दराज सिंगापुरले नेपालमा १ अर्ब ६५ करोड लगानी गर्दै, कम्प्युटर सफ्टवेयर र अनलाइन विज्ञापनमा काम गर्ने

दराज सिंगापुरले नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा १ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । दराज सिंगापुर प्रा.लि.(सिंगापुर) नामबाट नेपालमा कम्प्युटर सफ्टेवयर डेभलपमेन्ट, वेब डिजाइनिङ र अनलाइन विज्ञापन उद्योग सञ्चालन गर्न उक्त लगानी स्वीकृत गराएको छ । यो नेपालको सूचना प्रविधि क्षेत्रको लागि ठूलो विदेशी लगानी हुनेछ ।  उसले स्वीकृति गराएको लगानी...

सम्बन्धित सामग्री

अभियान टिप्स : साइबर सुरक्षा : ‘अ म्यान–इन–द–मिडल अट्याक’ हुनबाट यसरी बचौं

काठमाडौं। पछिलो समय साइबर अपराधीले नयाँ नयाँ उपाय लगाउँदै व्यक्ति तथा संस्थाका गोप्य सूचना चुहाउने वा गलत प्रयोग गर्ने गरेका छन् । यसैअन्तर्गत साइबर अपराधीले अरूको सूचना हात पार्न गर्नसक्ने एउटा प्रयास हो– अ म्यान–इन–द–मिडल अट्याक । अ म्यान–इन–द–मिडल अट्याकमा सेन्डर (प्रेषक) तथा रिसिभर (प्रापक)को बीचमा तेस्रो पक्ष (ह्याकर)ले प्रवेश गरी पासवर्ड, पिनकोड लगायत महत्त्वपूर्ण जानकारी लिने र त्यसलाई आफू अनुकूल परिवर्तन गरेर रिसिभरलाई पठाइदिने गर्छन् । साथै रिसिभरबाट प्राप्त भएको सन्देशलाई पनि आफू अनुकूल परिवर्तन गरी पठाइदिने गर्छन् । अर्थात् ह्याकरले बीचका सबै म्यासेज प्राप्त गरी आफ्नो अनुकूल बनाएर दुरुपयोग गर्दछन् । म्यान–इन–द–मिडल अट्याक दुई चरणमा हुन्छन् । पहिलो चरणमा साइबर अपराधीले म्यान–इन–द–मिडल अट्याकका लागि इन्टरनेट ट्राफिकमा पहुँच प्राप्त गर्छ, जसलाई इन्टरसेप्सन भनिन्छ । यो कार्य पूरा गर्न साइबर अपराधीले आइपी स्पुफिङ, एआरपी स्पुफिङ, डीएनएस स्पुफिङ आदि तरीका अपनाउँछ । त्यस्तै दोस्रो चरणमा साइबर अपराधी इन्टरसेप्सन पूरा गर्न सफल भएपछि उक्त इन्टरसेप्टेड ट्राफिकलाई दोस्रो चरणमा एसटीटीपीएस स्पुफिङ, एसएसएल हाइज्याकिङ, एसएसएल स्ट्रिपिङ लगायत विधि प्रयोग गरी ट्राफिकको ओरिजिनल कन्टेन्ट प्राप्त गर्दछ । म्यान–इन–द–मिडल अट्याकबाट कसरी बच्ने ? म्यान–इन–द–मिडल अट्याकबाट बच्न निम्न उपाय अपनाउन नेपाल दूरसञ्चार प्राधिकरणको साइबर सेक्युरिटी टास्कफोर्सले सुझाव दिएको छ ।  आफ्नो डेटा सुरक्षितसाथ स्थानान्तरण गर्न सुरक्षित च्यानलमार्फत इन्क्रप्ट गरी पठाउने ।  आफ्नो कम्प्युटर/ल्यापटप/मोबाइल तथा नेटवर्कमा फायरवाल/आइपीएस/आईडिएसको प्रयोग गर्ने ।  असुरक्षित सार्वजनिक वाइफाइको प्रयोग नगर्ने ।   घरको वाइफाइमा समेत डब्लुपीए २/३ को मोडमा प्रयोग गर्ने । साथै डब्लुपीएस डिसेवल गरेर राख्ने ।  ब्राउजरमा फोर्स टीएलटी (स्वत: रूपमा एचटीटीपीएस प्रयोग हुने गरी) प्लगइनको प्रयोग गरेर मात्र अनलाइन कारोबार गर्ने ।  सुरक्षित इमेलका लागि एसएसएल/टीएलएस/पीजीपी/जीपीजी इन्क्रप्सनको सेटिङ राखी प्रयोग गर्ने ।  एचटीटीपीएस वा लक आइकनसहित यूआरएल भएको वेबसाइटको प्रयोग गर्ने ।  आफ्नो सफ्टवेयर (अपरेटिङ सिस्टम, एप्लिकेसन सफ्टवेयर, ब्राउजर) निरन्तर अपडेट गर्ने ।  आफ्नो कम्प्युटर/ल्यापटप/मोबाइल उपकरणमा मालवेयरको क्रियाकलाप अथवा मालिसियस एक्टिभिटिज हुन नदिन रिपुटेड एन्टीभाइरस प्रयोग गर्ने ।  असुरक्षित सफ्टवेयर, एप्स, फ्रिवेयर डाउनलोड नगर्ने । साथै अनइन्क्रप्टेड/प्लेन टेक्स्ट म्यासेज गर्न एप्सको प्रयोग नगर्ने ।  इमेलबाट आफ्नो पासवर्ड, ओटिटिपी, बैंक एकाउण्ट नम्बर, पिनकोड जस्ता विवरण नपठाउने ।

न्यू बिजनेश एजको २२औं वार्षिकोत्सव विशेष: प्रविधिको बहुआयामिक योगदान

