न्यू बिजनेश एजको २२औं वार्षिकोत्सव विशेष: प्रविधिको बहुआयामिक योगदान

काठमाडौं । प्रविधिको क्षेत्रमा भइरहेको परिवर्तनसँगै उद्योग व्यवसायले आफूलाई त्यहीअनुरूप ढाल्दै लगेका छन् । औद्योगिक प्रतिष्ठान एवं व्यावसायिक घरानाहरूले उत्पादन प्रक्रिया, विक्रीवितरणको शैली, सञ्चार सम्पर्कलगायत कार्यपद्धतिसँग सम्बद्ध सबै कुरामा व्यापक परिवर्तन ल्याइसकेका छन् । मानिसको सट्टा मेशिन, उपकरणको प्रयोगले वस्तुको उत्पादन लागत घटाएको छ । मानिसले दशौं दिन वा महीनौं लगाएर गर्ने कामलाई प्रविधि प्रयोगबाट केही घण्टा वा दिनभरिमा गर्न सकिने भएको छ ।  साथै मेशिनबाट उत्पादन गर्दा मान्छेबाट जस्तो त्रुटिको सम्भावना पनि नरहने व्यवसायी बताउँछन् । मेशिनलाई जुनसुकै बेला पनि चलाउन र उत्पादन लिन सकिने हुँदा आवश्यक समयमा त्यसबाट उत्पादन लिन र अन्य समयमा बन्द राख्न सकिने सुविधा हुन्छ । मान्छेको प्रयोग गर्दा हुने चोटपटक दुर्घटना वा बिरामी र खर्च यन्त्र उपकरणको प्रयोगमा बेहोर्नु पर्दैन । उत्पादन लागत कटौतीदेखि, माग सर्वेक्षण, प्रचारप्रसार, व्यावसायिक मिटिङ/बैठक, डकुमेन्टेशन, ज्ञान आर्जन, भुक्तानीलगायत व्यवसायका सबैजसो आयाममा प्रविधिले सहजता र प्रभावकारिता थपेको छ । प्रविधिको प्रयोग अहिले कृषि, खानी, पोशाक उत्पादन गर्नेलगायत सबै उद्योग, कच्चा पदार्थ उत्पादन, संकलन, ढुवानीदेखि तिनलाई उपभोक्तासम्म पुर्‍याउनेसम्मको काममा भइरहेको छ । व्यवसायीका अनुसार आधुनिक प्रविधिको प्रयोगबाट उत्पादन लागत घट्न गएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यका अनुसार औद्योगिक क्षेत्रमा प्रविधिको विकासले धेरै राम्रो परिणाम दिइरहेको छ । लागत घट्न गएको छ । उत्पादन पनि बढेको छ । ‘तर, हामीकहाँ नयाँ नयाँ प्रविधिको प्रयोग गर्न जान्ने दक्ष जनशक्तिको अभाव खड्किरहेको स्थिति छ,’ उनले भने ।  विक्रीवितरण र बजारीकरणको कार्यमा पनि प्रविधि प्रयोग व्यापकरूपमा बढेको देखिन्छ । पहिलेको जस्तो विभिन्न ठाउँमा गएर/घुमेर माग संकलन गर्ने स्थिति अहिले छैन । न त सबै उपभोक्ताको पायक पर्ने ठाउँमा पसल राख्ने र त्यहीँबाट विक्रीवितरण गर्ने अवस्था नै छ । अचेल अनलाइनमार्फत माग संकलन हुन्छ । उद्योगहरूले डिमान्ड हेरेर सोहीअनुसार वस्तु ढुवानी गरिरहेका हुन्छन् । यसरी विक्रीवितरण गर्दा थोरै मान्छेबाट पनि काम सम्पन्न गर्न सकिन्छ । प्रविधिको यस किसिमको प्रयोगले एकातिर जनशक्तिको थोरै प्रयोग भइरहेको हुन्छ भने अर्कोतर्फ समयको बचत पनि भइरहेको छ ।  