संस्थागत सामाजिक उत्तरदायित्वको नियमन

सरकारले कम्पनीहरूलाई उनीहरूले मुनाफा आर्जन गरेको मुनाफाबाट १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वका लागि खर्च गर्न अनिवार्य गरेको छ । तर, त्यो रकम कसरी खर्च गर्ने र त्यसको लेखांकन कसरी राख्ने भन्ने स्पष्ट पारेको छैन । साथै, मुनाफा आर्जन गरेको वर्ष नै त्यो खर्च गर्न लेखामानअनुसार मिल्दैन भने अर्को वर्ष खर्च गर्दा सरकारले जरीवाना तिराएको छ । यसरी एकातिर सामाजिक उत्तरदायित्वका खागि खर्च भएको छ भने अर्कातिर खर्च नगरेको भनी सरकारले जरीवाना तिराउँदा कम्पनीहरूको दोहोरो खर्च हुने गरेको छ । यस्तोे अव्यावहारिक तरीकाले जरीवाना तिराउनुभन्दा यसका लागि केही नियम बनाइदिनु आवश्यक देखिएको छ । कम्पनीहरूले जेजति मुनाफा गर्छन् त्यो समाजमा नै सामान वा सेवा विक्री गरेर कमाउने हुन् । त्यसैले त्यस्तो मुनाफा गर्ने कम्पनीले त्यही समाजका लागि मुनाफाको केही रकम खर्च गर्नुपर्छ भन्ने मानिन्छ । त्यसरी गरिने खर्चलाई नै संस्थागत सामाजिक उत्तरदायित्व भनिएको हो । विश्वभरि नै ठूलाठूला धनीहरूले गुठी बनाएर वा अन्य तरीकाले विभिन्न सामाजिक कार्य गरेको पाइन्छ । अल्फ्रेड नोबेलले डाइनामाइट बेचेर कमाएको पैसाले स्थापना गरेको नोबेल पुरस्कार नै सामाजिक उत्तरदायित्वको उत्कृष्ट नमूना हो । विलियम कोलगेटले कोलगेट कम्पनीको मुनाफाबाट संस्थागत सामाजिक उत्तरदायित्वका लागि खर्च गरेका थिए जसबाट यो अवधारणा अघि बढेको मानिन्छ । कम्पनीका क्रियाकलापले समाजलाई असर पारेको हुन्छ । उद्योगले वातावरण प्रदूषण गरेको हुन्छ । कम्पनीहरूका क्रियाकलाप सबै समाजमै हुन्छन् । समाजबाट लिएको नाफा समाजकै हितका लागि केही न केही खर्च गर्नुपर्ने नियम बनाइएको छ ।  सरकारले केकस्तो क्षेत्रमा सामाजिक उत्तरदायित्वको रकम खर्च गर्नु बढी उपयुक्त हुन्छ भनेर त्यस्तो क्षेत्र तोकिदिए कम्पनीहरूलाई केही सहयोग मिल्छ । त्यसैगरी कहिलेसम्म कसरी खर्च गर्ने भन्ने निर्देशिका बनाइदिनु जरुरी छ ।  नेपालमा कम्पनी ऐन २०६३ ले पहिले सामाजिक उत्तरदायित्वसम्बन्धी व्यवस्था गरेको पाइँदैन तर पछि यसमा यस्तो व्यवस्था थपिएको पाइन्छ । तर, नेपाल राष्ट्र बैंकले भने आफ्नो नियमनको दायराभित्र पर्ने संस्थाहरूलाई यस्तो खर्चसम्बन्धी विभिन्न निर्देशन दिएको पाइन्छ । त्यसैअनुसार बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी खर्च र त्यसको लेखांकन गर्दै आएका छन् । त्यसो हुँदा यस्ता कम्पनीको हिसाबमा समस्या देखिएको छैन । तर, अन्य कम्पनीको मामिलामा भने यस्तो स्पष्ट व्यवस्था