घट्दै छ लघुवित्तमा वित्तीय अनुशासन: लघुवित्तको मान्यताविपरीत सञ्चालन हुँदा समस्या

विसं २०३० को दशकदेखि नेपालमा प्राथमिकता क्षेत्र कर्जा तथा साना किसान विकास आयोजना कार्यक्रममार्फत विपन्न तथा गरीब परिवार लक्षित गरी वित्तीय सेवा उपलब्ध गराउन लघुवित्त सेवाको शुरुआत गरेको पाइन्छ । त्यसभन्दा अगाडि नेपालमा विपन्न र गरीबका लागि औपचारिक संस्थाबाट वित्तीय सेवा उपलब्ध गराउने प्रावधान थिएन । तत्पश्चात् नेपाल राष्ट्र बैंकको नीति निर्देशन तथा प्रत्यक्ष संलग्नतामा नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकमार्फत प्राथमिकता क्षेत्र कर्जा कार्यक्रम, सघन बंैकिङ कार्यक्रम तथा महिला विकास कार्यक्रम सञ्चालनमा आएको पाइन्छ । ग्रामीण गरीबी र विपन्नको कथाव्यथा सम्बोधन गर्न परम्परागत बैंकिङ प्रणालीबाट विपन्नवर्गलाई सेवा पुर्‍याउने उद्देश्यले सञ्चालित प्राथमिकता क्षेत्र कर्जा कार्यक्रमबाट पनि नेपालका गाउँघरको अवस्था, समुदाय तथा सेवाग्राहीको अपेक्षाअनुरूप सेवा प्रवाह हुन सकेन ।  देशमा गरीबीको दर करीब ५० प्रतिशत पुगेको अवस्थामा ग्रामीण विपन्न, बेरोजगार, सुकुमबासी निरक्षर र धितोविहीन गरीबहरूका लागि छुट्टै विधि र प्रक्रियाबाट वित्तीय सेवा प्रदान गर्नुपर्ने र त्यसको लागि छुट्टै वित्तीय संस्था र छुट्टै प्रक्रिया प्रविधिको आवश्यकता महसूस भइरहेको थियो । सचेतनाको अभावमा परम्परागत बैंकिङ सेवाको पहुँचबाट टाढै रहेर अनौपचारिक क्षेत्रका वित्तीय मध्यस्थकर्ता साहूमहाजनमा आधारित सीमित वित्तीय सेवाबाट शोषित पीडित भएर गरीबीको जाँतोमा पिसिइरहेका विपन्न तथा गरीब वर्गलाई कसरी उत्थान गर्न सकिन्छ भन्ने विषयमा सोच र खोज गर्ने कार्यसँगै विभिन्न परीक्षणहरू भइरहेका थिए ।  यसै समयमा बंगलादेशमा अर्थशास्त्री तथा प्रोफेशर मोहम्मद युनुसले प्रतिपादन गरेको ग्रामीण बैंकिङ पद्धतिको अवधारणाबमोजिम लघुवित्त वित्तीय सेवाको विकास भइरहेको थियो । त्यसै समयमा नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गर्भनर डा. हरिहरदेव पन्तलगायत उच्चपदस्थ अधिकारीबाट उक्त ग्रामीण बंैकिङ पद्धतिको अध्ययन, अवलोकन तथा भ्रमणपश्चात् गरीब नेपाली जनताको आवश्यकताबमोजिम वित्तीय सेवा ग्रामीण बैंकिङ पद्धतिबाट पुर्‍याउन सकिने ठम्याई नेपाल राष्ट्र बैंकमार्फत ग्रामीण विकास बैंकको प्रस्ताव अगाडि बढाएको देखिन्छ ।  