उद्योग व्यवसायको सञ्चार सम्पर्क स्थापित गर्ने तरीका पनि फेरिएको छ । पहिले व्यवसाय विस्तारको लागि भेटघाट वा पत्राचारबाट सम्पर्क गर्नुपर्ने स्थिति थियो । अहिले त्यसमा व्यापक परिवर्तन आएको छ । टेलिफोनको प्रयोग अलि पहिलेदेखि नै भइरहे पनि अहिले सबैका हातमा पुगेका स्मार्टफोनले सञ्चार सम्पर्कलाई निकै सहज र सरल बनाइदिएका छन् । वाइफाईको विस्तार एवं मोबाइल डेटाबाट फेसबुक, ह्वाट्सएप, इमेलको प्रयोग बढेको छ । अहिले धेरैजसो व्यावसायिक क्षेत्रमा यिनै माध्यमबाट सञ्चार सम्पर्क स्थापित भइरहेको छ । यस किसिमले छोटो समयमै सम्पर्क स्थापित गर्न सकिने माध्यमले उद्योग व्यवसायको प्रभावकारी सञ्चालनमा योगदान गरिरहेका छन् । नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे सूचनाप्रविधिमा भएको विकासले अपरेशन प्रक्रियामा सुधार ल्याएको बताउँछन् । ‘अहिले सञ्चारमाध्यममा धेरै प्रगति भएको छ, जसको लाभ व्यावसायिक जगत्लाई भएको छ । नयाँ नयाँ सफ्टवेयर विकासले सहजता प्रदान गरेको छ । डिजिटल वालेटको प्रयोग पनि बढ्दो क्रममा छ,’ उनले भने । प्रविधिको विकास र विस्तारसँगै व्यावसायिक ज्ञान आर्जन गर्नको लागि किताब पढ्नैपर्ने वा भौतिक रूपमा कुनै ठाउँमा सहभागी भएर कक्षा लिनुपर्ने अवस्था पनि अहिले छैन । युट्युब, अनलाइन वा गूगल गरेर धैरै कुरा पत्ता लगाउन सकिन्छ । यी सञ्जालमा व्यवसाय सञ्चालनसम्बन्धी ज्ञान प्रशस्त मात्रामा उपलब्ध छ । आफूलाई आवश्यक परेको विषयमा जुनसुकै बेला ज्ञान आर्जन गर्न सकिन्छ । यसरी प्राप्त गर्न सकिने नयाँनयाँ ज्ञानले व्यवसायको विस्तार एवं उद्योगको सुसञ्चालनमा मद्दत पुग्न गएको छ । कक्षाकोठामै सहभागिता जनाउन पनि जुम सजिलो माध्यमको रूपमा देखिएको छ । जुममार्फत भौतिक रूपमै उपस्थितिको आभास हुने र समयको बचत हुने गर्छ । विभिन्न समयमा व्यावसायिक साझेदारहरू, वित्तीय लगानीकर्ता वा ग्राहक वर्गसँग हुने मिटिङ पनि जुमकै माध्यमबाट गर्न सकिन्छ । यसबाट समयको साथै पैसाको पनि बचत भएको छ । प्रविधिको विकासले बैंकिङ क्षेत्रमा अवलम्बन भएको अनलाइन पेमेन्ट सिस्टमले व्यवसायीलाई कारोबारमा सहजता देखिएको छ । व्यावसायिक गतिविधि सञ्चालनका लागि पैसा बोकेर जाँदा हुने जोखिमबाट उनीहरू जोगिएका देखिन्छन् । यसले चेकको कारोबारमा पनि उल्लेख्य मात्रामा कमी ल्याइदिएको छ ।  औद्योगिक एवं व्यावसायिक संस्थाको कार्यालय व्यवस्थापनका लागि कागजमा डकुमेन्टेशन गर्ने परिपाटीको लगभग अन्त्य भएको छ । कम्प्युटर र ल्यापटपमा अहिले सबै कुराको डकुमेन्टेसन भइरहेको छ । यसबाट स्थानको बचत हुनुका साथै चाहिएको बेला जुनसुकै ठाउँमा पनि सजिलैसँग डकुमेन्टेशन भएका कुराहरू एवं तथ्य, तथ्यांक हेर्न सकिने सुविधा छ ।  