काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित ल्होत्से व्यापारिक केन्द्रका पसलहरूमा भएको लुटपाटको घटनाप्रति नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । सोमवार यातायात मजदुर संगठनहरूले आन्दोलन गरेको समयमा प्रशासन र कानुनलाई ठाडो चुनौती दिँदै दिनदहाडै भएको घटनाले जनतालाई दिनुपर्ने शान्ति सुरक्षा र आफ्नो कर्तव्यमा सुरक्षा निकाय चुकेको संघको ठहर छ ।
‘शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार जो कसैलाई पनि हुन्छ, तर सोही प्रदर्शनको निहुँमा कसैको व्यक्तिगत व्यवसायमाथि तोडफोड र लुटपाट मच्चाउने अधिकार कसैलाई पनि छैन,’ संघले बुधवार विज्ञप्ति जारी गर्दैै भनेको छ । उक्त तोडफोड र लुटपाटमा पीडित व्यवसायीले लाखौंको क्षति भोग्नुपरेको संघले बताएको छ । कोभिड महामारी, चर्को बैंक ब्याजदरलगायत कारण धराशयी बन्दै गएको निजीक्षेत्र यस्ता घटनाले थप प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ । संघले तोडफोड र लुटपाटको घोर विरोध गर्दै यस्ता कार्यमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न र पीडित व्यवसायीलाई आवश्यक क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।