भरतपुरको सिटीहल र छ लेन सडकको प्रधानमन्त्रीले शिलान्यास गर्ने

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली माघ १७ गते चितवन आउनुहुने भएको छ । भरतपुरमा दुई वटा विकास आयोजननाको शिलान्यास र जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली यहाँ आउन लाग्नुभएको हो । नेकपा चितवनले आइतबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको कार्यक्रमबारे जानकारी दिएको छ । पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला पार्टी कार्यालय संयोजक पार्वती रावलले भरतपुरमा निर्माण हुन लागेको सिटी हलको शिलान्यास प्रधानमन्त्रीबाट हुने जानकारी दिनुभयो । यसैगरी पूर्वपश्चिम राजमार्गअन्तर्गतको पुल्चोक–गोन्द्राङ छ लेन सडक विस्तारको शुभारम्भ पनि प्रधानमन्त्रीले गर्नुहुनेछ । उहाँका अनुसार यी दुई कार्यक्रम सम्बन्धित मन्त्रालयको समन्वयमा हुन लागेका हुन् । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापतिसमेत रहनुभएका रावलका अनुसार उक्त कार्यक्रमपछि भरतपुरमा जनसभाको आयोजना गरिएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा मध्याह्न १२ः१५ बजे हुने जनसभालाई प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु साहलगायतका नेतो सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित सामग्री

शिलान्यास र सभाका लागि प्रधानमन्त्री चितवन आउँदै, महानगर र नेकपा चितवनको विरोध

प्रधानमन्त्री केपी ओली चितवन आएर महानगरीय सिटीहल र पुलचोक–गोन्द्राङ ६ लेन सडक शिलान्यास गर्ने विषयको भरतपुर महानगरपालिका र प्रचण्ड–माधव पक्षीय नेकपा चितवनले विरोध गरेका छन् । दुई छुट्टाछुट्टै कार्यक्रम गर्दै...

भरतपुरमा सिटीहल र छ लेन सडक निर्माणले गति लिँदै

चितवनको भरतपुरमा दुईवटा परियोजनाको कामले गति लिएको छ । जिल्लाको विकास निर्माणमा महत्वपूर्ण योगदान राख्ने अन्तर्राष्ट्रियस्तरका सिटी हल र नारायणगढ गोन्द्राङ छ लेनको सडक निर्माण कार्य तीब्र रुपमा भएको छ । यी दुई वटा परियोजना जिल्लाको विकास निर्माणको हिसाबले धेरै महत्वपूर्ण अर्थको हिसाबले हेरिएको छ । भरतपुर महानगरपालिका वडा नं. १० स्थित जिल्ला समन्वय समितिको कार्यालय पछाडि अन्तर्राष्ट्रियस्तरको नमुना मोडेलमा निर्माण गर्न धमाधम काम भइराखेको हो । चार बिघा चार कठ्ठा जग्गामा धमाधम सिटी हल निर्माणको काम भइरहेको निर्माण कम्पनीका इन्जिनियर प्रविण गुरागाईंले जानकारी दिनुभयो । निर्माण अन्र्तगत अहिले जमिनमुनिको काम भइराखेको छ । २७ महिनामा निर्माण सम्पन्न गर्नेगरी ८७ करोड ८८ लाख रुपैयाँको लागतमा ठेकेदार कम्पनीसँग सम्झौता भएको हो । ठेकेदार कम्पनी इण्डो–सगुन–रौताहा जेभीले २४ घण्टा निर्माणको काम गरिरहेको छ । छहजार पाँचसय वर्गमिटर सिटी हलले ओगट्छ । सिटी हलको उचाई २५ मिटरको हुनेछ । केन्द्र सरकारको ८७ करोड ८८ लाख रुपैयाँ लागतमा भरतपुरमा सिटी हल निर्माणको काम थालिएको हो । सात हजार एकसय क्युफिटमा मुख्य सभा हल निर्माण हुनेछ । सिटी हलमा दुई हजारको क्षमता हुनेछ । छेउछाउँमा पनि दुईजना अट्ने क्षमताको हल बन्नेछ । यस्तै पार्किङको व्यवस्था र सौन्दर्यताको लागि फाउन्टेनपार्क पनि निर्माण गरिनेछ ।