अहिले आफ्नो उत्पादनको बजार माग केकस्तो छ भन्ने कुरा व्यवसायीले सामाजिक सञ्जालबाटै पत्ता लगाइरहेका छन् । उनीहरूले कुन वस्तुको माग बजारमा बढी छ र आफ्नो उत्पादनमा केकस्ता सुधारको खाँचो छ भन्ने कुरा बुझ्न पनि प्रविधिकै प्रयोग गरिरहेका छन् । प्रविधिको व्यापक प्रयोगले विभिन्न ठाउँमा घुमेर, क्रेतासँगको प्रत्यक्ष सम्पर्कद्वारा वा विभिन्न एजेन्सीमार्फत माग पत्ता लगाउने तरीका उल्लेख्य रूपमा घटेको छ । प्रविधि प्रयोग गरेर बजारको अवस्था बुझ्न सम्भव भएपछि एकातिर पैसा बचत भएको छ भने अर्कोतिर छोटो समयमै बजार अवस्थाको ज्ञान प्राप्त हुँदा आवश्यक सुधार गरी बजार सृजना गर्न र बचाइ राख्न टेवा पुगेको देखिन्छ ।  अहिले प्रचारप्रसारको शैलीमा पनि व्यापक परिवर्तन आएको छ । पहिले ठाउँठाउँमा विभिन्न किसिमका कार्यक्रम गरेर, माइकिङ गरेर, सडक र टोलटोलमा पर्चा पम्पलेट राखेर प्रचारप्रसार गर्ने गरिन्थ्यो । त्यस्तै प्रचारप्रसारका लागि पत्रपत्रिका, रेडियो र टेलिभिजन मात्र प्रयोग हुने गरेकोमा अहिले अवस्था फेरिएको छ । परम्परागत रूपमा गरिने प्रचारशैलीमा उल्लेख्य कमी आएको छ । सामाजिक सञ्जालहरू प्रचारप्रसारका लागि व्यापक रूपमा प्रयोग हुने गरेका छन् । यसको अतिरिक्त अनलाइन न्युजपोर्टल र टेलिभिजनको प्रयोग पनि निकै ठूलो मात्रामा भइरहेको छ । बजारमा ठाउँठाउँमा डिजिटल बोर्डबाट पनि प्रचारप्रसार भइरहेको देख्न सकिन्छ । प्रचारप्रसारको लागि श्रव्य–दृश्य माध्यमका साथै सबैले सबै ठाउँमा लग्न मिल्ने र देख्न सकिने माध्यम प्रयोग गर्दा प्रभावकारिता बढेको व्यवसायी बताउँछन् । समग्रमा हेर्दा नयाँ अर्थतन्त्रको स्वरूपमा प्रविधिले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । प्रविधि प्रयोगबाट उद्योग व्यवसाय उल्लेख्य मात्रामा फस्टाउनुका साथै सञ्चालन सजिलो भएको छ । जनशक्तिको ठाउँ प्रविधिले लिँदा र समय बचत हुँदा लागत घट्न गई पैसाको पनि बचत भएको छ । वस्तुको उत्पादन र बजारीकरणको प्रक्रिया छिटो सम्पन्न भइरहेको छ । गुणस्तरमा पनि प्रविधि प्रयोगले सुधार आइरहेको व्यवसायी बताउँछन् । यी सबै किसिमका प्रविधिको सकारात्मक प्रभावले छोटो समय र कम लागतमा बढी मुनाफा आर्जन गर्ने स्थिति बनेको छ ।  प्रविधिको जुन गतिमा विकास भइरहेको छ, यसबाट आगामी दिनमा औद्योगिक एवं व्यावसायिक क्षेत्रले थप फाइदा लिन सक्ने देखिन्छ । त्यसबाट उद्योग व्यवसाय सञ्चालन सजिलो हुनुका साथै व्यवसायको विकासमा पनि टेवा पुग्नेछ । व्यवसायीले प्रविधि कि जनशक्ति भन्ने कुराको छनोट तुलनात्मक अध्ययनको आधारमा गर्ने नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष लोकमान्य गोल्छा बताउँछन् । ‘प्रविधिको प्रयोग गरेर परम्परागत तरीकाभन्दा सस्तोमा उत्पादन लिन सकिन्छ । त्यही भएर यसको प्रयोग बढेको हो । आगामी दिनमा यो अझै विस्तार भएर जाने देखिन्छ,’ उपाध्यक्ष गोल्छाले भने । विदेशका कतिपय ठाउँमा जस्तै नेपालमा पनि रोबोट प्रयोगमा आउन सक्ने अवस्था निर्माण हुँदै गएको व्यवसायी बताउँछन् ।

