वैशाख ७, काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख ३० गते १०औं वार्षिक साधारण सभा आव्हान गरेको छ ।
कम्पनीले होटल न्यू इरा, बुटवल, कालिकापथ, रुपन्देहीमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । कम्पनीको वैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई ४९ दशमलव ४० प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि २ दशमलव ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाको अन्य प्रस्तावमा कम्पनीको अधिकृत पूँजी वृद्धि गरी ५० करोड पुर्याउने, बोनस जारी गरेपछि कम्पनीको जारी तथा चुक्तापूँजीमा वृद्धि हुने भएकाले सोही बमोजिम जारी तथा चुक्तापूँजी वृद्धि गरी कम्पनीको प्रवन्धपत्रमा आवश्यक संशोधन गर्ने, यस कम्पनी र अन्य इजाजत प्राप्त लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने पनि रहेको छ ।
त्यस्तै, सभाले कम्पनीको कार्यक्षेत्र विस्तार गरी राष्ट्रिय स्तरमा स्तरोन्नति गर्ने र स्वतन्त्र सञ्चालकको मनोनयन अनुमोदन पनि गर्नेछ ।
साधारण सभा र लाभांश प्रयोजनका लागि वैशाख २३ गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा वैशाख २२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।