काठमाडौं। मेगा स्टक मार्केट्स लिमिटेडको उद्घाटन गरिएको छ । नेपाल धितोपत्र बोर्डबाट पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा अनुमति, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट धितोपत्र दलाल सदस्य नम्बर ७५ र सिडिएस एन्ड क्लियरिङ लिमिटेडबाट राफसाफ सदस्यता लिई आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेसँगै कम्पनीको उद्घाटन गरिएको हो ।
शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले उक्त कम्पनीको उद्घाटन गरेका थिए । कम्पनीले सुशासन तथा नियम परिपालना र उच्च प्रविधि प्रयोगमार्फत लगानीकर्तालाई छिटो तथा सरल सेवा दिने प्रतिबद्धता व्यक्त गरेको छ । धितोपत्र दलाल सेवालाई विकेन्द्रीकरण गर्ने तथा पूँजीबजार विकासमा टेवा पुर्याउँदै कम्पनीलाई शीर्ष धितोपत्र व्यवसायी बनाउनेमा केन्द्रित रहने जानकारी समेत गराइएको छ । भदौ १० देखि लगानीकर्ताले ब्रोकर खाता खोलेर कम्पनीबाट कारोबार गर्न सक्नेछन् ।