दाङका सामुदायिक विद्यालयहरु प्रविधिमैत्री बन्दै गइरहेका छन् । नेपाल सरकारको आईसीटी कार्यक्रमअन्तर्गत् जिल्लाका सामुदायिक विद्यालयहरु प्रविधिमैत्री बन्दै गएका हुन् ।
जिल्लाको घोराही उपमहानगरपालिका धर्नास्थित मेहन्द्र माध्यमिक विद्यालयले कक्षा १ देखि नै प्रविधिमैत्री शिक्षा सञ्चालन गरेको जनाएको छ । विद्यालयका प्रधानाध्यापक ऋषि अधिकारीले नेपाल सरकारको आईसीटी कार्यक्रमअन्तर्गत प्रविधिमैत्री शिक्षा सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । ‘हामीले कक्षा १ देखि नै प्रविधिमैत्री शिक्षालाई जोड दिँदै आएका छौं’, प्रधानाध्यापक अधिकारीले भन्नुभयो, ‘प्रविधिमैत्री शिक्षाले विद्यार्थीहरुलाई पढाइतर्फ आकर्षित बनाउनुका साथै शैक्षिक सुधारमा सहयोग पुगेको छ । विद्यार्थीहरु विद्यालयमा नियमित आउन थालेका छन् ।’