काठमाडौँ महानगरपालिकाले डेङ्गु संक्रमितहरुका लागि आजबाट २४ घण्टे हटलाइन सुरु गरेको छ । महानगरका मेयर बालेन्द्र शाहका अनुसार डेङ्गु भएको संक्रमित भए वा भएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट नै परामर्श पाउन सक्नु सक्ने छन्। त्यस्तै आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा लिन सक्नु सक्ने मेयर शाहले बताएका छन्। उनले डेङ्गु विरुद्धमा टोल टोल वा सामूदायीकरुपमा नै सक्रिय भएर लाग्न पनि अपिल गरेका छन्।उनले भनेका छन् 'डेङ्गु जसरी समूदायमा फैलाएको छ, त्यसको रोकथाम र नियन्त्रणका लागि अत्याधिक सचेतना र क्रियाशीलताको आवश्यकता भएको कुरा हामी सबैले अनुभव गरेको कुरा हो । यसका लागि महानगर पहिलेदेखि नै महानगरस्तरमा सक्रिय रहेको जानकारी गराउँदछौँ । भइरहेका कार्यक्रमहरुलाई थप विस्तार गर्दै नयाँ कार्यक्रमहरु पनि ल्याएर स्रोत तथा जनशक्तिको अधिकतम प्रयोग गरिरहेका छौँ । 'पछिल्लो समय डेङ्गु संक्रमित बिरामीहरु बढी रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो । प्रायः दिनको समय, विषेशगरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन मन्त्रालयले आग्रह गरेको छ ।