राजनीतिमा बिचौलिया

नेपालमा माओवादीले २०५२ सालबाट जनवादी माल उत्पादन गर्ने भन्दै जनयुद्ध नामको राजनीतिक उद्योग खोल्यो। युद्ध भट्टीबाट निस्कने बारुदी धुवाँ एवं गोली र वमका राप–तापबाट देशका असंख्य धन र १७ हजार जन खग्रास भए।...

सम्बन्धित सामग्री

मन्त्री नै मन्त्री

सबै विदेश गए, देशै रित्तियो, गाउँ नै सिध्यियो भनेर हल्लाखल्ला छ । तर दशैंमा गाउँ गाको, के रित्तिन्थ्यो, गाउँ गाउँमा चहलपहल पो देखियो त । गाईबाख्रा कुद्ने डाँडाकाँडामा गाडीहरू धुलो र धुँवा उडाउँदै कुदेका देखिए । तीमध्ये धेरै त झण्डावाला मन्त्रीहरूका र तिनको अघिपछि लाग्ने डन्डावालाका कार नै धेरै थिए । आम्मामा, मन्त्री त कति कति । दशैंको टीकामा मान्यजनले दिने आशिर्वाद भने अलि फेरिँदै गएको सुनिन्थ्यो, ‘आयु द्रोणसुतेका सट्टामा कि त ‘छिट्टै विदेश जाने चाँजापाँजो मिलोस्’ भन्ने थियो भने धेरैले ‘छिट्टै मन्त्री बन्नू’ भन्ने आशिर्वाद दिइरहेका देखिन्थे । प्रदेशहरूमा बेरोजगारहरू पनि सजिलै मन्त्री बनेका अनुभवका कारण यो नयाँ आशिर्वाद प्रादुर्भाव भएका हुनुपर्छ । हो, गणतन्त्र आएपछि सबै वस्तुमा परनिर्भर भए पनि हाम्रो देश मन्त्रीहरूमा भने आत्मनिर्भर छ । कति धेरै मन्त्रीहरू छन् देशैभरि । प्रदेशका र केन्द्रका नयाँ मन्त्री, वर्तमान मन्त्री, भूपू मन्त्री । देशैभरिका सडकमा फोहोर छरिएसरी मन्त्रीहरू छरिएका छन् । सरकारको त्रिपाल मन्त्री नामक यै हिँडडुल गर्ने बाँसका खम्बाहरूमा त टिकेको छ । बाँसहरू हल्लिरहन्छन्, सरकार चलिरहन्छन् । हामी हाम्रो जीवनमा कति मन्त्रीहरू देख्छौं ? यो देशमा धेरै कुर्सीहरू छन् र धेरै मानिसहरू छन् । तर जब केही खास कुर्सीहरूमा केही खास मान्छेहरू बस्छन् त ती मन्त्री बन्छन् । कतिपय मानिसहरू मन्त्री हुनुलाई आफ्नो जीवनको प्रमुख लक्ष्य मान्छन् । जन्मिए, मन्त्री बने र मरेर गए । केही मानिस देशका लागि मन्त्री बन्छन् । केही पार्टीका लागि त केही साथीका लागि । तर धेरै आफ्नै लागि । तर धेरै मानिसहरू गिलासका लागि वा विलासका लागि मन्त्री बन्छन् । तपाईं एउटा मान्छेको हाउभाउ, हिँडाइ, लवाइ, खवाइ, चालढाल देखेर टाढैबाट भन्न सक्नुहुन्छ कि ‘ऊ मन्त्री आइराको छ’ भनेर । किनकि मन्त्री बन्नका लागि सबै कुरा आवश्यक हुन्छ, तर योग्यता वा दक्षता भने आवश्यक हुन्न । मूर्ख मान्छे एकदम राम्रो मन्त्री बन्न सक्छन् । त्यसैले मूर्खहरू नै लामो समयसम्म मन्त्रीमा टिकिरहन सक्छन् । मन्त्री बन्दै