‘ट्रेनिङ फ्लाइट’का रुपमा भैरहवा अवतरण गर्दै हिमालय एयरलाइन्सको जहाज

८ भदौ, काठमाडौं । पाइलटहरुको ‘ट्रेनिङ फ्लाइट’का रुपमा हिमालय एयरलाइन्सको जहाज बिहीबार पहिलो पटक भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ । त्रिभुवन विमानस्थलको बिहीबारको तालिकाअनुसार अपरान्ह ४ बजे भैरहवाबाट आएको जहाज ट्रान्जिट उडानका रुपमा अवतरण गर्नेछ । भैरहवा विमानस्थलका प्रमुख गोविन्द दाहालका अनुसार काठमाडौंबाट पाइलटहरु मात्र बोकेको हिमालयको जहाज भैरहवामा अवतरण गरी काठमाडौं […]

सम्बन्धित सामग्री

गौतमबुद्ध विमानस्थल : अन्तरराष्ट्रिय उडान बन्द हुँदा किस्ता तिर्न समस्या

काठमाडौं । बुद्ध जयन्तीको अवसर पारेर जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल (जीबीआईए)मा अहिले अन्तरराष्ट्रिय उडान बन्द छ । भैरहवास्थित उक्त विमानस्थलबाट अन्तरराष्ट्रिय उडान गर्दै आएका हिमालय एयरलाइन्स र जजिरा एयरलाइन्सले १ महीनादेखि उडान बन्द गरेका छन् । ७ महीना सञ्चालन भएको यो विमानस्थलबाट मङ्सिर २९ गतेबाट हिमालय र पुस ६ गतेबाट जजिराले उडान बन्द गरेका हुन् । त्यसयता उक्त विमानस्थलमा अन्तरराष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थल कार्यालयका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । ‘आन्तरिक उडानबाट वार्षिक ३५ करोड रुपैयाँसम्म आम्दानी हुन्छ,’ दाहालले भने, ‘यसले सामान्य खर्च व्यवस्थापन भए पनि विदेशी ऋणको साँवा/ब्याज तिर्न गाह्रो हुने देखिन्छ ।’ उनका अनुसार अहिले साँवा र ब्याज गरेर वार्षिक ४० करोड रुपैयाँ किस्ता तिर्नुपर्छ । ऋण संरचनाअनुसार यो विमानस्थलमा लिइएको ऋणको साँवाब्याज ६/६ महीनामा भुक्तानी गर्नुपर्छ, जसअनुसार यो विमानस्थलले अन्तरराष्ट्रिय उडानबाट मात्रै आम्दानी गरेर मासिक ३ करोड ३३ लाख रुपैयाँ भुक्तानी गर्नु पर्ने देखिन्छ । विमानस्थल सञ्चालनमा आएको पहिलो वर्ष दैनिक एउटा अन्तरराष्ट्रिय उडान हुने प्रक्षेपण गरिएको उनको भनाइ छ । यो विमानस्थलमा एशियाली विकास बैंक (एडीबी), ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्ट (ओएफएफआईडी)सहितका विकास साझेदार संस्थाको लगानी छ । तराईका विमानस्थलमा हिउँदको समयमा मौसम प्रतिकूल हुँदा बिहानपखको उडानमा ढिलाइ हुने समस्या पुरानै भए पनि यो विमानस्थलमा मौसमकै कारण उडान/अवतरणमा समस्या नहुने अर्थात् कम भिजिबिलिटीमा पनि अवतरण गर्न सक्ने प्रविधि जडान गरिएको छ । कम भिजिबिलिटी (८०० देखि ९०० मीटर)मा पनि जहाज अवतरण हुन सक्ने आईएलएफ (इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम) प्रविधि जडान भए पनि सुचारु हुन भने सकेको छैन । विमानस्थल सञ्चालनमा आएको ७ महीना र अहिले बन्द भएको १ महीना गरी ८ महीना हुँदासम्म भारतले आईएलएफ सुचारु गर्ने अनुमति नदिएको दाहालको भनाइ छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार मुलुकका विमानस्थलहरूमा जहाज अवतरण हुनका लागि भिजिबिलिटी १६ सय मीटर र २ हजार मीटरसम्म हुनुपर्छ । २ खाले इन्जिन भएका जहाज अवतरणका लागि छुट्टाछुट्टै भिजिबिलिटी हुनुपर्छ । जेट इन्जिन भएका विमानका लागि भिजिबिलिटी २ हजार मीटर आवश्यक हुन्छ । प्रोपेलर इन्जिन भएका विमानका लागि भने १६ सय मीटर भिजिबिलिटी चाहिन्छ । दाहालका अनुसार मौसम प्रतिकूलता र यात्रु कम हुँदा विमानस्थलमा अन्तरराष्ट्रिय उडान हुन नसकेको हो । गौतमबुद्धबाट मलेशियाको क्वालालम्पुरसम्म चार्टर्ड उडान गर्दै आएको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने यात्रु नै नहुँदा अन्तरराष्ट्रिय उडान बन्द गरिएको बताए । यात्रु पर्याप्त भएमा उडानमा समस्या नभएको उनको भनाइ छ । विमानस्थल सञ्चालनमा आएसँगै श्रम कार्यालय, वैदेशिक रोजगार विभाग, स्वास्थ्य जाँचजस्ता एकाइहरू पूर्णरूपमा सञ्चालन नहुँदा यात्रुहरू काठमाडौं गएर पुनः गौतमबुद्धमा आउनुपर्ने बाध्यता रहेको दाहालको भनाइ छ । ‘मुख्य समस्या अहिले भिसा सेन्टर, मेनपावर, स्वास्थ्य परीक्षणको हो,’ दाहालले भने, ‘यो आन्तरिक समस्या भयो, अर्को प्रमुख पक्ष भनेको हवाई रूटकै हो ।’ सीधा हवाई रूट उपलब्ध नहुँदा सिमरा पुगेर गौतमबुद्ध विमानस्थलमा जहाज आउँदा काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलभन्दा १५ मिनेट टाढा पर्छ ।’ यसैगरी भारतीय नागरिकहरूले सीधा यो विमानस्थलमा आएर अहिले पनि उडान गर्न पाउँदैनन् । भारत सरकारले आफ्ना नागरिकलाई यो विमानस्थलबाट अन्य विदेशी गन्तव्यमा जानका लागि चाहिने अनुमति नो अब्जेक्शन सर्टिफिकेट (एनओसी) दिएको छैन, जसले गर्दा भारतीय यात्रु यो विमानस्थलबाट उडान गर्न नमिल्ने उनको भनाइ छ । पश्चिम नेपालबाट विदेश यात्रा गर्ने तथा वैदेशिक रोजगारीका लागि जाने यात्रु पनि यहाँबाट बाहिर नजाँदा र सीमावर्ती क्षेत्रका भारतीय यात्रुले यो विमानस्थल प्रयोग गर्न नमिलेपछि यात्रु संख्या कम भएको उल्लेख गरिएको छ । उक्त विमानस्थलबाट अन्तरराष्ट्रिय उडान भएयता नोभेम्बर अर्थात् मध्य मङ्सिरसम्ममा २५ हजार ४८१ जना यात्रुले सेवा लिएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार २ सय १९ पटक जहाज उडान/अवतरण (फ्लाइट मुभमेन्ट) हुँदा ती यात्रुले सेवा लिएका हुन् । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पनि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल तराईमा पर्ने र मौसम खराबीकै कारण उडान बन्द भएको बताए । यद्यपि फेब्रुअरी २ देखि जजिराले उडान सञ्चालन गर्ने उनको भनाइ छ । यस्तै मार्च सकिएपछि ‘समर सेड्युल’ लागू हुने भन्दै उनले यो सेड्युलमा नेपाल वायुसेवा निगमसहित हिमालय, कतार एयरवेज, फ्लाई दुबईले उडान गर्ने विश्वास व्यक्त गरे ।