सम्बन्धित सामग्री

पिइएफको सोह्रौँ वार्षिकोत्सव सम्पन्न

प्रोग्रेसिभ एजुकेसनल फोरम (पिइएफ) को सोह्रौँ वार्षिकोत्सव सम्पन्न भएको छ । राष्ट्रिय नाचघरमा आयोजित भव्य कार्यक्रममार्फत फोरमले आफ्नो सोह्रौँ वार्षिकोत्सव मनाएको हो । वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठलाई अभिनन्दन गरिएको...

अलफ्ट होटलको चौंथो वार्षिकोत्सव सम्पन्न

अलफ्ट होटलले चौथो वार्षिकोत्सव सम्पन्न गरेको छ। होटलले चार वर्षको असाधारण सेवा र मनमोहक सम्झनाहरूलाई सम्झँदै आमन्त्रित पाहुना, साझेदार र संरक्षकहरू माझ भव्यताका साथ वार्षिकोत्सव मनाएको छ।...

अलफ्ट होटलको चौंथो वार्षिकोत्सव सम्पन्न

अलफ्ट होटलले चौथो वार्षिकोत्सव सम्पन्न गरेको छ। होटलले चार वर्षको असाधारण सेवा र मनमोहक सम्झनाहरूलाई सम्झँदै आमन्त्रित पाहुना, साझेदार र संरक्षकहरू माझ भव्यताका साथ वार्षिकोत्सव मनाएको छ।...

नेप्लिज मार्केटिङ एसोसिएसनको पहिलो वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेप्लिज मार्केटिङ एसोसिएसनले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ । होटल याक एण्ड यतिमा २४ डिसेम्बरमा वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै एसोसिएसनका अदक्ष्य महेश स्वरले सरकारी निकायसँग सहकार्य गरेर नेपालको बजारलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने उदेश्य रहेको बताए । कनफेडेरेसन अफ नेप्लिज इनडसट्रिज(सीएनआई), राष्ट्रिय आविस्कार केन्द्र र एस इन्स्टिच्यूट अफ म्यानेजमेन्टसँग एसोसिएसनले […]

१२ औं वार्षिकोत्सव मनाउँदै 'फूडमान्डू'

नेपालकै पहिलो र सबैभन्दा ठूलो फूड डेलिभरी कम्पनी फूडमान्डूले आफ्नो १२ औं वार्षिकोत्सव मनाउँदै छ। १२ औं वार्षिकोत्सव अवसरमा फूडमान्डूले १२ दिनका लागि विभिन्न अफरहरु ल्याएकाे छ।...

ज्योती बैंकको १४ औं वार्षिकोत्सव सम्पन्न

ज्योती विकास बैंकले स्थापनाको १४ औं वार्षिकोत्सव मनाएको छ। बैंकले सञ्चालक समितिका सदस्य, भूतपूर्व सञ्चालकहरू, कर्मचारी र ग्राहकहरूको उपस्थितिमा वार्षिकोत्सव मनाएको हो।...

जनकल्याण माविको ६९औं वार्षिकोत्सव सम्पन्न

चाबहिल महांकालस्थित जनकल्याण माध्यमिक विद्यालयको ६९औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ। वार्षिकोत्सव कार्यक्रमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गरेका हुन्। कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पौडेलले सार्वजनिक शिक्षा प्रणाली सुधारका...

सस्तो डिलको १०औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं ।  सस्तो डिलले आफ्नो १०औं वार्षिकोत्सव मनाएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले वार्षिकोत्सव समारोहको उद्घाटन गरेका थिए । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै राजदूत क्वात्राले सस्तो डिलले आफ्नो १० औं वार्षिकोत्सव मनाउन सफल भएकोमा शुभकामना बधाई दिएका थिए । कम्पनीको १० वर्षको यात्रालाई संस्थापक अमुन थापाले भिडियोमार्फत आफ्नो प्रस्तुति दिएका थिए । […]

‘सस्तो डिल’ ले आफ्नो १०औं वार्षिकोत्सव मनायो

१०औं वार्षिकोत्सव मनाएको छ। नेपालका लागि भारतका राजदुत विनय मोहन क्वात्राको प्रमुख आतिथ्यमा सस्तो डिलले आफ्नो वार्षिकोत्सव मनाएको हो।...

‘भूगोल’को दोस्रो वार्षिकोत्सव सम्पन्न

‘भूगोल साहित्य समाज’ले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ। समाजले विशेष रचना वाचन कार्यक्रम आयोजना गरेर उत्साहका साथ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो।...