बन्दै कतिपय मौकामा मुख्यमन्त्री वा प्रधानमन्त्री नै बन्न भ्याउँछन् । तपाईंहरूमध्ये कोही मूर्ख हुनुहुन्छ भने मन्त्री बन्न कोसिस गर्न सक्नुहुन्छ । यदि पटमूर्ख हुनुहुन्छ भने त छिट्टै नै बन्नुहुन्छ । बुद्धिमान् मानिस यही कारण नै शायद राजनीतिमा आउँदैनन् । उनीहरूलाई डर हुन्छ कि कतै कुनै दिन उनी मन्त्री नबनाइयुन् । फेरि मूर्ख मानिसहरू मन्त्री बनेनन् भने कहाँ जान्छन्, के गर्छन् बिचरा ? त्यै भएर त हामीहरू मूर्खहरूलाई सांसद चुन्छौं र पछि उनीहरू मन्त्री बन्छन् । यदि मूर्ख भएर पनि तपाईं मन्त्री बन्न सक्नुभएन भने मन्त्री भएपछि पक्कै मूर्ख बन्नुहुन्छ । त्यसैले त मन्त्री भएपछि कार्यक्रमहरूमा गएर उनीहरूले के के बोल्छन्, उनीहरूलाई नै थाहा हुन्न । गणतन्त्र आएपछि सबै वस्तुमा परनिर्भर भए पनि हाम्रो देश मन्त्रीहरूमा भने आत्मनिर्भर छ । कति धेरै मन्त्रीहरू छन् देशैभरि । प्रदेशका र केन्द्रका नयाँ मन्त्री, वर्तमान मन्त्री, भूपू मन्त्री । देशैभरिका सडकमा फोहोर छरिएसरी मन्त्रीहरू छरिएका छन् । मलाई के लाग्थ्यो भने केन्द्रमा मात्र केवल एउटा सरकार भएकाले सबैभन्दा धेरै मूर्ख मन्त्रीहरू हामीकहाँ छन् । तर जब मैले सबै प्रदेश घुम्ने मौका पाएँ, तब मेरो घमण्ड चकनाचुर भयो । किनकि केन्द्रमा भन्दा एकसे एक महामूर्खहरू प्रदेशमा पनि रहेछन् । वास्तवमा स्थानीय तहका टाउकेहरूलाई पनि मन्त्री भनिदिएको भए गज्जप हुन्थ्यो । किनकि, आखिरमा तिनका हाउभाऊ र तुजुक पनि कुनै मन्त्रीका जस्तै त छन् । र ती पनि एक से एक प्रदेशका मन्त्रीहरूभन्दा कम मूर्ख त छैनन् ! तपाईंलाई थाहै छ मूर्खता दुई किसिमको हुन्छ । एउटा जुन प्रकट हुन्छ, दोस्रो जो प्रकट हुँदैन । मन्त्री जसै काम गर्न शुरू गर्छन्, तब मूर्खता प्रकट हुन शुरू हुन्छ । यसैले त हाम्रो देशमा मन्त्रीहरू कामै गर्दैनन् र त उनीहरू बाहिरबाट बुद्धिमान् देखिन्छन् । प्रत्येक मन्त्री अलग अलग ढाँचाका हुन्छन् । कुनै मन्त्रीहरू प्राय: यात्रा गरिरहन्छन् । वहाँबाट यहाँ, यहाँबाट वहाँ गरिरहन्छन् । कतिपय मन्त्रीहरू हरेक प्रकारका कार्यक्रममा भाग लिन पुगिरहन्छन् । विवाह, शवयात्रा, उद्घाटन, सेमिनार, विदेश यात्रा आदिमा उनीहरू जहाँ कहीँ भेटिन्छन् । कुनै मन्त्री बडो स्टन्टबाज हुन्छन् । नयाँ नयाँ फन्डा देखाइरहनुलाई आफ्नो धर्म र कर्म नै ठान्छन् । मन्त्रीहरू कुनै फाइल अघि बढाउँछन्, कुनै बढाउँदैनन् । कुनै कुनै फाइल अघि बढाउँछु भनेर पनि अघि बढाउँदैनन् । उनीहरू