काठमाडौं । आफूले गरेको प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीले राजीनामा नदिने बरु अविश्वासको प्रस्ताव आए त्यसलाई सामना गरेर जाने बताउनुभयो । त्यस बारे निर्णय गर्न बुधबार ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक बसिरहेको छ ।
बीबीसीसँगको कुराकानीमा नेता थापाले ओलीले अहिले राजीनामा नदिने स्पष्ट पार्नुभएको हो । सर्वोच्च अदालतले गरेको फैसला मानेर अगाडि बढ्ने तर, राजीनामा नदिने थापाले बताउनुभयो ।
‘फैसलाले प्रतिनिधिसभाको बैठक बोलाउने भनेको छ । प्रतिनिधिसभा भित्र यी कुराहरू जान्छन्’ थापाले भन्नुभयो, ‘प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन चाहने व्यक्तिहरूले ल्याउनु होला । प्रधानमन्त्रीज्यूले त्यसको सामना गर्ने कुरा हुन्छ ।’
प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि नेकपा प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको छ । केही नेताहरुले प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव पेश गर्ने र राष्ट्रपतिविरुद्ध पनि महाअभियोग लगाउने बताउँदै आएका छन् ।
अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि के गर्ने भन्ने कुरा त्यसपछिको विषय भएको तर अहिले अदालतको फैसलालाई हेरेर राजीनामा दिनुपर्ने आवश्यकता नभएको थापाको भनाइ छ।
सर्वोच्च अदालतले पुष ५ गते गरिएको प्रतिनिधि सभा विघटनको निर्णय मंगलबारको फैसलाले असंवैधानिक भएको ठहर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो । ओली पक्षीय नेताहरु अब संसद, सरकार र पार्टी पुष ५ अघिको अवस्थामा मात्रै पुगेको भन्दै सर्वोच्चको फैसलाले राजनीतिक निकास नदिने बताएका छन् ।
प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले अदालतको फैसला मान्य भएपनि यसले राजनीतिक निकास नदिने स्पष्ट पार्नुभएको छ ।