सरकारका तर्फबाट ग्रामीण विकास बैंक सञ्चालनमा ढिला भइरहेकोे अवस्थामा डा. हरिहरदेव पन्तको सोच तथा योजना र सक्रिय नेतृत्वमा नेपाली समाजको प्रमुख शत्रु गरीबीविरुद्ध लडाइँ लड्ने उद्देश्यका साथ स्थापना भएको निर्धन संस्थाले विसं २०४९ चैत १ गते रूपन्देही जिल्लाको सिक्टहन गाविसअन्तर्गत प्रगतिनगर गाउँमा नेपालमै पहिलोपटक विपन्न महिलाहरूको समूह गठन गरेर विपन्न महिला सदस्यलाई विनाधितो समूह जमानतमा ग्रामीण कर्जा वितरण गरी नेपालमा ग्रामीण बैंकिङ प्रणालीअन्तर्गत लघुवित्त सेवा औपचारिक रूपमा शुरुआत गर्‍यो । यसरी बंगलादेशमा प्रोफेशर मोहम्मद युनुसले प्रतिपादन गरेको ग्रामीण बैंकिङ पद्धतिको पहिलोपटक अनुसरण गरी लघुवित्त सेवा प्रदान गर्ने काम निर्धन संस्था र डा. हरिहरदेव पन्तले नेतृत्व गरेकोे देखिन्छ ।  लघुवित्त सेवा प्रवाहका लागि समूह गठन  ग्रामीण बैंकिङ पद्धतिमा सेवा प्रवाहका लागि समूह गठन गर्नुअगाडि विपन्न वर्गको पहिचान गर्न सम्भाव्य सदस्य फारम भरेर पारिवारिक तथ्यांक संकलन गरी परिवारको आम्दानी, भूस्वामित्व, रोजगार, परिवार सदस्य विवरण, अन्य वित्तीय संस्था तथा अनौपचारिक क्षेत्रबाट गरे नगरेको, आर्थिक कारोबारको अवस्था, आफ्नो उत्पादनले खान पुग्ने नपुग्ने, तरकारी उत्पादन गर्ने नगर्ने, सुविधाका सामानको उपभोगको स्तर, पशुपालनको अवस्था, धारा, शौचालय, घरको अवस्थाजस्ता सूचकहरू विश्लेषण गरी उक्त परिवार वास्तविक गरीब हो होइन छुट्ट्याउने गरिन्छ । यसरी पहिचान गरिएका वास्तविक विपन्न, गरीब, दलित, जनजाति, सुकुमबासी, बेरोजगार र अन्य वित्तीय संस्थाबाट सेवा नपाएका विपन्न परिवारका महिलालाई समूहमा आबद्ध भएर वित्तीय सेवा लिन उत्प्रेरणा प्रदान गरी समूह गठन गरिन्छ । समूह गठन गर्ने सदस्यहरू समान आर्थिक अवस्थाका, एकअर्कामा विश्वास गर्ने, अलगअलग परिवारका तथा एकआपसमा नाता नपर्ने, एकअर्काको आर्थिक कारोबारको जिम्मेवारी लिनसक्ने र एकै गाउँटोलका स्थायी बासिन्दा हुनुपर्ने हुन्छ । समूहमा ५ जना पदाधिकारी हुने गर्छन, जसमा समूह अध्यक्ष, समूह सचिव बाँकी तीन जना समूह सदस्य पदमा चुनिएर समूह गठन गर्नुपर्ने हुन्छ । यसरी गठन भएका समूहलाई ७ दिनसम्म अनिवार्य समूह प्रवेश तालीम प्रदान गर्नुपर्ने हुन्छ । तालीममा समूह अनुशासन, वित्तीय अनुशासन, नियमित बचत जम्मा गर्ने, कर्जा लिने भुक्तानी गर्ने तरीका तथा कर्जा सदुपयोगिताजस्ता वित्तीय साक्षरताका साथै नाम लेख्न (दस्तखत गर्न) सिकाउने समूहमा पदीय र सामूहिक जिम्मेवारी उत्तरदायित्व पूरा गर्न एकअर्काप्रति सजग र सचेत हुने सम्बन्धमा वित्तीय संस्थाकोे कर्मचारीले नियमित रूपमा पूर्वनिर्धारित समय र स्थानमा तालीम प्रदान गर्छन् । वित्तीय संस्थाको फिल्डमा काम गर्न कर्मचारीले तालीम पूरा भएको जानकारी शाखा कार्यालयमा गराएपश्चात् निकटतम सुपरिवेक्षकबाट समूह मान्यताको लागि पूर्वपरीक्षा लिइन्छ । समूह मान्यता पूर्वपरीक्षामा त्यो समूह लघुवित्त सेवाका लागि योग्य देखिएमा माथिल्लो