काठमाडौं । ललितपुर महानगरपालिका–१ ले आर्थिक वर्ष २०८०/८१ अन्तर्गत स्वास्थ्य सेवाको विस्तार कार्यक्रम शुरू गरेको छ । वडाले बालरोग, जनरल फिजिसियन, स्त्रीरोग, मधुमेह रोग लगायतका स्वास्थ्य परीक्षण विशेषज्ञ डाक्टरबाट शुरू गरेको हो । वडाले बालबालिका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक लगायतलाई प्राथमिकतामा राखेर सेवा दिँदै आएको जानकारी गराएको छ । वडाअन्तर्गतका आधारभूत स्वास्थ्य केन्द्रमा जनस्वास्थ्य निरीक्षक, अनमी, अहेब आदि कर्मचारीले खोप, एकीकृत बालरोग व्यवस्थापन, सुरक्षित मातृत्व, परिवार नियोजन, भिटामिन–ए, नि:शुल्क औषधि वितरण जस्ता सेवा नियमित रूपमा दिँदै आएको बताइएको छ ।
वडा नं १ का अध्यक्ष निर्मल तण्डुकारले स्वास्थ्यकर्मीले वडाभित्रका सबै घरमा घरदैलो गर्ने गरी नर्सिङसहितको सेवा पनि उपलब्ध गराउने तयारी थालेको बताए । यसअन्तर्गत अपांगता भएका, गर्भवती महिला र शिशुको स्वास्थ्यको अनुगमन, क्लिनिकमा हुने उपचारको फलोअप तथा घरमै गएर औषधि वितरण लगायत सेवा दिइनेछ ।
आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख मधुकरमणि आचार्यले स्वास्थ्यकर्मी परिचालन गरी आवश्यक सर्वेक्षण तथा पहिचानका आधारमा स्वास्थ्य सेवा उपलब्ध गराइने बताए । स्वास्थ्य संयोजक तथा वडा सदस्य कृष्ण महर्जनले वडाले स्वास्थ्य, जीवनशैली, खानपान आदि विषयमा छलफल, अन्तरक्रिया र चेतना वृद्धिका कार्यक्रम सञ्चालन गरिने बताए ।