५१ पशुपक्षी फार्मलाई अनुदान

म्याग्दी । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले चालू आर्थिक वर्ष २०७८/७९ मा तीनओटा कार्यक्रम मार्फत ५१ ओटा पशुपक्षी फार्मलाई अनुदान उपलब्ध गराउने भएको छ ।    साना पशुपक्षी तथा मत्स्य व्यवसाय फार्म विस्तार तथा स्थापना गर्न ४०, नयाँ मत्स्य पोखरी निर्माणका लागि ७ र माछा मासु तथा डेरी पसल निर्माण सुधारका लागि चारओटा फार्म छनोट भएका हुन् । केन्द्रबाट उनीहरूले रू. ५८ लाख ५० हजार अनुदान पाउने भएका छन् । केन्द्रका सूचना अधिकारी तथा पशु सेवा प्राविधिक सुभास रेग्मीले छनौट भएका ५१ ओटा फार्मका सञ्चालकसँग अनुदान उपलब्ध गराउने सम्झौता गरिसकेको जानकारी दिए । ‘सार्वजनिक सूचना जारी गरेर प्राप्त भएको आवेदनको स्थलगत मूल्यांकन गरेर कार्यविधि अनुसार छनोट र सम्झौता गरिएको हो,’ उनले भने, ‘कुल लागतको ५० प्रतिशत अनुदान उपलब्ध गराउने र आधा रकम सञ्चालकले बेहोर्नुपर्ने सम्झौता छ ।’ कुल ५२ लाख ५० हजार बजेट विनियोजन भएको साना पशुपक्षी फार्म विस्तार तथा स्थापना कार्यक्रमका लागि १५८ ओटा आवेदन परेको थियो । रू. २ लाख बजेट विनियोजन भएको नयाँ मत्स्य विकास कार्यक्रम र रू. चार लाख बजेट रहेको माछा मासु तथा डेरी पसल निर्माण सुधार कार्यक्रममा आठ/आठओटा आवेदन परेका थिए । बाख्रा, गाईभैंसी, बंगुर, कुखुरापालनका पुराना फार्मको क्षमता विस्तार र नयाँ फार्म स्थापना गर्न एक लाख ३२ हजार २५० का दरले अनुदान पाउने केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले बताए । नयाँ मत्स्य पोखरी निर्माणका लागि ५० हजारका दरले र मासु, डेरी पसलले एक लाखका दरले अनुदान पाउने भएका छन् । दूध, माछा, अण्डा उत्पादन बढाएर आत्मनिर्भर बनाउने र पशुपालनतर्फ आकर्षण बढाउन गण्डकी प्रदेश सरकारको योजना अनुसार अनुदान दिन लागिएको हो । छनौट भएका सबै फार्मका सञ्चालकलाई अभिमुखीकरण गरिएको थियो । बाँकी कार्यक्रमका लागि पुन: सूचना आह्वान गरिएको केन्द्रले बताएको छ । रासस

सम्बन्धित सामग्री

आठ सय कृषि फार्मलाई अनुदान

गण्डकी, ६ भदौ । व्यावसायिक पशुपक्षी फार्म र कृषि फार्म सञ्चालन गर्ने किसानलाई गण्डकी प्रदेश सरकारले अनुदान दिएको छ । गत आवमा पशुपक्षीतर्फ चार सय ८१ र कृषितर्फ तीन सय ७३ फार्मले कुल लागतको ५० प्रतिशत अनुदान पाएका छन् । कृषि तथा भूमि व्यवस्था मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गृष्म न्यौपानेका अनुसार पशुपक्षीपालक […]

परम्परागत शैलीलाई व्यावसायिकतामा ढाल्दै किसान

बलेवा, ७ साउन । बलेवा जिल्लामा व्यावसायिक पशुपक्षी पाल्ने किसानको सङ्ख्या वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आव २०७९/०८० मा व्यावसायिक फार्म सञ्चालन गर्ने किसानको सङ्ख्या वृद्धि भएको हो । गत वर्षभन्दा आव २०७९/८० मा जिल्लाभर ३७ पशुपक्षी फार्म थप भएका छन् । वैदेशिक रोजगारीबाट फर्केका, सरकारको लागत अनुदान पाएका र परम्परागत […]