जहाँ गए पनि भ्रष्टाचार निर्मूल पार्छु भनेर भाषण गर्छन् । तर प्राय:ले आफै अग्रसर भएर भ्रष्टाचार गर्छन् भने कतिले चैं श्रीमती, छोराछोरी, सालासाली, भान्जाभान्जी वा बिचौलिया आदिमार्फत गर्छन् । यो उनीहरूको आवश्यकता नभई बाध्यता हो । किनकि यो देशमा कति धेरै बेरोजगारी फैलिएको छ । यी बेराजगारहरूमध्ये एउटा ठूलो संख्या मन्त्री पदमा रोजगार हुन पाएका छन् । अझ तीमार्फत तिनका पीए, प्रेस सल्लाहकार आदिले पनि जागीरमा झुन्डिन पाएका छन् । त्यसैले, जब मन्त्रीमण्डल नयाँ बन्छ वा विस्तार हुन्छ, मलाई असाध्यै खुशी लाग्छ । ल, केही थपले रोजगारी पाए भनेर । ६–८ महीना वा वर्ष दिन मन्त्री बन्न पाएपछि एउटा मन्त्रीले जिन्दगीभरिका लागि आम्दानीको जोहो गर्छ । मन्त्री पदबाट हटेपछि एउटा मन्त्री कुनै पनि काममा काम लाग्ने रहँदैन । त्यसो त मन्त्री पदमा हुँदा पनि ऊ कुनै काम लाग्ने त हुँदैन नै । खैर, अहिलेलाई भने हाम्रो देशका मन्त्रीहरूका संख्या र यिनीहरूका कारनामाहरूलाई व्यवस्थित तरीकाले रेकर्डमा राख्नु अत्यावश्यक छ । किनकि ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड्स’मा समावेश गरेर देशको नाम विश्वमा अझ फैलाउनु छ नि त ! बरु आउनुस्, हामी पनि मन्त्री बन्ने वा बनाउने र देशबाटै बेरोजगारी हटाउने अभियानमा लागौं ।

वाह दलाल, क्या कमाल !

देशमा बेच्न अब केही बाँकी रहेन । जंगल बेचिन्थ्यो उहिले, पञ्चायती कालमा सबैजसो जंगल दरबारीहरूका हातबाट स्वाहा/कालकवलित भयो । केही जंगलीहरूले गाउँका मान्छे लखेटेर सिध्याएपछि अहिले फेरि जंगल बढेको छ रे । अब त्यो जंगल विक्री गर्ने नयाँ पात्र तयार हुँदै नै होलान्, वैज्ञानिक वन व्यवस्थापनका नाममा । अगाडि वैज्ञानिक शब्द झुन्ड्याएपछि जे जे भकुन्ड्याए पनि भै हाल्छ क्यारे ! त्यसपछि ढुंगा, गिट्टी बेचियो । काठमाडौंका खोलाबाट, वरिपरिका डाँडाबाट र त्यसपछि बाहिरका खोला र चुरेबाट पनि । तर त्यति मात्र बेचेर पुगेन । उत्पादन बनाएर बेच्न त पैसा हुनुपर्‍यो, रंगढंग पनि हुनुपर्‍यो, व्यवसायलाई फस्टाउन दिने वातावरण बनाउनुपर्‍यो । त्यस्तो झन्झट कसले गरोस् ? त्यसैले अहिले त विदेशीलाई खोला बेचेर विदेशतिरै बिजुली बेच्ने गोरखधन्धा पनि शुरू भएको छ क्यारे ! यता भने खाडीको तेलले गाडी गुडाउँदै धूँवा उडाउँदै छौं । त्यसै बहादुर भनेका हुन् र हामीलाई कुइरेहरूले ? व्यवसायलाई फष्टाउन दिन त सरकार, राजनीतिक दल र कर्मचारीहरूमा दरो इच्छाशक्ति