काठमाडौं । प्रविधिको क्षेत्रमा भइरहेको परिवर्तनसँगै उद्योग व्यवसायले आफूलाई त्यहीअनुरूप ढाल्दै लगेका छन् । औद्योगिक प्रतिष्ठान एवं व्यावसायिक घरानाहरूले उत्पादन प्रक्रिया, विक्रीवितरणको शैली, सञ्चार सम्पर्कलगायत कार्यपद्धतिसँग सम्बद्ध सबै कुरामा व्यापक परिवर्तन ल्याइसकेका छन् । मानिसको सट्टा मेशिन, उपकरणको प्रयोगले वस्तुको उत्पादन लागत घटाएको छ । मानिसले दशौं दिन वा महीनौं लगाएर गर्ने कामलाई प्रविधि प्रयोगबाट केही घण्टा वा दिनभरिमा गर्न सकिने भएको छ ।  साथै मेशिनबाट उत्पादन गर्दा मान्छेबाट जस्तो त्रुटिको सम्भावना पनि नरहने व्यवसायी बताउँछन् । मेशिनलाई जुनसुकै बेला पनि चलाउन र उत्पादन लिन सकिने हुँदा आवश्यक समयमा त्यसबाट उत्पादन लिन र अन्य समयमा बन्द राख्न सकिने सुविधा हुन्छ । मान्छेको प्रयोग गर्दा हुने चोटपटक दुर्घटना वा बिरामी र खर्च यन्त्र उपकरणको प्रयोगमा बेहोर्नु पर्दैन । उत्पादन लागत कटौतीदेखि, माग सर्वेक्षण, प्रचारप्रसार, व्यावसायिक मिटिङ/बैठक, डकुमेन्टेशन, ज्ञान आर्जन, भुक्तानीलगायत व्यवसायका सबैजसो आयाममा प्रविधिले सहजता र प्रभावकारिता थपेको छ । प्रविधिको प्रयोग अहिले कृषि, खानी, पोशाक उत्पादन गर्नेलगायत सबै उद्योग, कच्चा पदार्थ उत्पादन, संकलन, ढुवानीदेखि तिनलाई उपभोक्तासम्म पुर्‍याउनेसम्मको काममा भइरहेको छ । व्यवसायीका अनुसार आधुनिक प्रविधिको प्रयोगबाट उत्पादन लागत घट्न गएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यका अनुसार औद्योगिक क्षेत्रमा प्रविधिको विकासले धेरै राम्रो परिणाम दिइरहेको छ । लागत घट्न गएको छ । उत्पादन पनि बढेको छ । ‘तर, हामीकहाँ नयाँ नयाँ प्रविधिको प्रयोग गर्न जान्ने दक्ष जनशक्तिको अभाव खड्किरहेको स्थिति छ,’ उनले भने ।  विक्रीवितरण र बजारीकरणको कार्यमा पनि प्रविधि प्रयोग व्यापकरूपमा बढेको देखिन्छ । पहिलेको जस्तो विभिन्न ठाउँमा गएर/घुमेर माग संकलन गर्ने स्थिति अहिले छैन । न त सबै उपभोक्ताको पायक पर्ने ठाउँमा पसल राख्ने र त्यहीँबाट विक्रीवितरण गर्ने अवस्था नै छ । अचेल अनलाइनमार्फत माग संकलन हुन्छ । उद्योगहरूले डिमान्ड हेरेर सोहीअनुसार वस्तु ढुवानी गरिरहेका हुन्छन् । यसरी विक्रीवितरण गर्दा थोरै मान्छेबाट पनि काम सम्पन्न गर्न सकिन्छ । प्रविधिको यस किसिमको प्रयोगले एकातिर जनशक्तिको थोरै प्रयोग भइरहेको हुन्छ भने अर्कोतर्फ समयको बचत पनि भइरहेको छ ।  उद्योग व्यवसायको सञ्चार सम्पर्क स्थापित गर्ने तरीका पनि फेरिएको छ । पहिले व्यवसाय विस्तारको लागि भेटघाट वा पत्राचारबाट सम्पर्क गर्नुपर्ने स्थिति थियो । अहिले त्यसमा व्यापक परिवर्तन आएको छ । टेलिफोनको प्रयोग अलि पहिलेदेखि नै भइरहे पनि अहिले सबैका हातमा पुगेका स्मार्टफोनले सञ्चार सम्पर्कलाई निकै सहज र सरल बनाइदिएका छन् । वाइफाईको विस्तार एवं मोबाइल डेटाबाट फेसबुक, ह्वाट्सएप, इमेलको प्रयोग बढेको छ । अहिले धेरैजसो व्यावसायिक क्षेत्रमा यिनै माध्यमबाट सञ्चार सम्पर्क स्थापित भइरहेको छ । यस किसिमले छोटो समयमै सम्पर्क स्थापित गर्न सकिने माध्यमले उद्योग व्यवसायको प्रभावकारी सञ्चालनमा योगदान गरिरहेका छन् । नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे सूचनाप्रविधिमा भएको विकासले अपरेशन प्रक्रियामा सुधार ल्याएको बताउँछन् । ‘अहिले सञ्चारमाध्यममा धेरै प्रगति भएको छ, जसको लाभ व्यावसायिक जगत्लाई भएको छ । नयाँ नयाँ सफ्टवेयर विकासले सहजता प्रदान गरेको छ । डिजिटल वालेटको प्रयोग पनि बढ्दो क्रममा छ,’ उनले भने । प्रविधिको विकास र विस्तारसँगै व्यावसायिक ज्ञान आर्जन गर्नको लागि किताब पढ्नैपर्ने वा भौतिक रूपमा कुनै ठाउँमा सहभागी भएर कक्षा लिनुपर्ने अवस्था पनि अहिले छैन । युट्युब, अनलाइन वा गूगल गरेर धैरै कुरा पत्ता लगाउन सकिन्छ । यी सञ्जालमा व्यवसाय सञ्चालनसम्बन्धी ज्ञान प्रशस्त मात्रामा उपलब्ध छ । आफूलाई आवश्यक परेको विषयमा जुनसुकै बेला ज्ञान आर्जन गर्न सकिन्छ । यसरी प्राप्त गर्न सकिने नयाँनयाँ ज्ञानले व्यवसायको विस्तार एवं उद्योगको सुसञ्चालनमा मद्दत पुग्न गएको छ । कक्षाकोठामै सहभागिता जनाउन पनि जुम सजिलो माध्यमको रूपमा देखिएको छ । जुममार्फत भौतिक