स्तरको कर्मचारीद्वारा समूह पूर्णरूपमा वित्तीय साक्षर भए नभएको, संस्थाका वित्तीय सेवासम्बन्धी नीतिनियम बुझे नबुझेको पुन: परीक्षणपश्चात् मात्रै समूहलाई मान्यता तथा सदस्यता प्रदान गर्ने गरिन्छ । यसरी मान्यता पाएका २ देखि १० ओटा समूह मिलाएर केन्द्रको गठन हुन्छ । लघुवित्त सेवा सञ्चालनमा केन्द्र मानव शरीरको मुटुजस्तै हो । केन्द्रको राम्रो सञ्चालनमा नै लघुवित्त सेवाको निरन्तरता निर्भर हुन्छ । लघुवित्तको कार्य व्यवस्था  हरेक केन्द्रको बैठक पूर्वनिधारित स्थान, मिति र समयमा सबै समूह सदस्य र वित्तीय संस्थाको कर्मचारी उपस्थित भएपछि समूह सदस्यहरूले सदस्य प्रतिज्ञा वाचन गर्छन् । सदस्य प्रतिज्ञा सुनेपछि उपस्थित कर्मचारीले कर्मचारी प्रतिज्ञा वाचन गरी सदस्यहरूलाई सुनाएर बैठक शुरुआत गरिन्छ । यसरी समूह सदस्य गर्ने प्रतिज्ञा समूह गानको रूपमा आफू र आफ्नो परिवारको उन्नति र प्रगतिका लागि समूहमा आबद्ध हुने, छोराछोरीलाई पढाउने, नियमित बचत गर्ने लिएको कर्जाको सदुपयोग गरेर नियमित किस्ता तिर्ने समूह सदस्य र वित्तीय संस्थाको कुभलो नचिताउने, मद्यपान, धूम्रपान तथा फजुल खर्च नगर्नेलगायत विषय समेटिएका हुन्छन् । वित्तीय संस्थाका कर्मचारीले वाचन गर्ने प्रतिज्ञामा वित्तीय संस्थाका तर्फबाट कारोबार गर्ने गराउने क्रममा धार्मिक आस्था, राजनीतिक विचारधारा तथा जातपातको आधारमा कुनै पनि किसिमको भेदभाव नगर्ने, विनामूल्य समूह सदस्यबाट कुनै पनि उपहार स्वीकार नगर्ने, विपन्न वर्गको आय वृद्धि गराउन बचत गराउने, संस्थाले दिने कर्जा आयआर्जन हुने काममा मात्र लगानी गर्ने, कर्जाको सदुपयोग गराउने प्रतिबद्धता गर्छन् । यसरी केन्द्रको बैठक औपचारिक रूपमा शुरू हुन्छ भने अन्त पनि औपचारिक रूपमा सामूहिक प्रतिबद्धताबाटै हुने गर्छ । केन्द्रको बैठक नियमित रूपमा साप्ताहिक तथा मासिक रूपमा गर्ने, केन्द्र बैठकमा कर्जा माग गर्ने, सिफारिश गर्ने गरिन्छ । कर्जा लगानी गर्दा पाँच जनाको समूहमा २+२+१ जना गरेर विनाधितो तथा समूह जमानतमा कर्जा लगानी गर्ने गरिन्छ भने असुली गर्दा सानोसानो किस्तामा कर्जा तथा ब्याज असुली गर्ने, अनिवार्य बचत, सामूहिक बचत र ऐच्छिक बचत गराउने साथै लघुबीमा गराउनेलगायत सबै कार्य केन्द्र बैठकमा गरिन्छ । केन्द्र बैठक समूह सदस्यहरू सबैलाई पायक पर्ने गरी सदस्यहरूको घरको आँगन, कौसीमा गर्ने गरिन्छ । यसले गर्दा बैठकमा जान समूह सदस्यहरूलाई धेरै समय खर्चिन नपरोस्, उनीहरूलाई वित्तीय सेवा लिन सहजै पहुँच पुगोस् । घरआँगनमा नै कर्जा, बचत, बीमालगायत सबै सेवा पुर्‍याएर वित्तीय सेवाको पहुँच सबै विपन्न गरीब महिला वर्गमा पुर्‍याउने लघुवित्त सेवाको उद्देश्य