हुनुपर्‍यो । यी कुराहरू केही नभएपछि अब बेच्न सजिलो भनेको देश र देशवासी त बाँकी छन् नि । त्यसैले बिचरा नेताहरू नागरिकहरूलाई नै बेच्ने बाध्यतामा पुगेछन् । सीधै बेच्न मिलेन, त्यसका लागि त दलहरू चाहियो, द–लालहरू पनि चाहियो । केही वर्ष अघिसम्म चेलीबेटी बेचिएका समाचार धेरै आउँथे । अहिले अलि कम आउँछन् । अचेल चेलाबेटा नै बेचिन्छन् । हुँदा हुँदा स्वदेशी चेलीबेटी चेलाबेटाहरूलाई विदेशी बनाएर पनि बेच्न थालिसकेछन् । पहिले पुण्य काम भन्दै कमिसनको मिसन चलाए । अहिले पोलापोल र गुप्ती खोलाखोलमा कस्सिएका छन् । यो साँपसिढी खेलमा को चढ्ने हो को खस्ने हो ठेगान हैन । नक्कलीलाई सक्कली र सक्कलीलाई नक्कली बनाउने अक्कली दलाल नेपालमै छन् । त्यसैले त अहिले जताततै चर्चा छ त मान्छे बेच्ने बिचौलिया र दलालहरूको । हुन पनि अहिलेको जमानामा दलाल नै राजनीतिक बजारको असली माल हो । कमालको कुरा के हो भने विनादलाली बाँकी सबै बबाली हुन्, बेकारी हुन् । नित्य नयाँ खाल्डोमा गिर्दो राजनीतिमा दलाल नै मुख्य सूत्रधार हो, दलाली नै मूलधार हो । उही नेताको साभार पनि हो, ब्रिफकेसको आधार पनि हो । बरु आउनोस् हाम्रा प्यारा द–लाल नवराजा ! बियरसँग कमिशनको चटनी चाट्दै जेल जानुस् ताजा ताजा ! तपाईंलाई यता ठूला नेताजीहरूले पनि सम्झिरहनु भएको छ, ‘तिम्लाई बंगाला कल्ले किन्दियो’ भन्दै । खासमा नेताजीको महल र पार्टी कार्यालयले तपाईंलाई मिस गरिरहेको छ । अहिले ठूला नेताजीका वाणी तपाईंका लागि ईश्वरीय वरदान सावित हुन सक्छ । कुर्नुस् है । केवल केही समयको कुरा न हो । ठूला नेताजीहरू सच्चा दलालका खोजीमा हुनुहुन्छ, तपाईंका लागि त्यो अवसर हो । किनकि तपाईंलाई थाहै छ, कुर्सीमा बस्ने बसाउने खेलमा अरूको भन्दा दलालकै भूमिका महान् हुन्छ । दलालले भन्दा बढी कुनै कुरा कसैले जान्न सक्तछ भने त्यो स्वयं दलाल नै हुन्छ । कुर्सी रसका रसिक दुर्जनहरूले पनि भन्छन् कि उनीहरूका दाता दलाल नै हुन् । लोकतन्त्रमा लोककल्याणका लागि यो धर्तीमा दलालहरू नित्य अवतरण भैरहन्छन् । अरू अवतारहरू त दलालत्वका निमित्त मात्र हुन् । तर दलाल र दलाली चैं सृष्टिको सार हो, जीवनको आधार हो ।  