रूपमै उपस्थितिको आभास हुने र समयको बचत हुने गर्छ । विभिन्न समयमा व्यावसायिक साझेदारहरू, वित्तीय लगानीकर्ता वा ग्राहक वर्गसँग हुने मिटिङ पनि जुमकै माध्यमबाट गर्न सकिन्छ । यसबाट समयको साथै पैसाको पनि बचत भएको छ । प्रविधिको विकासले बैंकिङ क्षेत्रमा अवलम्बन भएको अनलाइन पेमेन्ट सिस्टमले व्यवसायीलाई कारोबारमा सहजता देखिएको छ । व्यावसायिक गतिविधि सञ्चालनका लागि पैसा बोकेर जाँदा हुने जोखिमबाट उनीहरू जोगिएका देखिन्छन् । यसले चेकको कारोबारमा पनि उल्लेख्य मात्रामा कमी ल्याइदिएको छ ।  औद्योगिक एवं व्यावसायिक संस्थाको कार्यालय व्यवस्थापनका लागि कागजमा डकुमेन्टेशन गर्ने परिपाटीको लगभग अन्त्य भएको छ । कम्प्युटर र ल्यापटपमा अहिले सबै कुराको डकुमेन्टेसन भइरहेको छ । यसबाट स्थानको बचत हुनुका साथै चाहिएको बेला जुनसुकै ठाउँमा पनि सजिलैसँग डकुमेन्टेशन भएका कुराहरू एवं तथ्य, तथ्यांक हेर्न सकिने सुविधा छ ।  अहिले आफ्नो उत्पादनको बजार माग केकस्तो छ भन्ने कुरा व्यवसायीले सामाजिक सञ्जालबाटै पत्ता लगाइरहेका छन् । उनीहरूले कुन वस्तुको माग बजारमा बढी छ र आफ्नो उत्पादनमा केकस्ता सुधारको खाँचो छ भन्ने कुरा बुझ्न पनि प्रविधिकै प्रयोग गरिरहेका छन् । प्रविधिको व्यापक प्रयोगले विभिन्न ठाउँमा घुमेर, क्रेतासँगको प्रत्यक्ष सम्पर्कद्वारा वा विभिन्न एजेन्सीमार्फत माग पत्ता लगाउने तरीका उल्लेख्य रूपमा घटेको छ । प्रविधि प्रयोग गरेर बजारको अवस्था बुझ्न सम्भव भएपछि एकातिर पैसा बचत भएको छ भने अर्कोतिर छोटो समयमै बजार अवस्थाको ज्ञान प्राप्त हुँदा आवश्यक सुधार गरी बजार सृजना गर्न र बचाइ राख्न टेवा पुगेको देखिन्छ ।  अहिले प्रचारप्रसारको शैलीमा पनि व्यापक परिवर्तन आएको छ । पहिले ठाउँठाउँमा विभिन्न किसिमका कार्यक्रम गरेर, माइकिङ गरेर, सडक र टोलटोलमा पर्चा पम्पलेट राखेर प्रचारप्रसार गर्ने गरिन्थ्यो । त्यस्तै प्रचारप्रसारका लागि पत्रपत्रिका, रेडियो र टेलिभिजन मात्र प्रयोग हुने गरेकोमा अहिले अवस्था फेरिएको छ । परम्परागत रूपमा गरिने प्रचारशैलीमा उल्लेख्य कमी आएको छ । सामाजिक सञ्जालहरू प्रचारप्रसारका लागि व्यापक रूपमा प्रयोग हुने गरेका छन् । यसको अतिरिक्त अनलाइन न्युजपोर्टल र टेलिभिजनको प्रयोग पनि निकै ठूलो मात्रामा भइरहेको छ । बजारमा ठाउँठाउँमा डिजिटल बोर्डबाट पनि प्रचारप्रसार भइरहेको देख्न सकिन्छ । प्रचारप्रसारको लागि श्रव्य–दृश्य माध्यमका साथै सबैले सबै ठाउँमा लग्न मिल्ने र देख्न सकिने माध्यम प्रयोग गर्दा प्रभावकारिता बढेको व्यवसायी बताउँछन् । समग्रमा हेर्दा नयाँ अर्थतन्त्रको स्वरूपमा प्रविधिले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । प्रविधि प्रयोगबाट उद्योग व्यवसाय उल्लेख्य मात्रामा फस्टाउनुका साथै सञ्चालन सजिलो भएको छ । जनशक्तिको ठाउँ प्रविधिले लिँदा र समय बचत हुँदा लागत घट्न गई पैसाको पनि बचत भएको छ । वस्तुको उत्पादन र बजारीकरणको प्रक्रिया छिटो सम्पन्न भइरहेको छ । गुणस्तरमा पनि प्रविधि प्रयोगले सुधार आइरहेको व्यवसायी बताउँछन् । यी सबै किसिमका प्रविधिको सकारात्मक प्रभावले छोटो समय र कम लागतमा बढी मुनाफा आर्जन गर्ने स्थिति बनेको छ ।  प्रविधिको जुन गतिमा विकास भइरहेको छ, यसबाट आगामी दिनमा औद्योगिक एवं व्यावसायिक क्षेत्रले थप फाइदा लिन सक्ने देखिन्छ । त्यसबाट उद्योग व्यवसाय सञ्चालन सजिलो हुनुका साथै व्यवसायको विकासमा पनि टेवा पुग्नेछ । व्यवसायीले प्रविधि कि जनशक्ति भन्ने कुराको छनोट तुलनात्मक अध्ययनको आधारमा गर्ने नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष लोकमान्य गोल्छा बताउँछन् । ‘प्रविधिको प्रयोग गरेर परम्परागत तरीकाभन्दा सस्तोमा उत्पादन लिन सकिन्छ । त्यही भएर यसको प्रयोग बढेको हो । आगामी दिनमा यो अझै विस्तार भएर जाने देखिन्छ,’ उपाध्यक्ष गोल्छाले भने । विदेशका कतिपय ठाउँमा जस्तै नेपालमा पनि रोबोट प्रयोगमा आउन सक्ने अवस्था निर्माण हुँदै गएको व्यवसायी बताउँछन् ।

