काठमाडौं। जगदम्बा इन्टरप्राइजेज प्रालिले १ वर्षमा १५ अर्ब रुपैयाँभन्दा बढी सञ्चालन नाफा कमाएको छ । रेटिङ कम्पनी केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले आर्थिक वर्ष (आव) २०७८/७९ (सन् २०२२) मा १५ अर्ब ४६ करोड रुपैयाँ सञ्चालन नाफा गरेको हो ।
केयर रेटिङ्सका अनुसार कम्पनीले सन् २०२० मा १४ अर्ब ९८ करोड रुपैयाँ र सन् २०२१ मा १४ अर्ब २ करोड रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । सन् २०२१ को तुलनामा २०२२ को सञ्चालन नाफा १० दशमलव २३ प्रतिशतले बढी हो ।
कम्पनीको कर्जा भने १५ अर्ब ८० करोड रुपैयाँ छ । केयर रेटिङ्सले कम्पनीको १ अर्ब ८८ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि डबल ए प्लस र १३ अर्ब ९२ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि ए फोर प्लस रेटिङ दिएको छ ।
सन् २००१ मा स्थापित कम्पनीको प्लान्ट पर्साको जितपुरमा छ । कम्पनीले ‘जगदम्बा’ र ‘जगशक्ति’ ब्रान्डमा स्टीलका टीएमटी बार, एमएस ब्ल्याक पाइप्स, सटर प्रोफाइल, सटर गाइड, सटर स्प्रिङ, लक प्लेटलगायत उत्पादन विक्रीवितरण गर्दै आएको छ । प्लान्टको वार्षिक उत्पादन क्षमता ९ लाख २० हजार ६ सय टन छ । कम्पनी सञ्चालकमा अनिलकुमार रुंगटा र विशाल पटवारी छन् ।