कोरोना भाइरस संक्रमणको उच्च जोखिम भैरहवा क्षेत्रमा देखिएको छ । जिल्लाका अन्य क्षेत्रमा भन्दा यहाँ बढी जोखिम देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोरोना भाइरस न्यूनीकरणका फोकल पर्सन केदार नाथ शाहका अनुसार पहिले भन्दा अहिले भैरहवा क्षेत्र मात्रै नभई पूरै रुपन्देही जिल्लामा कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको बताए ।
शाहका अनुसार रुपन्देही जिल्लामा संक्रमितको संख्या ३४७ पुगेको छ । तीमध्ये ३१४ जना उपचारपछि पूर्णरुपमा निको भएर घर फर्किसकेका छन् भने अझै पनि ३२ जना उपचारका क्रममा छन् । अहिलेसम्म रुपन्देहीमा १ जनाको कोरोना भाइरस संक्रमणले मृत्यु भएको छ ।
लकडाउन हटेसँगै रुपन्देहीमा अहिले पहिलाभन्दा बढी चहल पहल बढेको छ । भीडभाड बढेको छ । बैंक वित्तीय संस्था, हाटबजार, सडक जताततै भीड छ, तर कसैले पनि स्वास्थ्य सचेतना अपनाएको, सामाजिक तथा भौतिक दूरी कायम गरेको देखिँदैन, यसले गर्दा अझ जोखिम बढेको छ ।