मासु, अण्डा र दूधमा आत्मनिर्भर बन्दै तनहुँ

दमौली । पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै दूध, मासु र अण्डामा तनहुँ आत्मनिर्भर बन्दै गएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र स्थानीय तहले कृषकलाई प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका हुन् । जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्न सफल भएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले बताए । आत्मनिर्भर बनेसँगै यहाँ उत्पादन भएका दूध, मासु र अण्डा जिल्ला बाहिर पनि निर्यात हुन थालेको उहाँको भनाइ थियो । उनका अनुसार अनुसार प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यकपर्नेमा तनहुँमा एक सय १८ दशमलव ५४ लिटर उपलब्धता छ । त्यस्तै प्रतिव्यक्ति प्रतिवर्ष ९४ केजी मासु आवश्यकपर्नेमा ९४.४१ केजी मासु उपलब्धता छ भने ४८ वटा अण्डा आवश्यकपर्नेमा ८२.५९ वटा अण्डा उपलब्धता रहेको प्रमुख डा श्रेष्ठले जानकारी दिए । यस हिसाबले प्रतिव्यक्तिका लागि दूधमा २७.५४ लिटर, मासुमा ०.४९ केजी र अण्डामा ३४.५९ गोटा बढी उत्पादन भइरहेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा दूध ३८ हजार आठ सय ३८ र मासु चार हजार सात सय ४३ मेट्रिकटन उत्पादन भएको छ । अण्डा दुई करोड ७० लाख ६० हजार वटा उत्पादन भएको छ । कार्यालयका अनुसार दूधको २९ हजार सात सय ८२ र मासुको चार हजार पाँच सय ८१ मेट्रिक टन तथा अण्डाको एक करोड ७३ लाख ४५ हजार गोटा माग छ ।  दूध नौ हजार ५६ र मासु एक सय ६२ मेट्रिक टन बढी उत्पादन भएको छ भने अण्डा ९७ लाख १५ हजार बढी उत्पादन भइरहेको प्रमुख डा श्रेष्ठले जानकारी दिए । आर्थिक वर्ष २०७७/७८ मा दूध ३७ हजार नौ सय २८, मासु चार हजार पाँच सय ७६ मेट्रिकटन उत्पादन भएको थियो भने अण्डा दुई करोड ५९ लाख ९५ हजार गोटा उत्पादन भएको कार्यालयले जनाएको छ ।  जिल्लामा पशुपक्षीको सङ्ख्यामा पनि वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार गाईको सङ्ख्या ५२ हजार आठ सय तीन, भैँसीको सङ्ख्या ५७ हजार पाँच सय ४४, भेडाको सङ्ख्या सात सय २६, बाख्राको सङ्ख्या ३९ हजार चार सय ३४, कुखुराको सङ्ख्या एक लाख ९५, हाँसको सङ्ख्या १२ हजार छ सय ९४, बङ्गुरको सङ्ख्या ४८ हजार तीन सय ११ थियो । केन्द्र प्रमुख डा श्रेष्ठका अनुसार जिल्लामा व्यावसायिक पशुपक्षी फार्म दर्ता पनि बढेको छ । जिल्लामा दुई सय १९ गाई, ८६ भैँसी, तीन सय ४१ बाख्रा, एक सय १३ बङ्गुर, दुई सय ५५ कुखुरा, ५४ माछा र ३५ घाँस, पशुपक्षी फार्म सञ्चालनमा छन् । दूध उत्पादन बढेपछि जिल्लाका विभिन्न ठाउँमा दूध सहकारी सङ्कलन केन्द्रसमेत खोलिएका छन् । सहकारीमार्फत कृषकलाई दूध बजारीकरणमा सहयोग पुगेको शुक्लागण्डकी नगरपालिका–४ स्थित शुक्ला कृषि पर्यटन सहकारी संस्थाले जनाएको छ । उक्त सहकारीले दैनिक एक हजार लिटर दूध बिक्री वितरण गर्दै आएको सहकारीका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिए । उनका अनुसार अनुसार सहकारीले कृषकलाई भैँसीको दूध रू एक सय र गाईको दूध रू ९० प्रतिलिटर उपलब्ध गराउँदै आएको छ ।  “दूध बिक्री वितरणका लागि सहकारीले गाडी पठाएर गाउँबाट दूध सङ्कलन गर्दै आएको छ । दूध सङ्कलनका लागि छ ठाउँमा सङ्कलन केन्द्र स्थापना गरेका छौँ”, सिक्देलले भने, “दूध बिक्रीका लागि बजारको समस्या छैन । स्थानीय बजारमै दूध खपत हुन्छ ।” दुई हजार पाँच सय शेयर सदस्य आबद्ध सहकारीबाट एक सय कृषकले दूध बिक्रीवितरण गर्दै आएका छन । दूध बिक्री गरेर कृषकले मासिक रू एक लाखसम्म आम्दानी गर्दै आएका छन् । म्याग्दे गाउँपालिकाबाट यस वर्षमात्रै एक लाख ६२ हजार आठ सय ८९ लिटर दूध उत्पादन भएको छ । म्याग्दे दुग्ध उत्पादक सहकारीले एक लाख २१ लाख आठ सय ६८ लिटर, गौसेवा दुग्ध उत्पादक सहकारीले २३ हजार ६८ सहित अन्य दुग्ध उत्पादक सहकारीले १७ हजार नौ सय ५२ लिटर दुग्ध बिक्री गरेका छन् । पशुपालनबाट मनग्य आम्दानी हुने भएपछि विदेशबाट फर्किएका युवा यसमा आकर्षित भएका हुन् । विदेशबाट फर्किएका स्थानीय पाँच युवाले एग्रो प्रालि दर्ता गरी व्यावसायिकरुपमा पशुपालन गरिरहेका छन् । उक्त एग्रोमा हाल एक सय ५० गाईभैँसी रहेका प्रालिका व्यवस्थापक विशाल पौडेलले जानकारी दिए । उनका अनुसार अनुसार फार्ममा ३० वटा गाई छन् । “फार्ममा ५० भैँसी र ३० गाई दुधालु छन्”, पौडलले भने, “फार्मबाट दैनिक छ सय लिटर दूध उत्पादन हुँदै आएको छ ।” दैनिक एक हजार पाँच सय लिटर दूध उत्पादन गर्ने लक्ष्य सहित ६० गाई थप्ने योजना रहेको उनले बताए । रासस

