काठमाडौं । जगदम्बा इन्टरप्राइज लिमिटेडले एक वर्षमा १५ अर्बभन्दा बढी सञ्चालन नाफा गरेको छ । रेटिङ कम्पनी केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले वित्तीय वर्ष सन् २०२२ मा १५ अर्ब ४६ करोड रुपैयाँ सञ्चालन नाफा गरेको हो ।
केयर रेटिङ्सका अनुसार कम्पनीले वित्तीय वर्ष सन् २०२० मा १४ अर्ब ९८ करोड रुपैयाँ र सन् २०२१ मा १४ अर्ब २ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । वित्तिय वर्ष सन् २०२१ को तुलनामा सन् २०२२ मा कम्पनीको सञ्चालन नाफा १० दशमलव २३ प्रतिशतले बढेको हो ।
कम्पनीको कर्जा भने १५ अर्ब ८० करोड रुपैयाँ छ । केयर रेटिङ्सले कम्पनीको १ अर्ब ८८ करोड रुपैयाँको दीर्घकालीन कर्जाको लागि डबल ए प्लस र १३ अर्ब ९२ करोड रुपैयाँको अल्पकालीन कर्जाको लागि ए फोर प्लस रेटिङ दिएको छ ।
सन् २००१ मा स्थापित कम्पनीको प्लान्ट पर्साको जितपुरमा छ । कम्पनीले ‘जगदम्बा’ र ‘जग शक्ती’ ब्राण्डमा स्टिलका टीएमटी बार, एमएस ब्लैक पाइप्स, शटर प्रोफाइल, शटर गाइड, शटर स्प्रिंग, लक प्लेट लगायतका उत्पादनहरू विक्री वितरण गर्दै आएको छ । प्लान्टको वार्षिक उत्पादन क्षमता ९ लाख २० हजार ६ सय टन छ ।
कम्पनीको सञ्चालकमा अनिल कुमार रुंगटा र विशाल पटवारी छन् ।