रहेको हुन्छ । देशको सरकार, लघुवित्त सेवाक्षेत्रसँग सम्बद्ध तथा सरोकार राख्ने निकाय, नियामक निकाय, लघुवित्त संस्थाका संस्थापक, सञ्चालक, व्यवस्थापकीय नेतृत्वकर्ता तथा कर्मचारीहरूमा लघुवित्त सेवाको मूल्य, मान्यता र लक्ष्यलगायत विषयमा विषय विज्ञताकोे अभाव, सोचको अभाव, क्षणिक लाभोन्मुख निर्णय, सामाजिक वित्तीय सेवा भावनाको अभाव, बजार विश्लेषण र दूरदर्शितामा रहेको कमजोरीका कारण लघुवित्त सेवामा समस्याहरू देखिन थालेका हुन् ।  लघुवित्तको विगत  ग्रामीण बैंकिङ पद्धतिको अनुसरण गर्दै निर्धनलगायत गैरसरकारी संस्थाले नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबारको इजाजतपत्र लिएर दुर्गम विपन्न ग्रामीण बस्तीहरूमा कार्यालय स्थापना गरी विभिन्न निकायको सहयोगमा सेवा विस्तार गर्दै गए । सरकारी तवरबाट तत्कालीन अवस्थाका सबै विकास क्षेत्रमा एकएक गरी पाँचओटा ग्रामीण बैंकहरू स्थापना गरियो । यसरी लघुवित्त सेवा सरकारी, गैरसरकारी दुवै तहबाट विकास र विस्तार हुँदै गए । संस्थागत सुशासन, कारोबारको विस्तार विकास र दीर्घकालीन रूपमा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले निर्धन संस्था, विभिन्न बैंकको लगानी र डा. हरिहरदेव पन्तको नेतृत्वमा पब्लिक कम्पनीका रूपमा लघुवित्त सेवा दिने पहिलो विकास बैंकका रूपमा विस २०५५ सालमा निर्धन उत्थान बैंक लि (हालको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि) को स्थापना भयो । यसरी नेपालमा लघुवित्त सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाहरूको विकास विस्तार हुँदै गयो । देशभित्र लघुवित्त वित्तीय सेवा प्रदान गर्ने क्षेत्रमा अग्रणी स्थान लिइरहेको निर्धन उत्थान बैंक र सामाजिक क्षेत्रका विभिन्न कार्यक्रममार्फत लघुवित्त सेवाको विकास विस्तारमा टेवा पुर्‍याएको निर्धन संस्थाको स्थापनापूर्व सोच र योजनादेखि नै नेतृत्व गरी समाजका गरीब विपन्न दलित, जनजाति तथा आर्थिक सामाजिक रूपमा पिछडा वर्गको उत्थानका लागि डा. हरिहरदेव पन्त आजीवन समर्पित हुनुभयो । उहाँ नेपालमा लघुवित्त पिताकै रूपमा रहनुभएको थियो । उहाँको देहान्तसँगै समग्र लघुवित्त सेवाक्षेत्र टुहुरो हुन पुग्यो । अर्थात् लघुवित्त क्षेत्रको सञ्चालन, व्यवस्थापन र नियमन गर्ने नेतृत्वदायी भूमिकामा रिक्त हुन गयो जसले गर्दा लघुवित्त सेवा व्यापारिक व्यवसायमा परिवर्तन गर्ने क्रममा चरम प्रतिस्पर्धा सृजना भयो । सामाजिक कार्य व्यापारिक कार्यमा परिवर्तन भयो । लघुवित्तमा समस्याको बीजारोपण नेपालमा पुराना लघुवित्त संस्थाको केही सफलतासँगै नयाँ लघुवित्त सेवा प्रदान गर्ने वित्तीय संस्था स्थापना गर्ने तथा स्वीकृति प्रदान क्रम