तीनवटा क्राइम स्टोरीको निचोड : अपराध गरेर निर्धक्क अपराधी तर कुनै पनि बेला फन्दामा

एक महिलाको हत्या गरेको अभियोग लागेका शिवजी खत्री १६ वर्षपछि प्रहरीको नियन्त्रणमा परे। उनले मट्टितेल छर्केर ती महिलाको हत्या गरेको प्रहरीको दावी छ। अपराधपछि पनि निर्धक्क रहेका उनी फरक फरक व्यवसायसँग जोडिएका थिए। उनको अपराध यात्राबारे उनका परिवार पूरै बेखबर थिए। कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका ७ स्थित महालक्ष्मी सुगर मिलको…

सम्बन्धित सामग्री

काममा ढिलासुस्ती पनि अपराध

मुलुकभित्र विकासका काम निकै सुस्त भइरहेका बेला कर्मचारी र ठेकेदारलाई नियमन गर्न सरकारले ल्याएको अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयक संसदीय समितिबाट पास भएको छ । विधेयकले निर्माण कार्यमा बदमासी गर्ने कर्मचारी र ठेकेदारलाई अपराधी मान्ने व्यवस्था गरेको छ । त्यस्तो बदमासी गर्नेलाई फौजदारी कानूनअनुसार दण्डित गर्ने प्रस्ताव विधेयकमा गरिएको छ । विकास निर्माणका काममा भइरहेको ढिलासुस्तीको मुख्य कारण काम नगर्दा कुनै कारबाही नहुनु हो । ठेकेदारले काम नगर्दा बरु कारबाहीको व्यवस्था छ तर काम नगर्ने कर्मचारीलाई कारबाही गर्ने व्यवस्था छैन । त्यही कारण कर्मचारी अनुत्पादक बनेको हो भन्न सकिन्छ । त्यसैले यस्तो व्यवस्था विकास निर्माणका क्षेत्रमा मात्र होइन, सबै खालका सरकारी सेवाप्रवाहमा समेत लागू गर्न आवश्यक देखिन्छ ।  विधेयकमा आयोजनाको अनुगमन प्रत्येक ६ महीनामा गरिने र त्यसको मूल्यांकन गरिने उल्लेख गरिएको छ । अनुगमन गर्दा कोही दोषी पाइए कारबाही गर्ने व्यवस्था सकारात्मक छ । तर, यहाँनेर के स्मरणीय छ भने नेपालमा भएका धेरै कानूनमा विश्वकै उत्कृष्ट व्यवस्था उल्लेख भएको छ । तर, जब तिनको कार्यान्वयनको समय आउँछ त्यसमा छिद्र नै छिद्र देखिन्छन् जुन छिद्रको प्रयोग गरेर गलत काम भइरहको छ । गल्ती गर्नेहरू कारबाहीबाट उन्मुक्ति पाइरहेका छन् । विकास निर्माणको क्षेत्रमा काम हुन नसकेको भन्दै काम गराउन पटकपटक कानून र नीति परिवर्तन गरिएको छ । तैपनि कार्यशैलीमा भने सुधार आएको छैन ।  धेरै देशले स्रोत नभएर विकास निर्माणका लागि बजेट व्यवस्था गर्न सकेका छैनन् । नेपालमा भने स्रोत भएर पनि परिचालन गर्न सकिएको छैन । सरकारी संयन्त्रको कार्यक्षमता कमजोर रहेको भनी विश्लेषण गर्ने गरिएको छ । वास्तवमा क्षमता नभएको होइन, जानाजान काम नगरिएको हो । काम गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग आदिको फन्दामा पर्न सकिने तर काम नगर्दा कतै उत्तरदायी बन्नु नपर्ने र कारबाही पनि भोग्नु नपर्ने हुँदा त्यसलाई नै कर्मचारीले सफलता मान्ने प्रवृत्ति हाबी हुँदा काम नभएको हो । त्यसैले काम नगर्नु, ढिला गर्नु पनि भ्रष्टाचार नै हो र त्यसैअनुसार कर्मचारीलाई कारबाही गर्नुपर्छ भन्ने आवाज पटकपटक उठ्दै आएको हो । अहिले समितिबाट पारित विधेयकले केही मात्रामा यसलाई सम्बोधन गर्न खोजेको देखिन्छ ।  तर, ढिलासुस्ती भन्ने शब्दमात्रै राखेर कानून बनेमा त्यो कार्यान्वयनमा समस्या आउन सक्छ । के के भएमा ढिलासुस्ती मानिने हो त्यो कानूनमा स्पष्ट उल्लेख हुनुपर्छ । कानूनमा अमूर्त शब्दावली परे भने सरसर्ती हेर्दा खुब राम्रो लाग्छ तर कार्यान्वयनमा जाँदा त्यो व्यर्थको व्यवस्था हुन्छ । त्यसैले यस्ता कानून बनाउँदा संसद्मा गहन छलफल हुनुपर्छ र छिद्रहरू नहुने खालको कानून बनाउनुपर्छ ।  संसद्ले कार्यतालिका बनाएर काम गर्ने भनी क्यालेन्डर पारित गरिएको छ । यसले सांसदहरूलाई तयारी गर्ने समय दिन्छ । सांसदहरूमा अध्ययनशीलता देखिँदैन । पारित विधेयकमा अनुगमनसम्बन्धी व्यवस्था गरिएको छ तर कसले र कसरी अनुगमन गर्ने हो त्यो स्पष्ट भएन भने त्यही व्यवस्था भ्रष्टाचारको कारक बन्न पनि सक्छ । त्यसैले कार्यान्वयनयोग्य कानून बनाउन सांसदहरू गम्भीर बन्नु आवश्यक देखिन्छ ।