छैन । सरकारले वार्षिक १५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने उद्योगलाई नाफाको कम्तीमा १ प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्नुपर्ने नियम बनाएको छ । तर, यस्तो खर्चलाई आन्तरिक राजस्व कार्यालयहरूले खर्च स्वीकार नगरेको व्यवसायीहरूको भनाइ छ । जुन वर्षको नाफा हो सोही वर्षमा खर्च देखाउन नमिल्ने र खर्च भएको वर्षमा देखाउन खोज्दा करका निकायका अधिकारीहरूले नमान्ने भनेको नियम कानूनको अव्यवस्था नै हो । यस्तो अव्यावहारिक नीतिको माखेसंग्लो नेपालका धेरै क्षेत्रमा रहेको पाइन्छ । यसको समाधानका लागि कानूनी सुधार गरे पुग्छ । तैपनि यसतर्फ चासो देखिएको छैन ।  संस्थागत सामाजिक उत्तरदायित्व अनिवार्य नभएको अवस्थामा पनि कम्पनीहरूले समाजका लागि केही न केही सहयोग गर्ने गरेका छन् । उद्योगीहरूले समाजका लागि आवश्यक भवनहरू बनाइदिने, मठमन्दिरमा सहयोग गर्ने, अशक्तहरूलाई छात्रवृत्तिलगायत सहयोग गर्ने काम भइरहेकै छ । तैपनि पश्चिमा मुलुकमा जस्तो ठूलाठूला ट्रस्ट बनाएको पाइँदैन । सरकारले केकस्तो क्षेत्रमा यस्तो उत्तरदायित्वको रकम खर्च गर्नु बढी उपयुक्त हुन्छ भनेर त्यस्तो क्षेत्र तोकिदिए कम्पनीहरूलाई केही सहयोग मिल्छ । त्यसैगरी कहिलेसम्म कसरी खर्च गर्ने भन्ने निर्देशिका बनाइदिनु जरुरी छ । त्यसो भएमा यस्तो खर्च गर्ने ठाउँ स्पष्ट हुन्छ र यस्तो खर्चले समाजमा केही सकारात्मक असर पनि पार्न सक्छ । अन्यथा उद्योगीहरूले पनि खर्च गरेजस्तो गर्ने र हिसाबकिताबमात्रै देखाउने गर्न पनि सक्छन् । यस्तो खर्चमा कर छूट दिने र अन्य किसिमले प्रोत्साहन गर्ने गर्नुपर्छ । त्यस्तो प्रोत्साहन नीति लिनु जरुरी छ । एकातिर सरकारले कुन क्षेत्रमा खर्च गर्ने भन्ने पनि स्पष्ट नपार्ने अनि उद्योगीले खर्च गर्दा त्यस्तो खर्चको हिसाबकिताब नमान्ने दोहोरो नीति लिनु हुँदैन । अझ त्यसमा जरीवानासमेत तिराउनु त अन्याय नै हो । यसले उनीहरूलाई प्रोत्साहन गर्दैन । कानूनले एउटा कुरा व्यवस्था गर्ने तर अभ्यास अर्कै हुने हो भने अनेक समस्या हुन्छन् । राज्यप्रति सर्वसाधारणको वितृष्णा बढ्छ । त्यसैले यो समस्या किन आयो ? छानविन हुनुपर्छ । 

सम्बन्धित सामग्री

संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी अलग्गै ऐन बनाइने

बैंक तथा वित्तीय संस्था र वित्तीय क्षेत्रका कम्पनीहरूको संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)सम्बन्धी खर्चको नियमन गर्न छुट्टै ऐन बनाइने भएको छ । विभिन्न कम्पनी एवं संस्थाहरूले आफ्नो नाफाको १ प्रतिशत रकम सिएसआरमा...

