जिल्लाभरि एकसाथ सञ्चालन गरिएकाे शिविरमा ४९ हजार पशुकाे उपचार भएको छ । पशुवस्तुमा सम्भावित रोगहरू लाग्ने समय सुरु हुँदा उक्त रोगबाट बचाउनका लागि ठूलो सङ्ख्यामा पशुहरूको उपचार गरिएको हो ।
हुम्लाका छ वटा गाउँपालिकामा सुरु गरिएको पशु स्वास्थ्य शिविरको क्रममा ठूलो सङ्ख्यामा पशुहरूको उपचार भएको पशु अस्पताल तथा पशुसेवा सेवा कार्यालयका सूचना अधिकारी कृष्ण रोकायाले बताउनुभयो । शिविरमा पशुलाई लाग्ने रोगहरू विशेष गरी पीपीआर, रेबिज, एफडी, एचएसबीको चेकजाँच तथा उपचार गरिएको उहाँले बताउनुभयो । शिविरका क्रममा अदानचुलीमा सात हजार, चङ्खेलीमा १२ हजार, खार्पुनाथमा सात हजार तीन सय, ताँजाकोटमा सात हजार, सिमकोटमा छ हजार र सर्केगार्डमा १० हजार गरी ४९ हजार तीन सय पशुको उपचार गरिएको केन्द्रले जनाएको छ ।