नेपालमा पर्यटक आगमनको संख्या कोरोना शुरू हुनुअघिको अवस्थामा पुगे पनि होटेल व्यवसायीहरूले एक तिहाइमात्रै अकुपेन्सी रहेको भन्दै सरकारसँग विभिन्न सुधारको माग गरेका छन् । २०२३ को १० महीनामा पर्यटक आगमन संख्या ८ लाख नाघिसकेको छ र यो वर्ष १० लाख पर्यटक आगमन हुने भनी सरकारले दाबी गरेको छ । यो वर्ष यो संख्या पुग्ने देखिन्छ तर यतिका पर्यटक आए पनि होटेलहरूको अकुपेन्सी एकतिहाइ मात्रै भएको हो भने यतिका पर्यटक कहाँ बसे त ? भन्ने प्रश्न उठ्छ । पर्यटक संख्यामा उपलब्धि प्राप्त भए पनि यो संख्या अपुग हो भन्ने कुरा यसले देखाएको छ ।
पछिल्लो समयमा नेपालमा होटेलमा लगानी निकै बढेको छ । पाँचतारे होटेलहरू धमाधम खुल्दै छन् र केही निर्माणाधीन होटेलहरू निकट भविष्यमै सञ्चालनमा आउँदै छन् । होटेलको संख्या जति बढेको छ त्यसको दाँजोमा पर्यटक आगमन बढ्न सकेको छैन । आएका पर्यटक पनि तारेहोटेलमा नबसेर सामान्य होटेलमा बसेको देखिन्छ । त्यस्तै सरकारले पर्यटक आगमनको संख्या गणना गर्दा अध्यागमन कार्यालयले दिने तथ्यांकलाई आधार मानेको देखिन्छ । नेपाली नागरिकता त्यागेका गैरआवासीय नेपालीलाई पनि पर्यटकको संख्यामा गनेको देखिन्छ । ती नेपाल आए पनि होटेलमा बस्दैनन् । त्यसले पनि अकुपेन्सी दर कम भएको हुन सक्छ । जेहोस्, सरकारले पर्यटक आगमनलाई ऐतिहासिक भनेर उपलब्धि मानिरहँदा होटेलहरूले व्यवसाय नपाइरहेको तथ्य आएको छ । यसले नेपालमा बनेका पूर्वाधारको दाँजोमा पर्यटक निकै बढ्नुपर्ने देखाएको छ ।
पर्यटक आगमन बढाउन सरकारले खासै भूमिका खेलेको छैन । निजीक्षेत्र अर्थात् होटेल र ट्राभल एजेन्सीहरूको सक्रियताबाट मात्रै यति धेरै पर्यटक आएको देखिन्छ । सरकारले पर्यटन प्रवर्द्धनका लागि ठूला कार्यक्रम आयोजना गरेको छैन । नेपाल पर्यटन बोर्डलाई बजेट पनि खासै दिएको छैन । त्यस्तै पर्यटक आगमन बढाउन नेपालको कूटनीतिक क्षेत्रले कुनै रणनीति लिएको पनि पाइँदैन । यस्तोमा नेपालको प्राकृतिक विशेषताकै कारण पर्यटक नेपाल आएको देखिन्छ ।
नेपालका लागि विदेशी मुद्रा आर्जनको दिगो स्रोत पर्यटन नै बन्ने कुरा निर्विवाद छ । तर, अहिले विप्रेषणबाट विदेशी रकम प्रशस्त भित्रिएकाले हुन सक्छ, सरकारले पर्यटनलाई जति महत्त्व दिनुपर्ने हो त्यति दिएको पाइँदैन ।
अझ सरकारकै कारण पर्यटन व्यवसायमाथि असर पुगेको छ । सडक विस्तारको काम सुस्त हुँदा नेपालभित्र आवतजावत गर्न निकै सास्ती भइरहेको छ भने समय पनि बढी लाग्ने गरेको छ । काठमाडौंबाट पोखराको दूरी भनेको ३–४ घण्टामात्रै हुनुपर्ने हो ।
तर, सडक बिग्रिएकाले अहिले झन्डै १० घण्टा लाग्ने गरेको छ । यति दूरी विकसित देशमा भए एक डेढ घण्टाको मात्रै हो । सडक विस्तार र सुधार हुनुपर्छ, तर त्यसले यातायातलाई प्रभावित पार्नु हुँदैन । त्यस्तै सडकको यात्रा कष्टकर हुँदा हवाई भाडा निकै महँगो बनाइएको छ । यस्तोमा काठमाडौंमा झर्ने पर्यटक पोखरा, लुम्बिनी वा सौराहा जस्ता ठाउँमा पुग्न आत्तिने अवस्था छ । त्यसैले सडक पूर्वाधार तीव्र गतिमा सुधार हुन जरुरी छ ।
नेपालका लागि विदेशी मुद्रा आर्जनको दिगो स्रोत पर्यटन नै बन्ने कुरा निर्विवाद छ । तर, अहिले विप्रेषणबाट विदेशी रकम प्रशस्त भित्रिएकाले हुन सक्छ, सरकारले पर्यटनलाई जति महत्त्व दिनुपर्ने हो त्यति दिएको पाइँदैन । विदेशी मुद्रा आर्जनमा पर्यटन विप्रेषणपछिको महत्त्वपूर्ण स्रोत हो । त्यसैले पर्यटन व्यवसायमा देखिएका समस्या सुधार गर्न सरकार तयार हुनुपर्छ र व्यवसायीका सुझाव मनन गर्नु जरुरी छ ।
नेपाल आएका पर्यटकमध्ये अधिकांश पोखरा र त्यसआसपासका क्षेत्रमा बढी पुग्ने गरेका छन् । ती क्षेत्रले पर्याप्त पर्यटक पाएको अनुमान गर्न सकिन्छ । पोखराकै पनि तारे होटेलहरूको अकुपेन्सी शतप्रतिशत छैन । अहिले पदयात्रा क्षेत्रमा देखिएको भीड नेपाली पर्यटकको हो । यसले पर्यटनलाई भरथेग गरे पनि पर्याप्त लाभ भने दिँदैन । त्यसैले पर्यटन प्रवर्द्धनका भरपर्दा कार्यक्रम चलाउन आवश्यक छ । त्यस्तै सडक पूर्वाधारमा निकै सुधार गर्नु जरुरी छ । लाखौंलाई रोजगारी दिने यस व्यवसायलाई पूर्णक्षमतामा सञ्चालन हुन दिन सरकारले आफ्ना तर्फबाट पूरा सक्रियता देखाउन ढिला गर्नु हुँदैन ।