अनुदानले उत्साहित पशुपालक किसान

कैलाली । कैलालीको जानकी गाउँपालिकाका पशुपालक किसान व्यवसाय बढाउन अनुदान पाएपछि उत्साहित भएका छन् । पशुपालनलाई व्यवसायका रूपमा अघि बढाउन प्रयास गरिरहेका किसान अनुदान सहयोग पाएपछि थप उत्साहित भएका हुन् । किसानलाई व्यवसायमा आत्मनिर्भर बनाउन पालिकाले अनुदान सहयोग गरेको हो । गाउँपालिकाको पशु सेवा शाखाले आर्थिक वर्ष ०७७÷७८ मा किसानलाई मासु र दूध तथा अण्डामा आत्मनिर्भर बनाउन अनुदानका कार्यक्रम ल्याएको थियो । यसका साथै पशुपालनतर्फ क्षमता विकासका कार्यक्रम, नश्लसुधार कार्यक्रम र वितरणका कार्यक्रमसमेत सञ्चालन गरेकाले किसानलाई व्यवसायमा सहयोग पुगेको छ ।      पशुपालक किसान गाउँपालिकाबाट पाएको अनुदानले आफ्नो व्यवसायमा सहयोग पुगेको बताउँछन् । जानकी–१ धर्मापुरका ओमप्रकाश चौधरीले दुई वर्षदेखि व्यावसायिक रूपमा बाख्रापालन गरिरहेका छन् । व्यावसाययिक फार्म दर्ता गरी व्यवसाय सुरु गरेका चौधरीले बाख्रा र हाँस पालेका छन् । सात वटा बाख्राबाट व्यवसाय सुरु गरेका चौधरीसँग हाल २५ बाख्रा र २५ हाँस पुगेका छन् । उनले गाउँपालिकाको पशुसेवा शाखाबाट विभिन्न किसिमका अनुदान सहयोग पाएका छन् । ‘बाख्रालाई औषधोपचार, घाँसको बीउ, उन्नत जातको बोयर बोका, घाँस काट्ने मेसिन सहयोग पाएँ, जसले मलाई निकै उत्साहित बनाएको छ’, ओमप्रकाशले भने, ‘व्यवसायमा सहयोग पुगेको छ । मजस्तो सानो व्यवसाय गर्ने मानिसको उन्नत जातको बोका किन्ने, घाँस काट्ने र दाना बनाउने मेसिन किन्ने क्षमता छैन । पालिकाले अनुदानमा दिएर व्यवसायमा निरन्तरता दिन हौसला मिलेको छ ।’       जानकी–९ मूर्तियाका प्रकाश विकले पनि तीन वर्षदेखि बाख्रापालन गरिरहनुभएको छ । तीन वर्षअघि पे्रम अमृता बाख्रापालन फार्म दर्ता गरी १७ वटा बाख्राबाट व्यवसाय सुरु गरेका विकसँग हाल ५६ बाख्रा छन् । तीमध्ये उनीसँग २८ वटा उन्नत जातका बाख्रा छन् भने ३२ वटा स्थानीय जातका बाख्रा छन् । व्यावसायिक रूपमा बाख्रापालन गरिरहेका विकले पनि गाउँपालिकाबाट दाना बनाउने र घाँस काट्ने मेसिन, बाख्राको औषधि, घाँसको बिउ, पशु प्राविधिको निःशुल्क सहयोग पाइरहेका छन् ।       ‘गाउँपालिकाबाट जुन सहयोग र अनुदान पाएको छु, यसले मलाई थप व्यवस्थापन गर्न सहयोग र हौसला मिलेको छ’, उनले भने, ‘अझै बाख्राका लागि दाना बनाउने र घाँस काट्ने मेसिन पनि पाएँ । अब व्यवस्थापनमा समेत सजिलो हुने भएको छ । व्यावसायिक पशुपालनमा लागेकालाई यसले ठूलो राहत हुन्छ । समय व्यवस्थापन मात्र होइन, राम्रो उत्पादन लिन सकिने अपेक्षा गरेको छु ।’ विकले स्वदेशमै केही गर्न चाहने युवा, कृषि र पशु कर्ममा लागेकालाई स्थानीय सरकारको यस्तै सहयोग आवश्यक रहेको बताए । युवालाई स्वदेशमै रोजगारमूलक बनाउन कृषि कर्ममा लागेका युवालाई हौसला दिन सरकारले आगामी दिनमा अझ प्रभावकारी रूपमा अनुदानका कार्यक्रम ल्याउन आवश्यक रहेको उनको भनाइ छ ।      तीन वर्षदेखि बाख्रापालन गरिरहेका वडा–४ कञ्चनपुरका रेजिना कठरिया पालिकाको सहयोगपछि यो व्यवसाय विस्तार गर्ने योजनामा छन् । ‘पालिकाले कृषि तथा पशुपालनमा लागेकालाई राम्रो सहयोग गरेको छ’, कठरियाले भने, ‘यसले हामीलाई थप प्रोत्साहन मिलेको छ । मैले पशुपालनलाई थप विस्तार गर्नेबारे घरमा सल्लाह गर्दै छु ।’      जानकी–८ का दानबहादुर विक पनि दुई वर्ष एकीकृत पशुपक्षी फार्म दर्ता गरी भैंसीपालन गरिरहेका छन् । एक भैंसीबाट सुरु भएको उनीसँग हाल ६ भैंसी र चार बाख्रा छन् । विकले गाउँपालिकाबाट पशुलाई रोगविरुद्धको औषधी, मौसमअनुसारको घाँसको बिउ, दाना बनाउने र घाँस काट्ने मेसिन, सिँचाइका बोरिङलगायत सहयोग पाएका छन् । उनी गाउँपालिकाबाट पाएको अनुदानबाट आफ्नो व्यवसायमा थप टेवा पुगेको बताउँछन् । ‘यसलाई सदुपयोग गर्न सके अवश्य पनि व्यवसाय फस्टाउन मद्दत मिल्छ’, उनले भने ।      पालिकाले पशु व्यवसायमा किसानलाई प्रोत्साहन गर्ने, हौसला दिने मात्र होइन, किसानलाई पोषणको महत्वबारे समेत सिकाउने गरेको छ । घरमै उत्पादन भएका खानेकुरा दही, दूध, माछामासु, अण्डा खाएर पोषणमा सुधार ल्याउने प्रयाससमेत पालिकाले थालेको छ । पालिकाका अध्यक्ष प्रदीपकुमार चौधरी पशुपालन गर्ने किसानलाई व्यवसायमा आकर्षण बढाउन गाउँपालिकाबाट सहयोग गर्ने खालका कार्यक्रम सञ्चालन गरिरहेको बताउँछन् । ‘हामी आगामी दिनमा पनि सहयोग गर्छौं, कृषि र पशुपालनमा लगानी बढाउने हाम्रो नीति पनि छ । रासस