चैत २८, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बेरुजु फस्र्यौटमा उत्कृष्टता हासिल हुनेगरी मिहिनेत गर्न नेपाल सरकारका सबै निकायलाई आह्वान गरेका छन् ।
गृहमन्त्री खाँणले बेरुजु फस्र्यौटमा गम्भिर हुन र सबै आय/ व्ययलाई दुरुस्त गर्न पनि सम्बन्धित सबै निकायलाई सचेत पनि गराएका छन् । सशष्त्र प्रहरी बल, नेपालका महानिरीक्षक शैलेन्द्र खनालको विदाईमा सोमवार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पूँजीगत खर्च गर्न नसकेर बजेटनै ल्याप्स हुने अवस्था आउन नदिन पनि सबै सरकारी निकायलाई आग्रह गरे ।
उनले पूँजीगत खर्चको व्यवस्थापन गर्दै जनतालाई प्रतिफल दिनेगरी विकास, निर्माणको काममा तीव्रता दिन जरुरी रहेको पनि बताए ।
गृहमन्त्री खाँणले भने, ‘नेपाल सरकारका समग्र विभागहरुलाई बेरुजु फस्र्यौटमा गम्भिर हुन, बजेटलाई नियमसम्मत रुपमा खर्च गर्न र हरहिसाव दुरुस्त राख्नका साथै बेरुजु फस्र्यौटमा उत्कृष्टता हासिल गर्न मिहिनेत गर्नुस् भनेर आह्वान गर्न चाहन्छु । हामी कहाँ बजेट बनाउँदाखेरी पहिलो त्यो घाटाको बजेट बनाएकै हुन्छौं । चालू खर्च चाँही बढेर जान्छ ।’
उनले पूँजीगत खर्च चाँही गर्न नसकिएको भन्दै त्यसमाथि झन बेरुजु आएर अर्को वर्ष त्यसको निरन्तरतामा पनि कठिनाई आउँछ, त्यसकारण पूँजीगत खर्चतर्फ पनि जिम्मेवार हुन जरुरी रहेको बताए ।