सिन्धुपाल्चोक । काठमाडौंवासीका लागि खानेपानी लैजाने मेलम्ची आयोजनाको दोस्रो खण्ड याङ्ग्री–लार्केको काम रोकिएको छ ।
याङ्ग्री र लार्के खोलाबाट दैनिक १७/१७ करोड लिटर पानी राजधानी लैजाने योजनाका साथ शुरू गरिएको मेलम्ची खानेपानीको दोस्रो चरणका काम बीचमै रोकिएको हो । खोनपानी विकास समितिले गरेको प्रतिबद्धता कार्यान्वयन नगर्दा स्थानीय प्रभावितले काम बीचमै रोकेका हुन् ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका विभिन्न वडा प्रभावित हुनेगरी पानी लैजाने सरुङसम्म पुग्ने गरी सडक निर्माण भइरहेको थियो । खानेपानी विकास समितिले स्थानीय बासिन्दाको समस्या समाधान नगरेकै कारण अहिले काम रोकिएको हो । यसअघि खानेपानी विकास समितिले याङ्ग्री र लार्के खोलाबाट पानी ल्याउन सडकमा पर्ने जग्गाधनीलाई मुआब्जा दिएको थियो ।
खानेपानीले सहमति गरेबमोजिम क्षतिपूर्ति दिन आलटाल गरेकै कारण स्थानीयमा कामममा अवरोध गरेका हुन् । ठेकेदारले स्काभेटरलगायत साधन ल्याएर काम गर्न शुरू गर्दा स्थानीयले रोकेका छन् । ‘हाम्रो माग सम्बोधन नभई काम सुचारु हुनेछैन,’ स्थानीय बासिन्दाको एउटै आवाज छ ।
‘सडक खन्नेक्रममा क्षति भएका बालीहरूको क्षतिपूर्ति दिन्छु भनेर आलटाल गरेकाले काम बीचमै रोकेका हौं,’ पाँचपोखरी थाङ्पाल गाउँपालिका–६ धापका पीडित दिल वाइवाले भने, ‘स्थानीय बासिन्दाको बालीहरू धेरै पुरिएको छ ।’ उनले धान, मकै कोदो, अलैंचीसहित रूखबिरुवामा क्षति पुगेको जानकारी दिए ।
यो योजना पाँचपोखरी गाउँपालिकाको विभिन्न वडावासी प्रभवित हुनेछन् । अहिले करीब २ सय घर धुरीले निर्माण कार्य अवरुद्ध गरेका हुन् । ‘अरू वडामा पनि निकै समस्या छ, हाम्रोमा मात्रै करीब २ सय घरधुरीलाई आयोजनाले झुक्याइरहेको छ,’ उनले भने, ‘आयोजनाले कहिले दशैं, कहिले तिहार त कहिले अरू नै चाडपर्वको भाका राखेर हामीलाई अलमलाइरहेको छ ।’
आयोजनले सडक निर्माण गर्ने क्रममा पहिला भएका खुड्किलालगायत सामाजिक संरचना भत्काएको छ । त्यसलाई बनाउनेतर्फ पनि आयोजनाले आलटाल गरिरहेको अर्का पीडित शिशिर वाइबा बताउँछन् । ‘गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहितले प्रतिबद्धता कार्यान्वयनका लागि मेलम्ची खानेपानीमा पटकपटक झक्झकाइरहनुभएको छ,’ उनी भन्छन्, ‘तर, खानेपानी निकै अटेर भएर बेवास्ता गरिरहेको छ ।’ मेलम्ची खानेपानी आयोजनाले सिन्धुपाल्चोकको पाँचपोखारी थाङ्पाल गाउँपालिकाका विभिन्न वडाहरूमा प्रस्तावित आयोजना क्षेत्रभित्र पर्ने ३ सय ७६ कित्ता जग्गा र उक्त जग्गामा पर्ने बोट विरूवा, बालीनाली, गोठ टहराको मुआब्जा दिने बताएको थियो । अहिले क्षतिको विवरण संकलन भइरहेकाले काम विस्तारै हुने र स्थानीयले क्षतिअनुसारको मुआब्जा पाउने आयोजनाले बताएको छ ।
आयोजनाको सुरुङ प्रवेश मार्ग, हेडवक्र्स, क्याम्सपाइसट, माटो थुपार्ने ठाउँलगायत लागि जग्गा अधिग्रहणसमेत भइसकेको छ । यो योजना पूरा भए मेलम्चीबाट अहिले ल्याउन लागिएको पानी तेब्बर क्षमतामा विस्तार हुनेछ । मेलम्चीको पानीमा अरू दुई खोलाको पानी पनि मिसाउने गरी मेलम्ची– २ को डीपीआर तयार गरिएको थियो । याङ्ग्री र लार्केबाट दैनिक ३४ करोड लिटर पानी लैजाने तयारी छ ।