संस्थागत सामाजिक उत्तरदायित्वको औचित्य

संस्थागत सामाजिक उत्तरदायित्वको नारा निजी तथा सार्वजनिक संस्थानमा जोडतोडले अगाडि बढेको देखिन्छ । विश्वमा यसबारे सर्वव्यापी परिभाषा नभएता पनि पारदर्शिता, नैतिकता, सामाजिकता, कानूनको पालना, वातावरण संरक्षण, उपभोक्ताको हित र कल्याणकारी कार्यलाई संस्थागत सामाजिक उत्तरदायित्व भन्ने गरिन्छ । कुनै पनि संस्थामा कार्यरत कर्मचारीले नैतिक र कानूनी आचरण पालना गर्दै ग्राहकलाई मुस्कानसहितको सेवा दिएका छन् कि छैनन् भन्ने कुरा पनि संस्थागत सामाजिक उत्तरदायित्वको महत्त्वपूर्ण पाटो हो । हरेक संगठनको उद्देश्य बढीभन्दा बढी नाफा कमाउने र शेयरहोल्डरको मूल्य एवं कम्पनीको उत्पादकत्व र शाख वृद्धि गर्ने कार्य गरिरहँदा वातावरण संरक्षण, सामाजिक सेवा, ग्राहकको हित, नैतिकता, संस्थागत सुशासन र कानूनको पालनालाई भने बेवास्ता गर्नु हुँदैन । यसको पालनाबाट नै कम्पनीको सफलता र व्यवसायको शाख वृद्धि हुन्छ । त्यसैले संस्थागत सामाजिक उत्तरदायित्वको कार्य क्षेत्र परोपकारी कार्यमा मात्र सीमित नभै बृहत् छ । पछिल्ला दिनमा संस्थागत सामाजिक उत्तरदायित्व व्यवसाय प्रवर्द्धनको केन्द्र बन्न पुगेको देखिन्छ । सरकारले समेत संगठनको कुल नाफाको निश्चित प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्नु पर्ने नियम बनाएको छ । तर, कुन संस्थाले यस क्षेत्रमा कति रकम खर्च गरे र कुन कुन शीर्षकमा खर्च गरे भन्ने कुराको लेखाजोखा राख्ने वा प्रभावकारी नियमन गर्ने काम भने भएको छैन । मन्दिरमा रकम दान गर्ने, वृद्धाश्रममा वृद्ध नागरिकलाई सेवा गर्ने, विद्यालयलाई कम्प्युटर प्रदान गर्ने, प्राकृतिक प्रकोपमा परेका नागरिकलाई आर्थिक राहत दिने जस्ता परोपकारी कार्य पनि संस्थागत सामाजिक उत्तरदायित्व हो तर यतिले मात्र संस्थागत सामाजिक उत्तरदायित्वको अर्थ र कार्य पूरा हुँदैन । संस्थागत सामाजिक उत्तरदायित्व भनेको वातावरण संरक्षण गर्ने, संस्थागत सुशासन पालना गर्ने, सर्वसाधारणलाई उनीहरूको इच्छा र आकांक्षा बुझी गुणस्तरीय सेवा छिटोछरितो रूपमा उपलब्ध गराउने र सामाजिक हित र प्रतिष्ठालगायतको पालना गर्ने हो । पछिल्ला दिनहरूमा मौलाएको परोपकारी कार्यमा केही रकम खर्च गर्ने र सडकमा ब्यानर लिएर जनचेतना जगाउने नाममा केही किलोमिटर सामूहिक र संस्थागत नाममा हिंड्ने कार्यलाई मात्र संस्थागत सामाजिक उत्तरदायित्व भन्ने गरिएको पाइन्छ  । राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा संस्थागत सामाजिक उत्तरदायित्वका गतिविधि बढ्दै गइरहेको देखिन्छ । संस्थागत सामाजिक कार्यसम्पादन, नागरिक व्यवहार, स्टेकहोल्डरको हित र व्यवस्थापन संगठनको कुशल नेतृत्वले मात्र गर्न सक्ने हुँदा यसतर्फ सम्बन्धित संगठनको सञ्चालक समिति, महाप्रबन्धक वा कार्यकारी र अन्य कर्मचारीहरू पनि उत्तिकै चनाखो हुनुपर्छ । कुनै पनि संगठन समाजमा नै जन्मिन्छ, हुर्किन्छ र समाजमा नै अन्त्य हुन्छ । समाजबाट नै कच्चा पदार्थलगायत स्रोत र साधन उपलब्ध गर्दछ । त्यसबाट उत्पादन गर्दछ र उत्पादित वस्तु तथा सेवाको विक्रीवितरण वा बजारीकरण पनि समाजमा नै गर्छ । त्यसैले हरेक संगठन समाजप्रति उत्तरदायी हुन जरुरी छ । तसर्थ संस्थागत सामाजिक उत्तरदायित्व आजको अपरिहार्य आवश्यकता हो भन्नुमा अत्युक्ति नहोला ।   