एकदमै बढेर गयो । धेरै लघुवित्त संस्थाहरूले एकै ठाउँमा रहेर सेवा दिन थाले । फलस्वरूप देशमा लघुवित्त सेवामा अत्यधिक प्रतिस्पर्धाको वातावरण सृजना हुनपुग्यो । अत्यधिक प्रतिस्पर्धामा लघुवित्त संस्थाहरूद्वारा सुविधासम्पन्न ठाउँमा मात्र लघुवित्त सेवा केन्द्र तथा शाखा स्थापना गरी कर्जा लगानीमा मात्र जोड दिने, अन्य लघुवित्त संस्थाबाट सेवा लिइरहेका सदस्यहरूको समूह र केन्द्रलाई समूह मान्यता प्रदान गरेर दोहोरो कर्जा लगानी गर्ने, ग्राहक र उनीहरूको आर्थिक सामाजिक सुरक्षातर्फ ध्यान नदिने र जसरी भए पनि धेरै लगानी गर्ने सिद्धान्तले अभिप्रेरित हुने प्रवृत्तिले पछिल्लो समय लघुवित्त क्षेत्र प्रदूषित हुँदै गयो । लघुवित्त संस्थाले समूह तथा केन्द्र गठन, अनिवार्य समूह तालीम दिन छोडे, केन्द्र बैठक गराउन छोडे, असुली र लगानी प्रक्रियामा लघुवित्त सेवाका मूल्यमान्यता भुलेर कस्ले धेरै लगानी गर्ने होडबाजीको वातावरण बन्यो । यसै क्रममा विपन्नका लागि सञ्चालित लघुवित्त सेवामा समाजमा रहेका टाठाबाठा, हुनेखानेहरूको आँखा लाग्यो । उनीहरू पनि समूहमा बसेर धेरैभन्दा धेरै संस्थाबाट धेरैभन्दा धेरै कर्जा उपभोग गर्न थाले । लघुवित्त संस्थाले कर्जा लगानी गर्न कर्मचारीलाई लक्ष्य तोक्न थाले । कर्मचारीले सबैलाई कर्जा लिन दबाब दिए । फलस्वरूप विपन्नले समेत धेरैभन्दा धेरै कर्जा लिएर समाजका हुनेखानेलाई चलाउन दिन थाले । अर्कोतिर ससानो उद्यम गरिरहेकाहरूलाई धेरैओटा लघुवित्त संस्थाका कर्मचारी आएर कर्जा लिनुहोस् भन्न थाले । लिन्छु भन्नेबित्तिकै सहजै कर्जा दिन थाले । यसले गर्दा उनीहरूले अनावश्यक कर्जा लिए । उनीहरूले आफ्नो क्षमताभन्दा बढी कर्जा चलाए, कर्जा बढे पनि आम्दानी बढेन अनि त कर्जा किस्ता तिर्नकै लागि थप अन्य संस्थाबाट कर्जा लिन थाले । महिलाहरू महीनाभरि नै हरेक दिन हुने लघुवित्त संस्थाको समूहमा बस्ने कर्जा लिने, फेरि अर्कोमा किस्ता तिर्ने सँगसँगै फजुल खर्च गर्ने प्रवृत्ति बढेर गयो । यस क्रममा कर्जाको सदुपयोग हुन छोड्यो, लघुवित्त संस्थाले पनि कर्जाकोे सदुपयोग भए नभएकोे हेर्न छोडे । यसरी अत्यधिक प्रतिस्पर्धा र लघुकर्जाको अत्यधिक आपूर्तिको कारण एउटै ग्राहकमा दोहोरो कर्जा तथा बहुसंस्था लगानी, कर्जाको सदुपयोगिता गर्ने गराउने कार्यमा लापरबाहीको कारण विशुद्ध सामाजिक सेवाको भावनाबाट अभिप्रेरित भई विकास र विस्तार भएको लघुवित्त सेवाका ग्राहक र संस्था दुवैको कमजोरीले लघुवित्त सेवामा विकृतिहरूले जरा गाडे ।  