कात्तिक ११, काठमाडौं । बीमा समितिले अस्वस्थ प्रतिस्पर्धा रोक्न गैरमहसुल बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर तोकिएको बताएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले गैरमहसुल बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर बीमाशुल्क पुनरावलोकन गर्न माग गरेपछि सो सम्बन्धमा बीमा समितिले ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्तो जवाफ दिएको हो ।
त्यसैगरी बीमा समितिले निर्जीवन बीमा अन्तर्गत अग्नी, मोटर, इञ्जिनीयरिङ्ग, सामुन्द्रिक, हवाई र विविध बीमा कमभन्दा कम प्रिमियम दरमा गर्ने गरिएका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै निर्जीवन बीमा कम्पनीहरुले न्यूनतम प्रिमियम दर कायम गर्न पटक पटक बीमा समिति समक्ष आग्रह गर्दै आएको बताएको छ ।
समितिले कमभन्दा कम प्रिमियम दरमा गरिएका निर्जीवन बीमाको पुनर्बीमा गर्न विभिन्न अन्तरराष्ट्रिय पुनर्बीमा कम्पनीहरुले अस्वीकार गर्ने गरेको र यस स्थितिमा निर्जीवन बीमाको दाबी भुक्तानीमा पनि समस्या पर्ने देखिएको भन्दै न्यूनतम प्रिमियम दर तोक्नु परेको उल्लेख गरेको छ ।
मुलुकले अवलम्बन गरेको खुला बजार अर्थव्यवस्थालाई स्वच्छ एवम् पारदर्शीरुपमा अगाडि बढाउनका लागि बीमा क्षेत्रका तर्फबाट गर्नुपर्ने योगदान गर्न सदैव तत्पर रहेको पनि समितिले बताएको छ ।
न्यूनतम प्रिमियम दर लगायत बीमा क्षेत्रको विकास एवम् विस्तारका सम्बन्धमा निजीक्षेत्रबाट प्राप्त हुने सुझावहरुलाई सकारात्मकरुपमा लिने पनि समितिले बताएको छ ।