काठमाडौं । पूर्वमाओवादी केन्द्रका नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्टसहित २३ जना नेकपा (एमाले) को कन्द्रीय सदस्यमा मनोनित भएका छन् । शुक्रबार नेकपा एमालेको केपी शर्मा ओली पक्षको केन्द्रीय समितिको भेलाले पूर्वमाओवादी केन्द्रमा रहेर ओलीतर्फ खुलेका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको नेकपा एमालेका स्थायी समिति सदस्य सुवास नेम्वाङले जानकारी दिनुभएको छ ।
सरकारमा गृहमन्त्री रहेका रामबहादुर थापासहित टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, गौरीशंकर चौधरी लगायतका नेताहरु माओवादी केन्द्रमा नफर्की ओली पक्षमै रहने निर्णय गरेका थिए।
तर, सो बैठकमा नेपाल पक्षका कुनै पनि केन्द्रीय सदस्यलाई खबर गरिएको थिएन। केन्द्रीय सदस्य मनोनीत गरेको बारे माधव नेपाल पक्षले कुनै जानकारी नभएको बताएको छ।
बैठकले नेताहरुको जिम्मेवारी परिवर्तन गर्नुका साथै आगामी मंसिरमा महाधिवेसन गर्ने निर्णयसमेत गरेको छ। यस्तै, अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज गरेको छ ।
पुनर्थापनापछि नेकपा (एमाले) केन्द्रीय कमिटिको पहिलो बैठक चैत ७ गते बस्दैछ । यसअघि चैत १ गतेका लागि तय गरिएको बैठक ७ गते बस्नेगरी सारिएको हो । केन्द्रीय कमिटिको बैठक बस्नुअघि केन्द्रीय समिति, स्थायी समितिमा बहुमत पु¥याउने गरी ओलीले एकलौटी मनोनीत गरेको बताइन्छ ।
बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ। एमालेले केही दिनअघि नै केन्द्रीय कार्यालयबाट नेकपाको बोर्ड हटाएर आफ्नो साइनबोर्ड राखिसकेको छ।
सर्वोच्च अदालतले पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) खारेज गरेपछि यसमा मिसिएका पहिलेकै दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः अस्तित्वमा आएका हुन्।