भद्रजन र सेवाग्राही भन्छन्, ‘मन्त्रीभन्दा हाकिम ठूला, हाकिमभन्दा दलाल ठूला । हेर्नुस त, केही दलालहरूले गृह मन्त्रालयलाई गिरोह मन्त्रालय बनाइदिएको ! तिन लोक चौध भुवन नै दलालकै आदेशको अधीनमा चल्छन् । कुर्सीको अस्तित्वमा मतभेद हुन सक्छ, कुर्सीकै लागि हानाहान र तानातान हुन सक्छ । वादविवाद, घातप्रतिघात जे पनि हुन सक्छ । तर दलालको अस्तित्व र प्रभुत्वमा आजसम्म कुनै मतभेद छैन, विरोध र प्रतिरोध छैन । कहिलेकाहीँ दलाल र दलालबीच दाह्रा किटाकिट चाहिँ हुन्छ, त्यसलाई अन्यथा ठान्न मिल्दैन है ! त्यसैले त दलाललाई सबैले ‘मेरे लाल’ भन्छन् र उनीहरूका कुरा खान्छन् पनि । तिनै दलालले कुर्सीतिर लान्छन्, कहिलेकाहीँ जेल तान्छन् पनि । राजनीतिमा जस्तो दलालहरूका बीचमा खाने, ख्वाउने, मान्ने, मनाउने कुराहरूमा कुनै लफडा, झगडा छैन । बरु प्रत्येक दलालले अन्य दलालहरूलाई आदर–प्रशंसा एवं पूजासहित पूर्ण सम्मान दिने गरेका छन् । त्यसैले त धेरै राजनीतिक सम्प्रदाय त केवल दलालवाणीको आधारमै कायम छन् । अनि चम्चाहरू पनि दलालका प्रशंसा गर्न कहिल्यै चुक्तैनन् । उनीहरूले त दलाली नै विकासको नयाँ बाटो भन्दै भ्रष्ट साधनामा मनसिद्धिको सम्पूर्ण श्रेय आफ्नो दलाललाई दिन्छन् । दलाल र दलालतन्त्र सर्वत्र फैलिएका छन् । यसरी प्रदेश र संघका सबै राजधानी वरपर हरक्षण दलाल प्रकट भइरहन्छन् । दलाल, हाकिम र नेता एकै ठाउँ खडा छन् जताजता ।  भ्रष्टाचार अनि ठगीको जालो फैलिरहेछ यता त्यता ।  जनता जसलाई ठान्दछन् लाल, ती त दलाल पो रहेछन् ।  मान्छे बनाउने होइन, मान्छे नै बेच्ने कमाल गर्दा रहेछन् ।  दलालको वाणीलाई चम्चाहरू महान् अस्त्र मान्छन् । चम्चाशास्त्रमा दलालको प्रशंसा र आभार व्यक्त गर्नका लागि ‘दलाल स्तुति’ नामक बृहत् ग्रन्थ दलाललाई नै समर्पित गरिएको हुन्छ । चम्चाहरूले उचित दलालको चुनाव गर्न पनि जोड दिँदै आएका छन् । यो संसार सागरमा केही नक्कली दलाल बनेर पनि हिँड्ने गरेका पाइन्छन् । ‘उनीहरूबाट सावधान रहँदै हामी सच्चा दलालको परिक्रमा गर्नुपर्छ । सच्चा दलालको परिक्रमा र परिभ्रमणबाट ब्रह्माण्डका सबै सुख प्राप्त गर्न सकिन्छ’ भन्छन् चम्चाहरू । दलालको स्तुतिमा चम्चाहरूले धेरै कुरा लेखेका पनि छन् । किनकि उनीहरूलाई राम्रोसँग थाहा छ, दलालकै कृपाबाट मालदार अड्डामा सरुवा, बढुवा, सरकारी संस्थानमा हाकिम र मन्त्री, मुख्यमन्त्रीको कुर्सी समेत पाउन सकिन्छ । त्यसैले दलालको स्मरण मात्रले पनि दिमागबाट सारा पर्दा खुल्छन् । अतः चम्चाहरू भन्छन्, दलाल साधकहरूले मन, वचन एवं कर्मले दलालवाणीलाई आत्मसात् गर्नुपर्छ । दलालहरूको हरपल जयजयकार गर्नुपर्छ ।  तपाईं पनि जीवनमा उन्नति, प्रगति गर्न चाहनुहुन्छ भने दलाल स्तुति गर्न समय छँदै शुरू गरिहाल्नोस् है !

