एउटा सेक्युरेटी कम्पनीमा काम गर्ने धरानका कुलबहादुर मगर गत दशैँताका कोरोना भाइरसका कारण १६ दिन थला पर्नुभयो । तीन छोराछोरी र श्रीमतीसँग डेरामा बस्दै आउनुभएका मगरले हेरचाह नपाएर झण्डै ज्यान गुमाउनुपरेको थियो । बल्लतल्ल ऋण लिएर औषधोपचार गरेर उहाँ फेरि अस्पतालका काममा जान थाल्नुभएको छ ।
धरान–१५ का नीलम श्रेष्ठ पनि केही महिनाअघि बिरामी पर्नुभयो । उहाँ पनि सेक्युरिटी कम्पनीमै काम गर्दै आउनुभएको थियो । उहाँ एक महिना काममा जान सक्नुभएन । उहाँलाई बिरामी बिदा त परै जावस्, काममा आएन भनेर कम्पनीले जागिरबाटै निकालिदियो । मजदुर सङ्गठनको भनसुनमा उहाँ काममा फर्के पनि उहाँले श्रम ऐनअनुसार पाउने बिदालगायत सेवासुविधा पाउनुभएन ।
धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिआइपी सेक्युरिटी कम्पनीले काम गर्दै आएको छ । सेक्युरेटी कम्पनीले अस्पताल प्रशासनबाट मजदूरको उपचारका लागि औषधिमूलोका लागि भनेर सरकाद्वारा विनियोजित सामाजिक सुरक्षा कोषको रकम पाए पन मगर, श्रेष्ठजस्ताले भने सेवासुविधा नपाएको गुनासो गर्दै आउनुभएको छ । ‘सामाजिक सुरक्षा कोष तपाइँका लागि’ भन्दा मगरले अचम्म मान्दै भन्नुभयो, “हो र, हामीलाई त थाहा पनि छैन । करु यो जागिर पाउन पनि एउटा मान्छेलाई दुई महिनाको तलबको रकम घुस खुवाउनुपरेको थियो ।”