समाजलाई प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी दिने कार्य, खानेपानी, ढल, सडक निर्माण लगायत ग्रामीण विकास, रक्तदान, स्वास्थ्य शिविरदेखि वस्तु तथा सेवाको उपलब्धताद्वारा जनसाधारणको न्यूनतम आवश्यकता पूरा गर्ने कार्यसम्म पनि संगठनबाट नै हुने हुँदा कुनै पनि संगठन संस्थागत सामाजिक उत्तरदायित्वबाट विमुख हुन सक्दैन । विश्वव्यापीकरण एवं प्रविधिको तीव्र विकासका कारण हरेक संगठनले पछिल्ला दिनहरूमा एक आपसमा कडा प्रतिस्पर्धा गर्नु परेको छ । अर्कोतर्फ उपभोक्ता पनि दिन प्रतिदिन वस्तु तथा सेवाको गुणस्तर र उपलब्धताप्रति सचेत बन्दै गएको अवस्थामा संगठनमा काम गर्ने कर्मचारीलाई खुशी तुल्याउने, उचित ज्याला र तलबभत्ताको व्यवस्था गर्ने, स्वस्थ प्रतिस्पर्धा गर्ने, दक्ष कामदारको विकास गरी वस्तु तथा सेवाको गुणस्तरमा ध्यान केन्द्रित गर्ने कार्यले मात्र संस्थागत सामाजिक उत्तरदायित्व पूरा गरेको मानिन्छ । संस्थागत सामाजिक उत्तरदायित्वको मुख्य चालकमा कानूनको पालना, सामाजिक योगदान, पारदर्शिता एवं इमानदारी र सहयोग एवं सार्वजनिक अपेक्षा पूरा गर्नु हुन् । संगठनको बजार शाखमा वृद्धि, स्टेकहोल्डरसँगको आत्मीयतामा वृद्धि, व्यवसायको उत्पादकत्व र नाफामा वृद्धि, कानूनी झन्झटबाट मुक्ति, नयाँ व्यावसायिक अवसरको प्राप्ति र असल व्यावसायिक वातावरणको निर्माणलगायतका पक्षबाट संस्थागत सामाजिक उत्तरदायित्व समाजको लागि मात्र नभै संगठन स्वयंको लागि पनि निकै फलदायी छ भन्ने कुरा प्रमाणित हुन्छ । संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी विज्ञ क्यारोल भन्छन्, ‘कुनै पनि संगठनको आर्थिक उत्तरदायित्व हुन्छ जसबाट कम्पनीले नाफा कमाई कम्पनी स्वयं र लगानीकर्ताको हित कायम गर्न सक्दछ ।’ कम्पनीको कानूनी उत्तरदायित्व हुन्छ जहाँ संगठनले नियम कानूनको पालना, कर्मचारीको स्वास्थ्य र सुरक्षा सम्बन्धी हित, स्वस्थ प्रतिस्पर्धा आदिलाई आत्मसात् गर्नु पर्दछ । नैतिक उत्तरदायित्वमा असल कार्य निष्पक्षतापूर्वक गर्ने र वातावरण प्रदूषित हुने कार्य नगर्ने एवं कम्पनी वा संगठनको हित विपरीतका कार्य नगर्ने कुरालाई आत्मसात् गर्नु पर्दछ । अन्त्यमा परोपकार सम्बन्धी उत्तरदायित्वको पालना समेत गर्नु पर्दछ । यसमा नाफाको निश्चित रकम परोपकारी कार्यमा खर्च गर्ने वा लगानी गर्ने कार्य पर्दछ ।   नेपालको परिवेशमा संस्थागत सामाजिक उत्तरदायित्वको विश्लेषण गर्दा संगठनले दिने सेवा गुणस्तरीय र छिटोछरितो नभएको, सामाजिक उत्तरदायित्वमा हुने गरेको खर्च पारदर्शी नभएको, सर्वसाधारण वा सेवाग्राहीले सार्वजनिक संस्था वा संगठनबाट सेवा लिँदा अनेक सास्ती खेप्नु परेको, संस्थागत सुशासनको पालना नभएको, चर्को मूल्य वृद्धि गरेको, कालोबजारी गरेको, मिसावट गरेको लगायतका गुनासाहरू दिनहुँजसो सुन्नमा आइरहन्छ । त्यसैले सबै क्षेत्रमा कार्यरत संगठनले नाफा मात्र नहेरी  यसप्रति चनाखो भई जनउत्तरदायी कार्य गरेमा मात्र संगठनको छवि दिगो हुन्छ र संस्थागत सामाजिक उत्तरदायित्वको पनि पालना हुने कुरामा कसैको विमति नरहला । लेखक बैंक तथा वित्तीय संस्थाका विज्ञ हुन् ।