काठमाडौं । जर्मन प्रिमियम कार ब्राण्ड बीएमडब्लूले ‘आईएक्स–३’ मोडल नेपालमा सार्वजनिक गरेको छ । नेपालमा पेट्रोलबाट चल्ने मोडल एक्स–३ को सफलतापछि लक्ष्मी प्रिमियम मोटर्सले प्योर इलेक्ट्रिक मोडल आईएक्स–३ नेपाल ल्याएको बताइएको छ । बीएमडब्लूको स्पोर्टस् एक्टिभिटी भेहिकल (एसएभी) आईएक्स–३ विश्व बजारमा कम्पनीको सर्वाधिक विक्री हुने मोडल रहेको कम्पनीको दाबी छ ।
प्रिमियम फिचर, सुरक्षामा अब्बल र उत्कृष्ट रेन्ज आईएक्स–३ को बलियो पक्ष रहेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यसमा ८० किलोवाट पावर क्षमताको लिथियम आयोन ब्याट्री, २१० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर जडित छ । कम्पनीले यसमा ५.० इ–ड्राइभ टेक्नोलोजी प्रयोग गरेको छ । यसको अधिकतम पावर २८५ पिएस र टर्क ४०० न्यूटन मिटर रहेको बताइएको छ ।
यसमा रहेको ८० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४६० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीको परीक्षणले प्रमाणित गरेको बताइएको छ । उक्त ब्याट्रीलाई १५० किलोवाट क्षमताको डिसी चार्जरले ३४ मिनेटमा शून्यबाट ८० प्रतिशत चार्ज गर्ने क्षमता राख्ने कम्पनीको दाबी छ ।