चैत १८, काठमाडौं । खप्तड र बडिमालिका प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले पनि निकै महत्वपूर्ण गन्तव्यका रूपमा परिचित छन् ।
समुद्र सतहबाट ३ हजार मिटर उचाइमा खप्तड क्षेत्र छ भने, ४ हजार मिटरभन्दा धेरै उचाइमा बडिमालिका छ । यी क्षेत्रमा पुग्ने जोकोहीले छुट्टै संसारमा पुगेको अनुभूति गर्छन् ।
भदौमा हरियाली देखिने यी क्षेत्र पुस महीनापछि सेताम्मे हिउँले ढाकिन्छन् । जेठदेखि असारसम्म भने विशाल फाँटहरू रंगीचंगी फूलले ढाकिएका हुन्छन् ।
खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरू छन् । बडिमालिका मन्दिरको यात्रा भने बाटोमा केही ससाना मन्दिर र झर्नाले सजिएको छ । बडिमालिकाको दर्शन गरे मनोकाममना पुरा हुने आम जनविश्वास छ ।
काठमाडौंदेखि धनगढी ६५० किमी बसयात्रा गरेपछि खप्तडको लागि धनगढीदेखि डोटीको सिलगढीसम्म पनि ८ घण्टाको बसयात्रा गर्नुपर्छ । बडीमालिकाको लागि भने धनगढीबाट बाजुराको यात्रा गर्नुपर्छ ।
अहिले सुदूरपश्चिममा नयाँ नयाँ पर्यटकिय गन्तव्य खोजीरहेको एम्बर टूर, ट्राभल्स एण्ड ट्रेकिङ प्रालीले खप्तडको लागि न्युनतम १६ हजार र बडिमालिकाको लागि न्युनतम २५ हजार रुपैयाँका प्याकेज सार्वजनिक गरेको छ ।
सबै तस्वीरहरू : भरत जोशी/ एम्बर ट्राभल्स