बुद्ध एयरले नेपालगञ्ज–पोखरा उडान सुरु गरेसँगै बाँके, बर्दियामा पर्यटक भित्रिने क्रम बढेको छ ।
भारतबाट आउने पर्यटक नेपालगञ्ज हुँदै पोखरा र बर्दिया तथा कर्णालीसम्म घुम्न जाने गरेको स्थानीय पर्यटन व्यवसायीले बताए । नेपालगञ्जबाट पोखरा हवाई यातायातमा जोडिएपछि पोखरा जाने भारतीय र पोखराबाट बर्दिया निकुञ्ज, रारा तथा सुदूरपश्चिम जाने पर्यटक बढ्दै गएको होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले बताउनुभयो ।
उहाँले हवाई उडानका कारण नेपालगञ्जमा पर्यटकको चहलपहल बढेको बताउनुभयो । भारतबाट सवारीसाधनको आवागमनमा रोक लगाइएकाले अझै पनि धेरै पर्यटक आउन नसकेको गुनासो गर्दै उक्त रोक हटेपछि ठूलो सङ्ख्यामा भारतीय पर्यटक पोखरा जानका लागि यहाँ पुग्ने बताउनुभयो ।