लघुवित्तमा देखिएको केही विकृति  बजारको आवश्यकताको विश्लेषण नगरी लघुकर्जाको आपूर्ति मात्र बढाउँदै जाने क्रममा लघुवित्त सेवाप्रदायक संस्था र तिनका ग्राहकका सीमित कमीकमजोरीको कारण लघुवित्त सेवामा समाजका टाठाबाठाले चक्रवृत्ति ब्याज, मीटर ब्याजमा लघुवित्तको किस्ता तिर्न विपन्नलाई कर्जा दिन थाले । समूह सदस्यहरूलाई कमिशन दिने, लोेभलालच देखाएर उनीहरूलाई कर्जा लिन लगाई आफूहरूले परिचालन गर्न थाले । फलस्वरूप लघुवित्त संस्थाको स्थापनाले गर्दा समाजमा शोषण गर्न नपाएका साहुमहाजनहरू पुन: जुर्मुराए र फेरि नयाँ तरीकाले शोषण गर्न थाले । फलस्वरूप केही समय लघुवित्त संस्थाको लगानी बढेर गयो । आम्दानी बढ्यो जस्ले गर्दा सबैको ध्यान खिच्यो । तर, विपन्नमा क्षमताभन्दा बढी लगानी, गैरविपन्नहरूको लघुवित्त सेवामा प्रवेश, समाजमा रहेका अवसरवादीहरूको आक्रमणका कारण विपन्न र विपन्नलाई सेवा दिने लघुवित्त संस्था दुवै पक्ष हाल समस्यामा पर्न गएका छन् । यसले गर्दा अहिले ग्रामीण विपन्नहरूको नाममा लघुवित्त संस्थामा धेरै कर्जा छ । किस्ता तिर्न नसकेर जोखिम कर्जा बढेको छ । बारम्बारको ताकेताबाट पनि असुली गर्न नसकेपछि उनीहरूको नाममा ३५ दिने सूचना प्रकाशन भएका छन् । विपन्नहरूको नाम कालोसूचीमा सूचीकृत हुन पुगेको छ । उनीहरूलाई अहिले न त लघुवित्त संस्थाले कर्जा दिन्छन् न त गाउँघरका साहूमहाजनले नै । यसले गर्दा ती विपन्न परिवार अहिले झनै बिचल्लीमा छन् । हिजो दिनरात जति खेर समस्या परे पनि सेवा दिने विपन्न महिला सदस्यहरूकोे माइती घरजस्तो लघुवित्त संस्था आज पराइ बनेका छन् । यसरी लघुवित्त समूह, केन्द्रका नियमित बैठक हुन छोडे । नियमित बचत जम्मा हुन छोड्यो र यसका सदस्यले कर्जा सदुपयोग गर्नछोडे । लिएको कर्जाको किस्ता तिर्न छोडे । कारण वित्तीय अनुशासन निरन्तर रूपमा घट्दै गएको देखिएको छ । अन्तमा यसरी सबैको अभिभावक देशको सरकार, लघुवित्त सेवाक्षेत्रसँग सम्बद्ध तथा सरोकार राख्ने निकाय, नियामक निकाय, लघुवित्त संस्थाका संस्थापक, सञ्चालक, व्यवस्थापकीय नेतृत्वकर्ता तथा कर्मचारीहरू सबैको कमजोरीका कारण लघुवित्त सेवामा विकृति भित्रिएको देखिन्छ । विषय विज्ञता र सोचको अभाव, क्षणिक लाभोन्मुख निर्णय, सामाजिक वित्तीय सेवा भावनाको अभाव, बजार विश्लेषण र दूरदर्शितामा रहेको कमजोरी आदि कारणले लघुवित्त सेवामा भित्त्याइएको व्यापारीकरण तथा अत्यधिक प्रतिस्पर्धा र समाजमा सलबलाएका अवसरवादीहरूको आक्रमण, लक्षित वर्गमा वित्तीय साक्षरताको न्यून ज्ञानलगायत कारणले लघुवित्त ग्राहकहरूमा वित्तीय अनुशासन घटेको पाइन्छ । त्यसैगरी, लघुवित्त संस्थाहरूमा स्वअनुशासन, स्वनियमन घट्दै गएकाले लघुवित्त सेवाक्षेत्रमा वित्तीय अनुशासन घट्दै गएको देखिन्छ । लेखक लघुवित्त र लघुबीमा क्षेत्रमा अनुभवप्राप्त अधिवक्ता हुन् ।

सम्बन्धित सामग्री