यो देशको समस्या के हो ?

देशभित्र जागीर नपाउने र पढाइका नाममा कमाइ गर्न खोज्ने नेपालीहरू वर्षौंदेखि विदेश गइरहेकै थिए । तर केही समययता पढेलेखेका, बैंकका उच्च तहमै काम गरिरहेका, सरकारी तथा निजीक्षेत्रमा राम्रै नाम, दाम भएकाहरू पनि धमाधम विदेश गैैरहेका खबरहरू आएको आयैै छन् । केही महीनाभित्रै सयौंको संख्यामा चार्टर्ड एकाउन्टेन्टहरू, जो नेपालमा राम्रै गरिरहेका थिए, समेत क्यानडा लगायतका देश पलायन भइराछन् बा ! यो देश बस्नै नहुने भएको हो त ? यो सिएरा लियोन या सिरिया भएको हो ? कि कंगोमा जस्तो काटाकाट मारामार भएको हो ? त्यस्तो भएको त केही पनि छैन । बरु भएको लडाइँ रोकिएको छ । अफगानिस्तानमा जस्तो तालिबानी शासनशैली पनि आएको होइन । तैपनि किन यो भागाभाग ?  मैले समाजका प्रतिष्ठित, बुद्धिजीवी, प्रहरी, नेता लगायतका मानिसहरूसँग भेटेर जान्ने प्रयास गरेँ । शुरूमा मैले एक ठूलै व्यवसायीलाई भेटेर सोधेँ, ‘हिजोआज तपाईंको धन्दा कस्तो चलिराछ ?’ उनले भने, ‘राजनीति र कर्मचारीतन्त्रले गरिखान दिएनन् । धेरै गाह्रो भो ।’ मैले फेरि सोधेँ, ‘हैन गत एक दुई दशकलाई फर्केर हेर्दा त तपाईंहरूले राम्रै प्रगति गरेको देख्छु त म । बिल्डिङहरू हेर्दा, शहरमा गुडेका गाडीहरू हेर्दा, तपाईंहरूको छनकभनक हेर्दा राम्रै देखिन्छ त ।’ व्यवसायीले अलि रिसाएजसरी मलाई भने, ‘अलि बिस्तारै बोल्नुस्, हाकिम र नेताले सुन्लान् । अरु देश कहाँ पुगे । हामी कहाँ छौं । गाडी कुदेको र बिल्डिङ उठेको देखेर मात्र हुन्छ ?’ मलाई लाग्यो, पक्कै केही समस्या त छ । अनि एकजना सरकारी हाकिमकहाँ सोध्न गएँ । ‘हैन हाकिमसाप, उद्योगी, व्यवसायीलाई किन दु:ख दिने गरेको ? खासमा तपाईंहरूको समस्या चैं के हो ?’ हाकिमले बडो गम्भीर हुँदै भने, ‘हेर्नुस्, पत्रकार बन्धु । उद्योगी, व्यवसायीले सम्पत्ति कमाउने । हामी चैं कलम मात्र घुमाउने ? फेरि हामी त जागीरे । नेता, मन्त्रीले जता जा भन्छन्, उतै गएर गर्ने न हो ? अनि काम कसरी गर्ने त ?’ मैले फेरि सोधेँ, ‘हैन तपाईंलाई देश दुख्दैन ? हाकिमले भने, ‘देश नि दुख्छ कतै ? बरु अरु विभागका साथीहरू काजमा वा विदेश गइरहँदा आफूहरू जान नपाउँदा भने हाम्रो मन चैं दुख्छ । फेरि हाम्रो काम व्यवसायीका कुरा सुन्ने होइन, ‘जसो जसो मन्त्री, उसै उसै स्वाहा न हो ।’ मैले न्याय र सुशासनका लागि काम गर्ने एक प्रहरी अधिकृत सम्झेँ । अनि दौडिएँ भेट्न । सोधेँ, ‘तपाईंको दृष्टिमा यो समय राष्ट्रको प्रमुख समस्या के हो जस्तो लाग्छ ?’ पुलिस अफिसरले भने, ‘यो राष्ट्रको प्रमुख समस्या नै ‘ल एन्ड अर्डर’ हो । अर्थात् कानून व्यवस्था । देशभरि भन्सार छली भैराछ । भ्रष्टाचार भइराछ । कर्मचारीले काम नगर्ने, अनि दोष चाहिँ प्रहरीलाई दिन्छन् ।’ मैले सोधेँ, ‘केही हत्या, बलात्कार र भ्रष्टाचार त प्रहरीहरूबाट पनि भैराछ भन्छन् नि त !’ उनले भने, ‘हजुर, सारा दिन खोजबिन गर्दैमा बित्छ । हामीलाई एक मिनेट त समय हुन्न, तपाईं हत्या र बलात्कारको कुरा गर्नुहुन्छ । म त भन्छु कि ती प्रहरीहरू भाग्यमानी हुन्, जो यस्तो व्यस्त जिन्दगी हुँदा हुँदै पनि अपराध कर्म गर्न समय पाउँछन् । यसमा कुनै शंका छैन कि देशमा अपराध धेरै बढ्या छ । तर प्रहरीले के मात्रै गर्ने ? एयरपोर्टमा सुन समात्न जाने कि हप्ता उठाउने, बैंक लुट्न सहयोग जुराउने कि चोरी मिलाउन हिँड्ने ? अपराध बढेको छ भन्नुको मतलब अपराधी पनि बढेका छन् । तर प्रहरीहरू त बढेका छैनन् । किनकि दरबन्दी बढेको छैन । अनि प्रहरी कुन कुन अपराधमा मात्रै जान भ्याउँछन् त ?’ ‘त्यत्ति नै कारण हो त अपराध रोक्न प्रहरी चुकेको, अपराधीलाई नसमातेको ?’ उनले भने, ‘हेर्नुस्, आठ दिशा छन् । अपराधी कुनै पनि दिशामा भाग्न सक्छन् । यदि आठै दिशामा अपराधीलाई खोज्न र समात्न पठाउने हो भने त हरेक दिशामा कम्तीमा दुई दुई प्रहरी त खटाउनै पर्‍यो । भनेको एउटा अपराधी समात्न कम्तीमा १६ प्रहरी चाहियो । अझ बिच्च बिच्चमा केही प्रहरी भागे पनि थप अरू चाहिए । फेरि नेता, पूर्व नेता, मन्त्री, भूतमन्त्री आदिका सुरक्षार्थ खटाउन पनि प्रहरी नै चाहिए । शान्ति सेनादेखि जुलुस, र्‍यालीमा गोली हान्न पनि प्रहरी नै पठाउनै पर्‍यो । अनि कहाँबाट ल्याउने त्यत्तिका प्रहरी ? मलाई चित्त बुझेन । अनि यसो सोचेँ, पुलिसका ठूला हाकिम त गृहमन्त्री हुन् । कतै तिनीबाट पो सही जवाफ पाइन्छ कि ? अनि दौडिएँ मन्त्री क्वार्टरतिर । सोधेँ, ‘मन्त्रीजी देशमा दिनदहाडै हत्या, हिंसा, बलात्कार, तस्करी भैराछ । तर ‘ल एन्ड अर्डर’ किन यति सुस्त ?’ गृहमन्त्रीले भने, ‘ल कहाँ सुस्त हुनु ? बरु चुस्त, दुरुस्त नै छ त ।’ मैले फेरि सोधेँ, ‘अर्डर’ चैं चुस्त, तर ‘ल’ भने सुस्त हो ?’ मन्त्रीले भने, ‘मैले भनेँ नि यो सबै एकमुष्ट बुझ्नुस् न तपाईं ।’ मैले फेरि सोधेँ, ‘मन्त्रालयहरूमा हिजोआज केही कामै हुन्न । किन होला ?’ मन्त्रीले भने, ‘खै यी कर्मचारीहरूले कामै गर्दैनन्, टेर्दै टेर्दैनन्, के गर्नु ?’ मन्त्रीजीको कुरा झन् चित्त नबुझेपछि म एक ठूलै नेतालाई भेट्न गएँ र सोधेँ, ‘नेताजी ल भन्नुस् त देशको अहिलेको सबैभन्दा ठूलो समस्या के हो ?’ नेताले भने, ‘हेर्नुस्, सबैभन्दा ठूलो समस्या त एकपटक जहाँबाट चुनाव जितेको हो, फेरि त्यंैबाट जित्नु छ । चुनाव नजिते राजनीति सकिन्छ । अनि चुनाव जित्न सबै थोक नगरी हुँदैन । यहाँका जनता नै खराब छन् । मेरो छोरालाई जागीर दे भन्छन् । ठेक्का मिलाइदे भन्छन् । अब सबै कुरा मिलाउन थालेपछि त केही न केही बिग्रिहाल्छ नि !’ मैले भने, ‘म एउटा पत्रकार र बुद्धिजीवीको नाताले देशको समस्या हल गर्नका लागि तपाईंलाई के मद्दत गर्न सक्छु त ?’ नेताले भने, ‘यसो मेरो कुरा अझ राम्रोसँग मिलाएर छापिदिनुस् । तपाईं बुद्धिजीवीका नाताले त हैन, तर गुण्डा बदमासका नाताले भने तपाईं मेरो मद्दत पक्कै गर्न सक्नुहुन्छ ।’ मैले भने, ‘गुण्डा बदमास हुनका लागि त मैले फेरि नयाँ जन्म लिएर आउनुपर्‍यो हैन ?’ नेताले भने, ‘त्यसोभए त्यै बेला आउनुस् न त । लोकतन्त्र त अमर छँदै छ । चुनाव त भइनै रहन्छन् । के भो र ? फेरि पछि आउनुस् न त ।’ म अवाक् भएर त्यहाँबाट फर्किएँ । मैले त देशको समस्या ठम्याउनै सकिनँ भन्या । तपाईंले ठम्याउनु भा त छ ? भए मलाई पनि भन्नुस् है !

पीडितकै घरभित्र पसेर अपराधी खोज्नुपर्ने बेला आयो : एआईजी सुवेदी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले पछिल्लो समय हत्या, बलात्कार जस्ता आपराधिक घटनामा परिवारभित्र कै व्यक्तिको संलग्नता बढेको बताएका छन् । चितवनको भरतपुरमा मंगलबार आयोजित अपराध अनुसन्धान सम्बन्धी समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले पछिल्लो समयमा आपराधिक कार्यको शृङ्खला र प्रवृत्ति फरक भएको बताए ।अधिकांश घटनामा आफन्तकै संलग्नता हुने गरेको भन्दै उनले पीडितको घरभित्रै प्रहरीले अनुसन्धान केन्द्रित गर्नुपर्ने बेला आएको बताए । ‘अब हाम