भैरहवाबाट हिमालयले थाल्यो चार्टड उडान

निजी क्षेत्रको हवाइसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेको छ । कम्पनीले हाललाई गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा दैनिक व्यावसायिक चार्टड उडान थालेको हो । बिहीबार मलेसियाको क्वालालम्पुरबाट भैरहवा अवतरण भएको हिमालयको पी–३२० जहाज बिहीबारै पुनः क्वालालम्पुर फर्किएको हो । आज १३५ जना यात्रु बोकेर हिमालयको जहाज गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट क्वालालम्पुर उडेको हो । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले दैनिक चार्टड उडानलाई परीक्षणको रुपमा लिइएको र यो सफल भएपछि दैनिक तालिका बनाएरै उडान गर्ने बताएका छन् । ग्राउन्ड ह्यान्डन्लिङ दिने भए भैरहवाबाट उडान गर्ने बताउँदै आएको हिमालय एयरलाइन्सले चार्टड उडान सुरु गर्नुलाई अर्थपूर्ण मानिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पनि भैरहवा एयरपोर्टको ग्राउन्ड ह्यान्डलिङ निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनीलाई दिन सकिने संकेत गरिसकेका छन् । स्रोतले पनि हिमालय एयरलाइन्सले भैरहवा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी पाउने र सोही सर्तमा उसले उडान थालेको बताएको छ ।