लगातारको वर्षापछि आएको बाढीका कारण हेलम्बु–मेलम्ची र पाँचपोखरी सडकखण्ड अवरुद्ध भएको छ । ग्यालथुम, चनौटे, तालामाराङ, सिम खेतलगायत ठाउँमा बाढीसँगै पहिरो जाँदा मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि काठमाडौंसम्म चल्ने सार्वजनिक यातायातका साधन तथा एम्बुलेन्स बाटोमै थन्किएका छन् । बाढीका कारण मेलम्ची नगरपालिका–११ सिम खेतमा सडकमा राखिएका दुई एक्साभेटर बाढीमा डुबेका छन् । यस्तै बाढीले मेलम्ची खानेपानी आयोजनाको सिन्धु अडिटमा समेत क्षति पुर्याएको छ ।