शक्ति पृथकीकरण–सन्तुलन र प्रधानन्यायाधीश विवाद

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा अहिले विवादको शिखरमा छन् । पेसी–तोकाइमा मन परी गर्ने गरेको; न्यायालयमा भ्रष्टाचार र बिचौलिया मौलाएको;राजनीतिमा समेत साझेदारी/सौदाबाजी गरेर न्यायपालिकाको मर्यादा, गरिमा, विश्वसनीयता, जनआस्था ध्वस्त पार्न उद्यत रहेको; न्यायालयको धर्म, र समस्त न्याय प्रणाली नै संकटमा धकेलेको जस्ता गम्भीर आरोप उनीमाथि लागेका छन् ।

सम्पत्तिको लालच र देशको गति

थाहा छ सबैलाई अकुत सम्पत्ति भुलभुलैया हो । दुनियाँमा यही गलत अकुत सम्पत्तिको तृष्णाले कतिपय मानिसको जिन्दगी नर्कमय भइरहेको छ । कसैले जेलको हावा खाइरहेका छन्, कोही विदेशी भूमिमा पसिना चुहाइरहेका छन् । पैसाका लागि हुरुक्क हुँदा तनाव र रोगले ग्रस्त जीवन बाँचिरहेका छन् । कोही त आत्महत्याको बाटोसमेत रोजिरहेका पनि छन् । यी कहानी हामीले नसुनेको होइन । तैपनि मानिसहरूको अझै आँखा खुलेको छैन । धन नभई हुँदैन तर धनकै लागि कार्य कुकार्य गर्न मरिहत्ते गर्ने मानिसको बानी देखेर अचम्म लाग्नु स्वाभाविक हो । मानिस सन्तोषी जीवनलाई छोडी लालचको दुनियाँमा गइराखेको हुन्छ, गलत काम गरेर सम्पत्ति कमाउन मरिहत्ते गरिरहेछ । आखिर मर्ने बेलामा शरीरको कुन प्वालमा लुकाएर लग्ने हो र यो सम्पत्ति । देशलाई धोका दिएर र जनतालाई रुवाएर कमाइने सम्पत्तिबाट कस्तो किसिमको आनन्द पाइने हो थाहा छैन । सम्पत्ति आउने पुस्ताका लागि कमाएका हुन् भने गलत हो । गलत तरीकाले कमाएको सम्पत्तिमा सन्तान गलत भइदिए त्यो सम्पत्तिको अर्थ हुँदैन । सन्तान गतिलो बनाउन सके पनि त्यो सम्पत्ति खासै आवश्यक पर्दैन किनभने उनीहरूले राम्रो काम गरेर नै सम्पत्ति कमाउन सक्छन् । त्यसकारण गलत कार्यबाट अकुत सम्पत्ति कमाउने सोचलाई अहिलेबाट नै तिरस्कार गर्न सक्नुपर्छ अनि मात्र समाज राम्रो, मुलुक राम्रो र मानिसहरूको संस्कार राम्रो हुन्छ । अन्यथा जसरी आज हाम्रो मुलुक पछि परिरहेको छ त्यसैगरी पुस्ताैं पुस्तासम्म पछि नै परिरहनेछ । वास्तवमा सम्पत्ति मानिसहरूका लागि जरूरत हो । जिन्दगी जिउन पैसा चाहिन्छ । इच्छाहरू पूरा गर्न पनि पैसा चाहिन्छ । तर, पैसा मात्रै छ र मानिसमा सहयोगी गुणहरू छैन भने त्यो सम्पत्ति भएर पनि गरीब नै हो । पैसाले जिन्दगी चल्नछ तर जिन्दगी नै पैसा भने होइन । आज यही गलत सोचले गर्दा मुलुकको बेहाल भएको हामीले देखिराखेका