका प्रबन्ध निर्देशक सन्दिप अग्रवालले यो नयाँ सौर्य उर्जा प्लान्टले नवकरणिय उर्जा उत्पादनमा नयाँ कोषेढुंगा साबित हुँदै सरकारको २५० ओटा पालिकाहरुमा ३७५ मेगावाट सौर्य उर्जा उत्पादन गर्ने योजनामा योगदान गर्ने बताएका छन् ।
*चन्द्रनिगाहपुरमा ४ मेगावाटको सौर्य विद्युत् आयोजना तयार हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।