काठमाडौं । पछिल्ला दुई महीनामा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको संख्या घटेको छ । चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या साउनमा सबैभन्दा कम २५ हजार ४ सय र मंसिरमा सबैभन्दा धेरै ७४ हजार ३५४ थियो । तर त्यसपछिका महीनामा यो संख्या घट्दै गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।
विभागका अनुसार पुसमा ६६ हजार ६२५ जना नेपालीले अन्तिम श्रम स्वीकृति लिएकोमा माघमा ५४ हजार ४७० जनाले मात्रै अन्तिम श्रम स्वीकृति लिएका छन् । पछिल्लो ७ महीनामा भने ३ लाख ४९ हजार नेपाली श्रमिक विश्वका विभिन्न ८४ मुलुकमा रोजगारीका लागि गएका छन् ।
जिल्लागत रूपमा गत माघमा सबैभन्दा बढी श्रमिक धनुषाबाट विदेश गएका छन् । मनाङबाट भने रोजगारीका लागि एकजना पनि विदेश नगएको विभागले बताएको छ । धनुषाबाट ३३ हजार ३८८ जना बाहिरिएका छन् भने सबैभन्दा कम मुस्ताङबाट चारजना वैदेशिक रोजगारीका लागि गएका छन् ।
प्रमुख श्रम गन्तव्य मानिएका साउदी, कतार, दुबई लगायत खाडी मुलुकमा जाने कामदारको संख्या घटिरहेको छ । केही वर्ष अघिसम्म नेपाली श्रमिकको पहिलो रोजाइ मलेसिया हुने गरेकोमा पछिल्लो समय भने साउदी अरबको रोजगारीमा आकर्षण बढेको थियो ।
पछिल्लो ७ महीनामा करीब ३ लाख ५० हजार नेपाली वैदेशिक रोजगारीमा जाँदा १ लाख २२ हजारभन्दा बढी साउदी अरब गएका छन् । फागुनमा साउदी अरब जाने नेपाली १९ हजार ८३१ जना छन् । गत पुसमा भने साउदी जानेको सख्या २५ हजारभन्दा बढी थियो । पुसको तुलनामा माघमा ५ हजार २८७ जना कामदार घटेका छन् । त्यस्तै दोस्रो ठूलो श्रम गन्तव्यको रूपमा रहेको कतार र तेस्रो ठूलो श्रम गन्तव्य यूएई जाने नेपालीको संख्या पनि घटेको छ । कतारमा पछिल्लो ७ महीनामा १ लाख १५ हजार ८४७ जना नेपाली रोजगारीका लागि गएका छन् । गत माघमा १४ हजार ७५१ नेपाली कामदार रोजगारीका लागि कतार गएका छन् । त्यस्तै तेस्रो गन्तव्यको रूपमा रहेको युनाइटेड अरब इमिरेट्स (यूएई)मा गत माघमा ११ हजार ३०३ जना नेपाली कामदार रोजगारीको लागि गएको विभागको तथ्यांक छ ।