छौं । मुलुकलाई समृद्ध बनाउन विचार र पैसाको लगानी चाहिन्छ । तर, हामीकहाँ वैध तरिकाले पैसा कमाउनेको भन्दा अवैध तरिकाले पैसा कमाउनेका फुर्ती बढी देखिन्छ , नेतामात्र खराब होइनन्, सबैजसो नागरिरकको सोच पनि राम्रो छैन अर्थात् सही र गलत खुट्याएर हेर्ने बानी जनतामा छैन । त्यसैले हामीले नेता र राज्यलाई सधैं गाली गर्नुभन्दा राम्रा मानिस, बुद्धिजीवी, पढेलेखेका शिक्षित वर्ग नै परिवर्तनका लागि अग्रसर हुनुपर्छ अनि मात्र मुलुक उँभो लाग्नेछ । यसका लागि राम्राराम्रा मानिसहरूको संगठन बन्नुपर्छ । हुन त यहाँ यी कुराहरू हुँदै नभएको पनि होइन तर अपुग छ र राम्रा कार्यहरू निरन्तर हुन सकिराखेका छैनन् । खराब कर्मको कहिल्यै भविष्य राम्रो हुँदैन । त्यसैले भविष्यलाई सम्झेर पनि विस्तारै यस्ता गलत कार्यबाट सम्पत्ति कमाउने सोचलाई त्याग्नुपर्छ । हाम्रो मुलुकमा मानिसहरू प्रायः सोझा नै देखिन्छन् तर केही खराब नेता, सरकारी कर्मचारी, व्यापारी, बिचौलिया छन् जो समाजको अगुवा बनेका छन् । अन्याय सहने र यस्तो खराब प्रवृत्तिको विरोध गर्ने बानी नहुँदा खराब संस्कार झन झन सक्रिय भएर आइराखेका छन् जुन कसैको लागि राम्रो होइन । यो मुलुकमा एउटा विडम्बना के छ भने देश चलाउनेहरू लालची, झगडालु स्वार्थी त छँदै छन् त्यसमाथि पनि कानून, पुलिस प्रशासन, सरकारी कार्यालय पनि चोखा छैनन् । एक पक्षले अर्को पक्षलाई दोष दिइराखेका हुन्छन् । नेताहरूले कर्मचारीलाई, कर्मचारीले नेताहरूलाई, प्रहरीले न्यायालय वा प्रशासनिक कर्मचारीलाई वा नेताहरूलाई, न्यायालयले नेताहरूलाई दोष देखाउँछन् । अर्थात् आफ्नो गल्ती नस्वीकार्ने तर अरूमाथि दोष थोपरेर आफू पानीमाथिको ओभानो बन्ने प्रवृत्ति सबै क्षेत्रमा पाइन्छ । सही र गलत छुट्याउनुभन्दा पनि आफन्त र पराइ भनेर मानक तयार पारिन्छ र त्यसअनुसार तर्क गरिन्छ । हाम्रो मुलुकमा एउटा उखान छ काम पनि छैन फुर्सद पनि छैन । यहाँका नेताहरू युवा नेताहरू पनि यही उखानले भनेजस्तै देखिन्छन् । बेरोजगार युवाहरूलाई रोजगार दिनसक्नु पर्छ । तर, नेपालमा शीप बढाउने र ज्ञान बढाउनेभन्दा पनि अल्छी गर्ने अनि सरकारलाई गाली गर्ने युवाको जमात बढी छ । यूरोप अमेरिकाका बयान गर्ने तर आप्mनो आचरणचाहिँ त्यसअनुसार नहुने युवाहरूले सरकारलाई गाली गरेको पनि सुहाउँदैन । हामीले माथि कुरा गरेजस्तै यस्ता मानिसहरूलाई मात्र किन दोष दिने देशको मिडियालाई हेरौं । अखबारहरू आदिलाई