न्यू बिजनेश एज २१औं वार्षिकोत्सव विशेष : धितोपत्र बजारमा सूचना र सूचनाप्रविधि

एकाइसौं शताब्दिमा जीवन र जगतका लागि सूचना र प्रविधिलाई कसैले नकार्न सक्दैन । जीविका, आर्जन वा समृद्धिको शर्त सूचना र सूचनामा पहुँच हो । सबैभन्दा द्रुत, भरपर्दो र सुरक्षित प्रविधिमा लगानी गरेर अग्रगतिमा सही सूचनामा पहुँच र नियन्त्रण, उपयोग गर्न सफल नागरिक र देश नै समृद्ध देखिएका छन् । नेपाल सूचना प्रविधिको उपयोगमा अग्रसर भए तापनि यसमा लगानी, नियमन र नियन्त्रण निकै कमजोर छ । दूरसञ्चार र बैंकिङलाई छोड्ने हो भने प्रविधि नेपालीका लागि ‘परको विधि’ नै हो । धितोपत्र बजारले पनि प्रविधिलाई नीतिगत प्राथमिकता र प्रयोगलाई प्रोत्साहन दिएको छ । अभौतिकीकरण र लगत अभिलेखीकरण, कारोबार, राफसाफ, लागत गणना र प्रमाणीकरणका लागि प्रविधि प्रयोगमा ल्याइएको छ । तर, ती अपूर्ण हुँदा सरोकारवाला प्रचलित अनलाइन कारोबार प्रणालीका व्यावहारिक समस्या भोग्न बाध्य छन् । सूचनाको महत्त्व, स्रोत र कानूनी प्रावधान सूचनाको महत्त्व  धितोपत्रको अंकित मूल्य नै आधिकारिक मूल्य हो र दोस्रो बजारमा कम्पनीको शेयरको मूल्य व्यवसाय, मुनाफा, शाख, शेयरको माग तथा आपूर्तिजस्ता सूचनाबापतको थप प्रिमियम हो । यथार्थ र पर्याप्त सूचना प्राप्त गर्नेले नै धितोपत्रको बजार मूल्य डोर्‍याउन वा मूल्यान्तर कायम गर्न, पूँजीगत लाभ प्राप्त गर्न, लगानी व्यवस्थापन र उच्चतम प्रतिफल प्राप्त गर्न सक्छ । लगानी र कारोबार निर्णयमा कम्पनीको सूचनाको अहम् भूमिका रहन्छ । अझ भित्री सूचना त अमूल्य नै हुन्छ । लगानीकर्ताले प्राप्त सूचनालाई आफ्नो जोखिम वहन क्षमताअनुसार विश्लेषण गर्दै किनबेच र लगानी निर्णय गर्नुपर्छ । तर, नेपालमा यथार्थ सूचना त परको कुरा, सूचना पाउनै गाह्रो छ । पाइने सूचना पनि सहजै नबुझिने, अपर्याप्त, अविश्वसनीय र अन्योलपूर्ण हुन्छन् । अझ प्राय: लगानीकर्ता सूचनाको महत्त्व नै बुझ्दैनन् भने बुझेकाको पनि सूचनामा पहुँच र विश्लेषण क्षमता कमजोर हुँदा लहलहैमा लगानी तथा कारोबार निर्णय गर्दै क्षमताभन्दा धेरै जोखिम लिन बाध्य छन् । सूचनाको स्रोत र पहुँच कम्पनीको वित्तीय तथा आधारभूत सूचनाको आधिकारिक स्रोत सम्बद्ध कम्पनी नै हो । तर, सबैको कम्पनीसँग सोझो सम्पर्क नहुने अवस्थामा कम्पनीहरूले त्रैमासिक, वार्षिक वा कानूनी प्रावधानबमोजिम सार्वजनिक गर्ने जानकारी तथा विवरण नै लगानीकर्ताका लागि निर्विकल्प सूचनाका आधार हुन् । कतिपय कम्पनीको वेबसाइटमार्फत थप सूचना प्राप्त गर्न सकिन्छ । विश्वको व्यावहारिक अनुभव हेर्ने हो भने वस्तु तथा सेवाको उत्पादन र वितरणका लागि समयसँगै लागत कम गर्ने माध्यम प्रविधि बनेका छन् । नेपालको पूँजीबजारका सन्दर्भमा प्रविधि सहज र छिटो कार्य सम्पन्न गर्ने माध्यम त बन्यो तर लागत मितव्ययी हुन नसकेको अनुभव लगानीकर्ताको छ ।     यस्तै, पूँजीबजारको अवस्था, कारोबार, पूँजीकरण, बजारको इन्डेक्सजस्ता बजारसँग सम्बद्ध सूचनाको आधिकारिक निकाय नेपाल स्टक एक्सचेन्ज हो भने धितोपत्र निष्कासन तथा नियमनसम्बन्धी सूचनाका लागि नेपाल धितोपत्र बोर्डबाट सूचना पाउन सकिन्छ । नेपाल राष्ट्र बैंक, बीमा समिति र विद्युत् नियमन आयोगबाट सम्बद्ध क्षेत्रको सञ्चालन र नियमनसम्बन्धी आधिकारिक सूचना प्राप्त गर्न सकिन्छ । यसका अतिरिक्त अन्य सरोकारवाला निकाय र म्युचुअल फन्ड सञ्चालकहरूले पनि आधिकारिक सूचना प्रवाह गर्छन् । अनलाइन पत्रिका, सामाजिक सञ्जाल, सूचनामा पहुँच भएका र अनुभवी व्यक्ति र केही छलफल समूहहरू अनौपचारिक सूचनाका स्रोत हुन सक्छन् । तर, अनौपचारिक सूचनाको विश्वसनीयता, जिम्मेवारी र शुद्धता सदैव शंकास्पद रहन्छ । कम्पनीहरूले कानूनत: बाध्यात्मक सूचनाबाहेक व्यावसायिक