भदौ १०, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनद्वारा कडा पारिएको व्यवसायिक क्षेत्र र सरकारी कार्यालयलाई पुनः केही खुकुलो गर्दै १० दिन निषेधाज्ञा थप गरेको छ । कार्यालयले भदौ २० गतेसम्म निषेधाज्ञा लम्ब्याएको छ । जारी निषेधाज्ञा आज (बिहीवार) राति १२ बजे सकिँदैछ ।
बुधवार प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आदेश जारी गरी भदौ २० गतेसम्म निषेधाज्ञा थपिन लागेको जानकारी दिएका हुन् । यसअघि थप गरिएको निषेधाज्ञामा सक्रिय संक्रमितको संख्याको साथै मृत्युदर मा पनि वृद्धि भएकोे भन्दै निषेधाज्ञा कडा पारिएको थियो । तर पछिल्ला दिनहरुमा सक्रिय संक्रमित दर र मृत्युदरमा कमी आएपछि निषेधाज्ञा केही खकुलो गरिएको प्रशासनले जानकारी दिएको छ ।
आदेश अनुसार यस अघि जारी गएिको निषेधाज्ञामा चारओटा बढी भीड हुने सरकारी कार्यालयहरु मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय, नापी कार्यालय र जिल्ला प्रशासन कार्यालयहरु बन्द गरिएकोमा अबदेखि नियमित रुपमै सञ्चालन हुनेछन् ।
यसैगरी, अत्यावश्यक बस्तु बाहेक दैनिक उपभोग्यका वस्तुहरुका लागि साताको तीन दिन मध्यान्ह्र १२ बजेदेखि ६ बजेसम्म सञ्चालन हुँदै आएकोमा अबदेखि पहिलेकै समय तालिकामा सातै दिन सञ्चालन गर्न पाइनेछ । अन्य क्षेत्रहरुको हकमा कुनै आदेश संशोधन तथा परिवर्तन गरिएको छैन । ‘व्यवसाय तथा अन्य संस्थाहरु आंशिक रुपमा सञ्चालनमा आउँदा एक्कासी भीड बढ्यो भन्ने गुनासो आयो सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले भने, ती विषयहरुलाई पनि हामीले मूल्यांकन गर्यौं ।’
कोरोना संक्रमितको संख्या घटेसँगै सिसिएमसीको सिफारीश अनुसार निषेधाज्ञा खकुलो गरिएको शर्माले बताए । ‘अघिल्लोपटकको निषेधाज्ञामा करीब ३ हजार सक्रिय संक्रमित थिए शर्माले भने, अहिले घटेर १ हजार ८०० जतिमा झरेको छ ।’ उनका अनुसार संक्रमितको दर अनुसार निषेधाज्ञालाई कडा र खुकुलो गर्दै लगिने छ । कोरोना संक्रमित दर कम हुँदै गएमा अन्य क्षेत्रलाई पनि खुकुलो पार्दै लगिने उनको भनाइ छ ।