काठमाडौं। बिहीवार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले २०८० साउन १ गतेदेखि लागू हुनेगरी तोकेको श्रमिकको न्यूनतम पारिश्रमिकसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न नसकिने नेपाल उद्योग परिसंघले बताएको छ । परिसंघले शुक्रवार विज्ञप्ति जारी गर्दै नयाँ पारिश्रमिक लागू गर्न नसकिने उल्लेख गरेको हो ।
‘सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको सन्दर्भमा परिसंघको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने चाहना हुँदाहुँदै पनि विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा निजीक्षेत्र छैैन ।’ अहिले मुलुकको अर्थतन्त्र मन्दीमा रहेको, बैंकको ब्याजदर उच्च रहेको, बजार माग संकुचन भएको र न्यून उत्पादनका कारण निजीक्षेत्रकोे मनोबल घट्दै गएको परिसंघको भनाइ छ । अहिले औद्योगिक उत्पादनमा ७० प्रतिशतसम्म ह्रास आएको र उद्योगी व्यवसायीले लगानीका योजना स्थगन गरिरहेको पनि परिसंघले बताएको छ ।
विद्यमान चुनौतीपूर्ण अवस्थामा सुधार ल्याई अर्थतन्त्रलाई चलायमान बनाउन, समग्र बजार माग बढाउने नीति अवलम्बन गर्न र उत्पादन लागत घटाउन तथा निजीक्षेत्रको मनोबल बढाउनेतर्फ अग्रसर हुन सरकारसँग परिसंघले माग राखेको छ ।