कर्णाली करिडोर अन्तर्गतको हिल्सा सिमकोट खण्डको ताक्रु खोलमा पक्की पुल निर्माणकार्य सुरु भएको छ । निर्माण कम्पनी पक्षले चार वर्षपछि निर्माण सामाग्री र मेशिन निर्माण स्थलमा पुर्याएपछि काम सुरु भएको हो ।
हिल्सा सिमकोट सडक आयोजनासँग २०७४ साल साउन ६ गते सम्झौता भएको भएपनि अहिले आएर ताक्रु खोलाको पक्की पुलको निर्माणकार्य सुरु भएको आयोजना निमित्त योजना प्रमुख दीपकबहादुर शाहीले बताउनुभयो । पुलको फाउण्डेशन खन्ने कार्य अन्तिम चरण पुगेको, छड र सिमेन्ट निर्माण स्थलमा पुगेको समेत उहाँले बताउनुभयो । यसअघि सडक सञ्जाल पुल निर्माण स्थलमा नजोडिएको कारण काम गर्न ढिलाइ भएको आयोजनाले जनाएको छ ।