अवस्था, भविष्यको योजना र वित्तीय अवस्थाको यथार्थ सूचना प्रवाह गर्ने प्रचलन छैन । प्रकाशित विवरण समेत अपूर्ण, त्रुटिपूर्ण र द्वैअर्थी हुन्छन् । उनीहरू यर्थाथ र पर्याप्त सूचना प्रवाहको जिम्मेवारी लिनै चाहन्नन् । कानूनी आधार पूरा गर्न सूचना अधिकारी राख्ने, तोकिएको सूचना र विवरण प्रकाशित त गर्ने गर्छन् । तर, त्यसलाई लगानीकर्तासम्म पुर्‍याउने ठोस पहल गर्दैनन् । कानूनले सूचना प्रवाह र पहुँचको कुरा गरे पनि व्यवस्थित सूचना संकलन र भण्डारण, अनुगमन, विश्लेषण र नियमनको अभावमा लगानीकर्ताका लागि सूचनामा पहुँच र शुद्धता निकै पेचिलो छ । सूचनामा पहुँच प्राप्त व्यक्तिले पनि आफ्नो स्वार्थ सूचनाको दुरुपयोग गरेर शेयरको माग र पूर्ति वा मूल्य प्रभावित गर्दै कारोबार, लगानी व्यवस्थापन आम बनेको छ । शेयरबजार, सरोकारवाला, ऐन–कानून, कम्पनीगत सूचना एकीकृत रूपमा उपलब्ध र भण्डारण गर्ने आधिकारिक संस्था र त्यसमा सहज पहुँचको व्यवस्था हुनुपर्छ, जसले अनौपचारिक माध्यममार्फत सूचना प्राप्त गर्नुपर्ने बाध्यता हटाउने छ । यस्तै सूचीकृत कम्पनीहरूले अनिवार्य रूपमा वेबसाइट सञ्चालन र नियमित अपडेट गर्नैपर्ने, स्थानीय, राष्ट्रिय र अनलाइन सञ्चारमाध्यममार्फत यथेष्ट सूचना प्रवाहको व्यवस्था मिलाइनुपर्छ । हुन त हकप्रद, एफपीओ, लीलामीका सन्दर्भमा सूचना प्रवाहमा केही सुधार भएका छन् । तर, यसमा अझै सुधार हुनु आवश्यक छ । शुद्ध र यथार्थपरक सूचना प्रवाह गर्नु कम्पनीको जिम्मेवारी हो भने त्यसको आवश्यक परीक्षण र जाँचबुझ कम्पनीका सम्बद्ध अधिकारी र नियामकको कर्तव्य हो । यस्तै आम जनमानसमा सूचना प्रवाह गर्नुअगाडि त्यसको यथार्थता र शुद्धता परीक्षण गर्नु आम सञ्चारमाध्यमको समेत जिम्मेवारी रहन जान्छ । सूचनाको बजारमा हाल सबै सरोकारवाला वा सूचनाका विक्रेताहरू तीव्र सूचना विक्री गर्ने होडबाजीमा सूचनाको शुद्धताप्रतिको जिम्मेवारी भुलिरहेका छन् । नेपाल स्टक एक्सचेन्ज वा नेपाल धितोपत्र बोर्डको वेबसाइटमा प्रकाशित सूचनामा समेत जिम्मेवारी नलिने परम्परा छ । अझ आजकल सामाजिक सञ्जाल र अनलाइन पत्रिकाहरूमा प्रकाशित सूचनाको गुणस्तर यति कमजोर पाइन्छ, जसबाट लगानीकर्ता लगानीसम्बन्धी गलत निर्णय गर्न र दिग्भ्रमित हुन पुग्छन् । कानूनी प्रावधान धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को परिच्छेद ७ मा सूचना, जानकारी तथा विवरणसम्बन्धी व्यवस्था गरिएको छ । यसअनुसार सूचीकृत कम्पनीहरूले त्रैमासिक अवधि सकिएको ३० दिनभित्र अनुसूची १४ मा उल्लिखित विवरण त्रैमासिक अवधिको वासलात, नाफा–नोक्सानसम्बन्धी विवरण, न्यूनतम रूपमा प्रमुख वित्तीय अनुपातहरू, जस्तै प्रतिशेयर आम्दानी, मूल्य आम्दानी अनुपात, प्रतिशेयर नेटवर्थ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य, तरलता अनुपातसहितको वित्तीय विवरण बोर्डसमक्ष पेश गर्नु र राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने छ । त्रैमासिक विवरणमा व्यवस्थापकीय विश्लेषण, कानूनी कारबाहीसम्बन्धी विवरण, संगठित संस्थाको शेयर कारोबारसम्बन्धी विश्लेषण, समस्या तथा चुनौती, संस्थागत सुशासन र सत्य तथ्यता सम्बन्धमा अध्यक्ष/कार्यकारी प्रमुखले उद्घोषण गर्नुपर्छ ।  आर्थिक वर्ष सकिएको ५ महीनाभित्र अनुसूची १५ बमोजिम सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, लेखापरीक्षण भएको वित्तीय विवरण, कानूनी कारबाहीसम्बन्धी विवरण, संगठित संस्थाको शेयर कारोबारसम्बन्धी विश्लेषण, समस्या तथा चुनौती, संस्थागत सुशासनसहितको वार्षिक प्रतिवेदन बोर्डसमक्ष पेश गर्नुपर्ने छ । साधारणसभा गर्नुपूर्व सभामा छलफल हुने विषयको जानकारी दिनु र सभा सम्पन्न भएको ३० दिनभित्र पेश भएको प्रस्ताव, छलफल भएका विषय तथा निर्णयको विवरण बोर्डमा पेश गर्नुपर्छ ।  सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने अनुसूची १६ मा उल्लिखित २५ ओटा विशेष घटना वा परिस्थितिसम्बन्धी कुनै घटना वा कारोबार भएमा ३ दिनभित्र बोर्डमा सोको सूचना दिनुपर्नेछ । यस्तै, उपनियम ३ मा वित्तीय विवरण, ६ र ७ मा सूचनाको माग तथा आपूर्तिसम्बन्धी थप व्यवस्था गरिएको छ । सूचना प्रवाहलाई व्यवस्थित र जिम्मेवार बनाउन धितोपत्रसम्बन्धी ऐन, २०६३ को परिच्छेद ९ मा धितोपत्रको भित्री कारोबार र धितोपत्र कारोबारसम्बन्धी कसुर तथा दण्डसजायको व्यवस्था गरेको छ । यसको दफा ९१ देखि १०० मा भित्री कारोबार, भित्री कारोबारमा संलग्न हुन सक्ने व्यक्ति, सूचना वा जानकारी सार्वजनिक गरेको मानिने, भूmटो कारोबार, मूल्यमा उतारचढाव, धितोपत्र बजारलाई प्रभावित पारेमा, झुक्याउने विवरण दिने, जालसाजीयुक्त कारोबार, जालसाजी गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गर्न नहुने, लिखत, विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमा सम्बन्धी कानूनी व्यवस्था छ । दफा १०१ मा अनुसार भूmटो कारोबार, मूल्यमा उतारचढाव, र धितोपत्र बजारलाई प्रभावित गरेमा ५० हजारदेखि १ लाख ५० हजारसम्म जरीवाना वा १ वर्ष कैद वा दुवै हुन सक्ने व्यवस्था छ । यस्तै झुक्याउने विवरण दिने, जालसाजीयुक्त कारोबार, लिखत वा विवरण लुकाएमा वा नष्ट गरेमा १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरीवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । यसका साथै कसैले नियतवश वा कानूनविपरीत कार्य गरी कुनै संगठित संस्था, धितोपत्र बजार, धितोपत्र व्यवसायी वा लगानीकर्तालाई हानिनोक्सानी गरे/गराएमा बोर्डले त्यस्तो व्यक्तिलाई ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरीवाना गर्न सक्नेछ र वास्तविक हानिनोक्सानीको क्षतिपूर्तिसमेत भराइदिन सक्ने देखिन्छ । उल्लिखित कानूनी व्यवस्था हुँदाहुँदै पनि सूचनामा विशेष पहुँच (भित्री सूचना) तथा गलत सूचनाका आधारमा मूल्य र कारोबार प्रभावित पार्ने कार्यको नियमन, नियन्त्रण र कारबाही नरोकिनु दुर्भाग्य हो । सूचना प्रविधिको प्रयोग, महत्त्व, जोखिम पूँजीबजारमा प्रविधि नवीनतम सूचना प्रविधिको उपयोग सन्दर्भमा नेपाली पूँजीबजारलाई शिशु अवस्था मान्न सकिन्छ । विक्रम संवत् १९९४ मै शेयर जारी भए पनि २०४१ बाट मात्रै सूचीकृत धितोपत्र खुला बोलकबोल (ओपन आउट क्राई) बाट कारोबार तथा कागजागतका आधारमा राफसाफ फछ्र्योट हुँदै आएकोमा २०६४ बाट बल्ल कम्प्युटरकृत कारोबार प्रणाली शुरू भयो । सोही वर्ष वाइड एरिया नेटवर्कमार्फत कारोबार शुरू गरी वेबसाइटमार्फत कारोबारको विवरण प्रत्यक्ष हेर्न सकिने व्यवस्था गरियो । त्यसको ७ वर्षपछि २०७१ बाट धितोपत्रको अभौतिकीकरण र स्वैच्छिक कारोबार गर्दै २०७२ देखि पूर्ण अभौतिक धितोपत्रको मात्र कारोबार भइरहेको नेपाली पूँजीबजारमा २०७३ देखि एप्लिकेसन सपोर्टेड बाई ब्लक्ड एमाउन्ट (आस्बा) र २०७४ मा परिष्कृत सी–आस्बाको थालनीसँगै सार्वजनिक निष्कासन (आईपीओ), हकप्रद र थप सार्वजनिक निष्कासन (एफपीओ) मा प्रविधिले निकै सहजता प्रदान गरेको छ । यस्तै, २०७५ कात्तिक २० गते उद्घाटन भई सन् २०१९ जनवरी १ (२०७५ पुस १७) गतेबाट अनलाइन कारोबार प्रणाली व्यावहारिक प्रयोगमा ल्याइएको छ । २०७६ साउन १ गतेबाट अपनाइएको भारित औसत गणना प्रणालीलाई प्रविधिमा आधारित बनाउँदै २०७६ कात्तिकदेखि लागत गणना र प्रमाणीकरणका लागि सफ्टवेयर प्रयोगमा ल्याइएको छ । पूर्ण स्वचालित भनिएको प्रणालीबाट किनबेचको आदेश सहजै प्रवृष्टि गर्न सकिए तापनि राफसाफका लागि बैंकिङ र सीडीएसको प्रणालीमा कुदाउँछ । नियमित कारोबारको लागत गणना त गर्छ, तर कर लाग्ने र नलाग्ने समेत छुटाउँदैन र लाभकर छूटको स्वघोषणा र जोखिम बोकाउँछ । अझ कर छूट लाभ र नोक्सानीको हिसाबकिताबै राख्दैन । यसको मतलब विद्यमान प्रणाली कारोबार, राफसाफ र लागत–लाभ गणना अनि अभिलेखनका लागि पर्याप्त छैन । प्रविधिसँगै बढ्दो लागत विश्वको व्यावहारिक अनुभव हेर्ने हो भने वस्तु तथा सेवाको उत्पादन र वितरणका लागि समयसँगै लागत कम गर्ने माध्यम प्रविधि बनेका छन् । नेपालको पूँजीबजारका सन्दर्भमा प्रविधि सहज र छिटो कार्य सम्पन्न गर्ने माध्यम त बन्यो तर लागत मितव्ययी हुन नसकेको अनुभव लगानीकर्ताले गरिरहेका छन् ।  