कात्तिक ६, नयाँ दिल्ली (भारत) । भारतमा पेट्रोलियम पदार्थको भाउ शनिवार लगातार चौथो दिन पनि बढेको छ ।
शनिवार प्रतिलिटरमा ३५ पैसा भाउ बढेसँगै देशभरमा इन्धनको भाउ अहिलेसम्मकै नयाँ उचाईमा उक्लिएको छ । नयाँ दिल्लीमा पेट्रोल र डिजेलको भाउ प्रतिलिटर क्रमशः १०७ रुपया २४ पैसा र ९५ रुपैया ९७ पैसा पुगेको छ ।
मुम्बईमा भने यो दर क्रमशः ११३ रुपया १२ पैसा र १०४ रुपया पुगेको छ । कोलकत्तामा पेट्रोल प्रतिलिटर १०७ रुपया ७८ पैसा अनि डिजेल पनि प्रतिलिटर ९९ रुपया शून्य ८ पैसा कायम भएको छ । चेन्नइमा भने यो दर क्रमशः १०४ रुपया २२ पैसा र १०० रुपया २५ पैसामा उक्लिएको छ ।
देशभरका सबै मुख्य शहरमा पेट्रोलको भाउ यस अघि १०० रुपया वा सो भन्दामाथि पुगिसकेको छ । डिजेलको भाउ भने एक दर्जनभन्दा बढी राज्यमा १०० रुपयामाथि पुगेको छ ।
भारतमा पेट्रोलियम पदार्थको भाउमा यसअघि यस्तो तीव्र वृद्धि कहिल्यै देखिएको थिएन । विश्वबजारमा कच्चा तेलको भाउमा भएको वृद्धिसँगै हालैका दिनमा इन्धनको मूल्य भारतमा बढेका छन् । एजेन्सी