हेरौं । नेताहरूसँगको अन्तर्वार्तालालाई उनीहरूको बेअर्थका भाषणलाई ठूलो अक्षरमा छापिएको हुन्छ, टिभीमा देखाइएको हुन्छ । कसले कसलाई भेट्यो भन्ने समाचारले टीभी र अखबार भरिएका हुन्छन् । यस्तो अनावश्यक राजनीतिक कुराहरू धेरै हुन्छ । समाज परिवर्तनका काम गर्ने, उद्यम गर्ने सकारात्मक सोच भएका मानिसहरू तथा नयाँ विचार ल्याएका युवाहरू समाचारको प्राथमिकतामा कर्म पर्छन् । त्यसैले समाजमा भइराखेका विकृतिलाई औंलाएर सरकार, समाजलाई सही ट्र्याकमा ल्याउन मिडिया सतर्क हुनुपर्छ । शिक्षा समाधान, ज्ञान उपदेश नै एउटा यस्तो माध्यम हो जसले हरेक पक्षलाई सही ट्र्याकमा ल्याउँछ । अहिले मुलुकमा ठूलो समस्याको जड भनेकै कानूनको पालना नहुनु, बेरोजगारी, भ्रष्टाचार, रोगको माहामारीजस्ता कुरा हुन् । यिनको समाधानका लागि सबै पक्ष परिवर्तन हुनु जरुरी छ । मुलुकको विकासको गति विश्वमै सुस्त देखिन्छ । हामीलाई चाहिएको द्रुत विकास हो जो कहिल्यै भएन । कसलाई मात्र दोष दिने ? अब आशा गरौं, मुलुकका लागि एकपल्ट सबै परिवर्तन होऊँ । नयाँ व्यक्ति र विचार भएकाहरूलाई अगाडि सारौं । दृढ इच्छाशक्ति भएका र केही गर्नैपर्छ भन्ने सोच भएका मानिसहरू राजनीतिमा आउनुपर्छ । यस्ता मानिसहरूले नयाँनयाँ पार्टी खोल्नुपर्छ । यो देश बन्न समय लाग्ने छैन । यति मात्र होइन, प्रत्येक नागरिक खाली आशा गर्ने अरूको मुख ताक्ने गर्नु हुँदैन, आपैm अघि सर्नु पनि पर्छ, आफू नै सक्षम हुनु जरुरी छ । अन्यथा लोकतन्त्र मुलुकमा राज्यले अर्थात् जुनसुकै सरकार आए पनि तपाईं हामीहरूलाई लुटी नै राखेको हुन्छ । हामी छटपटिएर बस्नुपर्ने हुन्छ । रमेशकेशरी वैद्य

छापामा आज: न्यायलयमा २९ थरी बिचौलिया, निर्णायक राजनीतिमा लाग्नेकै प्रभाव बढी

४ असार, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा विविध विषय परेका छन् । मन्त्रीबीचको टसल, न्यायलयभित्रको बेथितिदेखि दूध किसानका पीडासम्मका विषय आजका पत्रपत्रिकाहरुमा समेटिएका छन् । अरुण तेस्रो जलविद्युत्त आयोजनाको सुरुङ खन्ने क्रममा पुरिएका ४ जनाको ३९ घण्टापछि जीवित उद्धार गरिएकोलाई सबैजसो दैनिक पत्रिकाले लेखेका छन् । कान्तिपुर …

राजपालाई भर्याङ बनाउँदै कांग्रेस

काठमाडौं , साउन १० । नेपाली कांग्रस र नेकपा माओवादी केन्द्रको गठबन्धन मुलुकका जल्दाबल्दा समस्याको सम्बोधनमा भन्दा बिचौलिया प्रकृतिको राजनीतिमा केन्द्रित हुँदा मुलुक जटिल संकटमा फसेको छ ।