अभौतिक शेयरको कारोबार गर्ने प्रविधिको उदयसँगै डिम्याट खाता खोल्न र वार्षिक नवीकरण शुल्क तिर्न बाध्य लगानीकर्ता शेयर नामसारीका लागि विगतको रू. ५ को सट्टा रू. २५ तिर्न बाध्य भए । डीपीमार्फत डिम्याट खातामा नि:शुल्क अनलाइन पहुँच पाइरहेका लगानीकर्ताहरू सीडीएसले विकास गरेको स:शुल्क ‘मेरो शेयर’को लगइन लिन बाध्य छन् । यसका साथै अनिवार्य बैंक खाता, चेक वा अनलाइन भुक्तानी, बैंक खाताबाट मात्र लाभांशको भुक्तानीजस्ता प्रविधिगत सेवाको उदयसँगै लगानीकर्ता बैंक खाता सञ्चालन र अनलाइन एक्सेस, चेक क्लियरिङ र आईपीएसका लागि थप शुल्क तिर्न बाध्य छन् । सरसर्ती हेर्दा एकजना लगानीकर्ताले (क) डिम्याट खाता खोल्दा रू. १५० सँगै वार्षिक नवीकरण शुल्क रू. १००, (ख) मेरो शेयरको लगइनका लागि वार्षिक रू. ५०, (ग) शून्य मौज्दातको बैंकमा खाता खोल्दा पनि अनलाइन एक्सेस लिन वार्षिक रू. २०० हाराहारी, (ग) प्रत्येक कारोबारको भुक्तानी लिँदा र दिँदाको क्लियरिङ वा कनेक्ट आईपीएस शुल्क, र (घ) लाभांश प्राप्ति, शेयर नपरेको पैसा फिर्ता हुँदा आईपीएस शुल्क तिर्नुपरेको छ । पूर्ण अनलाइन बनाउने नाममा आईपीएसलाई शेयर कारोबार प्रणालीको अंग बनाएर प्रत्येक कारोबारमा समेत आईपीएस शुल्क तिर्न बाध्य बनाइएको छ । हो, प्रविधिले गर्दा शेयर आवेदन, लाभांश प्राप्ति, किनबेच धितोपत्रको हस्तान्तरण र रकम लेनदेन सहज भएको छ, तर प्रविधिको नाममा अनेक शुल्क तिर्न बाध्य लगानीकर्ताका लागि प्रविधि आर्थिक बोझ बनेको छ । प्रविधिले लगानीकर्तासँगै बजार सञ्चालक, डिपोजिटरी र क्लियरिङ, शेयर दलाल, डीपी सेवाप्रदायक र नियामक सबैलाई सहज भएको छ । तर, यसको सम्पूर्ण आर्थिक भार आफूमा सारिएको अनुभूति लगानीकर्ताले गरिरहेका छन् । प्रविधिसँगै जोखिम नेपालजस्तो प्रविधिको आयात र उपभोगमा सीमित मुलुकलाई प्रविधि वरदान मात्र होइन, जोखिम पनि हुन्छ । हार्डवेयर, सफ्टवेयर, सञ्चारमाध्यम र प्रविधि, स्याटेलाइट सबै अरूको भर पर्नुपर्ने अवस्थामा प्रविधिको माध्यमबाट सूचनामा अनधिकृत पहुँच र दुरुपयोगलाई नकार्न सकिँदैन । जतिसुकै सुरक्षित र त्रुटिरहित प्रविधि भए पनि व्यक्तिगत र व्यावसायिक स्वार्थका कारण यो जोखिमपूर्ण हुन्छ । अझ कम्प्युटर र सफ्टवेयरमा हुने न्यून लगानी, छलछाम र सुरक्षामा गरिने सम्झौताले थप जोखिम सृजना गरिरहेको हुन्छ । हुन त भर्खर प्रविधितर्फ वामे सर्दै गरेको नेपाली पूँजीबजारमा प्रविधिगत क्षति र जोखिमबारे खास प्रश्न उठेको वा उठाइएको छैन । अनलाइन कारोबार, सफ्टवेयरबाट लागत गणना, विद्युतीय माध्यमबाट राफसाफसँगै थप सुरक्षित र भरपर्दो प्रविधिगत सेवाको आशा गरेका लगानीकर्ता अर्धस्वचालित कारोबार प्रणाली, कारोबार सञ्चालन र व्यवस्थापनमा स्वार्थ बाझिने तेस्रो पक्षको सहभागिता, जिम्मेवार निकायबाटै प्रविधिगत पहुँचको दुरुपयोग, सफ्टवेयरबाट लागत गणनामा व्यावहारिक त्रुटिले कारोबार र करको जोखिमका साथै लगानीकर्ताको व्यक्तिगत सूचना र सम्पत्तिमा अनधिकृत पहुँच र दुरुपयोगको सम्भावना बढाएको छ ।  नेप्से, सीडीएससी, दलाल र लगानीकर्ताको विद्यमान प्राविधिक शीप र क्षमता, भौतिक पूर्वाधार, सुरक्षित सूचना प्रवाह र भण्डारण (डाटा सेन्टर), कारोबार प्रणाली र राफसाफमा बहुपक्षीय संलग्नता, डाटा संकलन, सुरक्षा, प्रयोग र भण्डारणको जिम्मेवारी सहितको कानून अभावले प्रविधिगत जोखिम बढाएको छ । जतिसुकै नवीनतम प्रविधि भए पनि त्यसमा मानवीय संलग्नताका कारण विश्वसनीयता मुख्य मुद्दा हुने बिर्सनु हुँदैन । अन्त्यमा, पूँजीबजारलाई प्रविधिमैत्री बनाउँदै गर्दा (क) लागतको सन्तुलित बाँडफाँट, (ख) बजारमा सबै प्रकारका लगानीकर्ताको सहज पहुँचको सुनिश्चितता, (ग) नयाँ प्रविधिमा पहुँच, ज्ञान र शीप नभएका लगानीकर्ताको क्षमता विकाससँगै उपयुक्त विकल्प, (घ) सुरक्षित कारोबारसँगै तथ्यांकमा अनधिकृत पहुँच र दुरुपयोग नहुने सुनिश्चितता गरिनुपर्छ ।

