अर्थतन्त्रमा देखिएको संकट समाधानका उपाय खोजी गर्ने उद्देश्यले गठित उच्च स्तरीय समितिले यसै साता प्रारम्भिक प्रतिवेदज तयार गर्ने भएको छ । प्रतिवेदनमा अहिले देखिएका तरलतालगायतका समस्याहरूको कारणको बारेमा बुँदागत रूपमा उल्लेख गरिने बताइएको छ ।
सरकारले केही समय अगाडि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाको अध्यक्षतामा उक्त समिति गठन गरेको थियो । असार मसान्तसम्मको समयावधि दिइएको सो समितिले अर्थतन्त्रका विभिन्न क्षेत्रको अनुगमन गरिरहेको जानकारी खतिवडाले दिए । ‘प्रतिवेदन तयार गर्नुभन्दा अर्थतन्त्रको अवस्थाको बारेमा अनुगमन गर्न हामीले अफ्नो ध्यान केन्द्रित गरेका छौं । त्यही पनि अहिलेसम्मको अनुगमनको निष्कर्षलाई प्रारम्भिक प्रतिवेदनमा समेटिनेछ,’ डा. खतिवडाले अभियानसँग भने ।
देउराली–जनता १९ औं वर्षमा
देउराली जनता फर्मास्युटिकल्स प्रालि १९ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले शनिवार आयोजित वार्षिकोत्सव कार्यक्रममा दीर्घसेवा पुर्याएका तथा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कार प्रदान गर्यो । १०० प्रकारका औषधि उत्पादन गर्दै आएको कम्पनीले नेदरल्यान्डको गुणस्तर निर्धारण संस्था (डीनएभी) बाट आईएसओ १४००१ र आईएसओ ९००१ तथा विश्व स्वास्थ संगठनले निर्धारण गरेको मापदण्ड डब्लुएचओ–जीएमपी प्रमाणपत्रसमेत प्राप्त गरेको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।
वर्ष ५, अंक २२, २०६६, माघ १८–२४