काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन कायमै रहेको बताएको छ ।
बुधबार एमाले प्रदेश संसदीय दलले मुख्मन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएर आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाए लगत्तै मन्त्रीसमेत रहेका नेपाल पक्षीय नेता प्रकाश ज्वालाले सो निर्णयको अवज्ञा गर्ने बताएका छन् । नेपाल समूहको भेलामा सहभागी हुन काठमाडौं आएका कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री एवं नेपाल समूहका नेता ज्वालाले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन कायमै रहेको बताएका हुन् ।
बुधबार एमालेको ओली पक्षका सांसद एवं एमाले प्रदेश सभा संसदीय दलका नेता यामलाल कँडेलसहितका नेताहरूको बैठकले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने र पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। तर, नेपाल समूहले भने त्यसलाई पार्टीको नभइ गुटको निर्णयको संज्ञा दिएको छ।
प्रदेश सभामा एमालेका २० जना सांसद छन् । त्यसमध्ये राजबहादुर शाही सभामुख छन् । कुल ४० प्रदेश सभा सदस्य रहेको कर्णालीमा बहुमतका लागि २१ मत आवश्यक पर्छ । माओवादी केन्द्रका १३ जना सांसद छन् । शाहीलाई मुख्यमन्त्री निरन्तरताका लागि ८ मत आवश्यक पर्छ ।
एमालेका सभामुखबाहेक १९ सांसदमध्ये नेपाल पक्षमा ८ जना खुलेका छन् । यसअघि नेपाल समूहमा खुलेकी पद्मा खड्का ओली समूहमा लागिसकेकी छन् भने नेपाल समूहमै रहेका दल रावल र नन्दसिंह बुढा पछिल्लो समय दुवै पक्षका बैठकमा सहभागी भएका छैनन् । प्रदेश सरकारमा एमालेका तर्फबाट ज्वाला, रावल र बुढा मन्त्री छन् ।
ओली पक्षले बोलाएको संसदीय दलको बैठकले पाँच दिनभित्र मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिएको छ।