सुदूरपहाडी जिल्लामा सञ्चालनमा आएनन् सुपथ मूल्य पसल

असोज १३, बैतडी । चाडपर्वलाई लक्षित गर्दै सरकारले असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भनेपनि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हालसम्म पनि सञ्चालनमा आउन सकेका छैनन् । प्रदेशअन्तर्गत कैलालीको धनगढी र अत्तरियामा मात्रै सुपथ मूल्य पसल सञ्चालनमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय धनगढीले जानकारी दिएको छ । ती स्थानमा यही असोज २ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा आएको कार्यालय प्रमुख तथा नायव कार्यकारी अधिकृत केशवप्रसाद पाण्डेले जानकारी दिए । विगतका वर्षमा दशैँतिहार, छठसहितका चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिमका ७ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुँदै आएको थियो । कैलालीको धनगढीमा रहेको अञ्चल कार्यालय, अत्तरिया, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर, बेलौरी, डोटीको दिपायल, डडेल्धुरा र बैतडीको पाटनमा दशैँतिहार तथा छठलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको थियो ।  पहाडी जिल्लामा तत्काल सुपथमूल्य पसल सञ्चालन गर्ने सम्भावना नरहेको उनको भनाइ छ । आन्तरिक राजस्व कार्यालयले अनलाइन बिलिङ काटेर मात्रै सामग्री विक्री गर्न भन्ने गरेको र सबै ठाउँमा जनशक्ति, कम्प्युटर, सफ्टवेयर र इन्टरनेटलगायत सुविधा नभएकाले अन्य स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न नसकिने बताइएको छ । उनले भने, ‘अनलाइन बिलिङ काट्नुपर्ने अवस्था छ, हामीसँग जनशक्ति नहुँदा पहाडी जिल्लामा त्यो सम्भव छैन ।’ पहाडी जिल्लामा सुपथ मूल्य पसल सञ्चालनका लागि सम्बन्धित पालिकाले चाँसो देखाउनुपर्ने उनले बताए । ‘कुनै स्थानीय तहले सुपथ मूल्य पसल सञ्चालन गर्छु भनेर आउँछ भने हामीले खाद्यान्न सामग्री उपलब्ध गराउँछौ, हामी आफैंले सञ्चानल गर्न सम्भव छैन ।’ पालिकाहरुले सुपथ मूल्य पसल सञ्चालन गर्नका लागि जिल्ला प्रशासन कार्यालयबाट सिफारिस मागेर कर्पोरेसनमा गयो भने सामग्री उपलब्ध गराउनेछ ।  चाडपर्वमा सुपथ मूल्य पसलबाट उपभोक्तालाई सहुलियत दरमा खाद्य सामग्री उपलब्ध गराउने उद्देश्य रहेको भए पनि सञ्चालनमा नआउँदा यस क्षेत्रका उपभोक्ता बजारबाट महँगो दरमा सामान किन्न बाध्य भएका छन् । सुपथ मूल्य पसलमा बाहिर बजारको भन्दा सहुलियत मूल्यमा चिनी, नून, चामल, दाल, साबुन, तेल, चिउरालगायतका अन्य खाद्य सामग्री किन्न पाइन्छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अगामी कात्तिक २४ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी दिइको छ । यसैबीच कैलालीको अत्तरिया र धनगढीमा सञ्चालनमा रहेका सुपथ मूल्य पसलमा पनि चिनीको अभाव रहेको प्रमुख पाण्डेले बताए  ।  उनले भने, ‘माथिबाटै चिनी आएको छैन, हाम्रो केन्द्रीय कार्यालयमै चिनीको अभाव छ, त्यसैले चिनीबाहेकका अन्य खाद्य सामग्री विक्री गरिरहेका छौं ।’ रासस

डिजी स्कुलले बनायो स्कुल म्यानेजमेन्ट सफ्टवेयर, यस्तो छ विशेषता

काठमाडौं : डिजी स्कुल ग्लोबलले विद्यालयका सम्पुर्ण गतिविधिलाई अनलाइन माध्यमबाट व्यवस्थित गरि स्मार्ट स्कुलको अवधारणामा 'स्कुल म्यानेजमेन्ट सफ्टवेयर' तयार गरेको छ। बेलायतको एनसिसि एजुकेसनले स्कुले विद्यार्थीका लागी तयार गरेको कम्प्युटर पाठ्यक्रम 'डिजी स्कुल'लाई नेपालमा प्रवर्द्धन गर्दै आएको डिजी स्कुल ग्लोबलले 'विद्यालय सपोर्ट कार्यक्रम' अन्तर्गत सफ्टवेयर तयार गरेको हो। डिजी स्कुलको