झापा । झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापार बढेको छ । गत आर्थिक वर्षमा उक्त नाकाबाट आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ ।
गत आर्थिक वर्षमा सो नाकाबाट हुने वैदेशिक व्यापारमा रू. ३५ अर्बभन्दा बढी घाटा रहेको भन्सार कार्यालयले बताएको छ । उक्त नाकाबाट गत आर्थिक वर्ष २०७७÷७८ मा ३५ अर्ब ८५ करोड व्यापार घाटा भएको मेची भन्सार कार्यालय, काकरभिट्टाका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार यो नाकाबाट गत आवमा रू. ४८ अर्ब ५ करोडको वस्तु आयात भएको छ भने रू. १२ अर्ब ६५ करोडको वस्तु निर्यात भएको छ । काकरभिट्टा नाकाबाट गत आवमा आयात–निर्यात दुवैतर्फ वृद्धि भएको छ ।
आव २०७६÷७७ को तुलनामा आव २०७७/७८ मा आयात रू. ९ अर्ब ६५ करोडले बढेको छ भने निर्यातमा रू. ४ अर्बको वृद्धि भएको छ । सो नाकाबाट भारत, बंगलादेश र भुटानसँगको व्यापार घाटा उच्च रहेको प्रमुख विश्वकर्माले बताए । रासस