पुस ३, काठमाडौं । अघिल्ला दुई साता निरन्तर पाँच प्रतिशतभन्दा बढीले घटेको नेप्से परिसूचक यो साता भने २ दशमलव ९९ प्रतिशत घटेको छ । गत साता २ हजार ४४९ दशमलव ९७ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ३७६ दशमलव ७४ विन्दुमा बन्द भएको हो । गत साताभन्दा यो साता नेप्से परिसूचक अंकमा भने ७३ दशमलव २३ अंक तल झरेको हो ।
यो साता बजारले ६ प्रतिशतको सकारात्मक सर्किट देख्न पाएको थियो । पहिलो कारोबार दिन ८८ दशमलव ७३ अंक र दोस्रो दिन ७९ दशमलव ५७ अंक घटेको बजार तेस्रो कारोबार दिन भने ६ प्रतिशत अर्थात् १३७ दशमलव १८ अंकले बढेर कारोबारको करीब साढे २ घण्टाको अवधिमै बन्द भएको थियो ।
उक्त दिन बजार दुई पटक सकारात्मक सर्किट लागेको थियो । त्यस दिन १२ बजेर ३८ मिनेटमा नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पहिलो सकारात्मक सर्किट लागेको थियो । पहिलो सर्किटपछि ४० मिनेट बन्द भई खुला भएको बजार ९ मिनेटभित्रै थप एक प्रतिशत बढेपछि पुरै दिनका लागि कारोबार बन्द भएको थियो ।
तेस्रो दिन सकारात्मक सर्किट सहित बन्द भएको बजार चौथो दिन भने ४ दशमलव २३ अंकले घटेर बन्द भएको थियो । साताको अन्तिम कारोबार दिन भने बजार ३७ दशमलव ८७ अंकले घटेको हो ।
बजारमा लगानीयोग्य पूँजीको अभावका कारण बजार प्रभावित बनिरहँदा आइतवार माओवादीका अध्यक्ष प्रचण्डले एक कार्यक्रममा बोल्दै औधोगिक क्षेत्रमा लगाउनु पर्ने लगानी धितोपत्र बजारमा हुनु भनेको साम्राज्यवादको विकसित रुप भएको टिप्पणी गरेका थिए ।
धितोपत्र दोस्रा बजार सूचनाको जोखिमका विच सञ्चालन हुने भएकाले माओवादी अध्यक्ष प्रचण्डको उक्त अधिव्यक्तिपछि पनि थप प्रभावित बनेको लगानीकर्ताहरुको आरोप छ । बजारले नकारात्मक कुराहरुलाई पचाईसकेकाले तरलता अभावका विच पनि बैंक तथा वित्तीय संस्थाहरुले व्याजदर स्थिर राख्नु बजारका लाथि सकारात्मक रहेको टिप्पणी ब्रोकरहरुले गरेका छन् । यसका कारण पनि केहि समयदेखि निरास बनेका लगानीकर्ताहरु थप आशावादी बनेको ब्रोकरहरु बताउँछन् ।
यो साता बजारका समग्र परिसूचकहरु गत साताभन्दा कम भएका छन् । नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ७१ अंकले घटेको छ । गत साता ४६५ दशमलव २४ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४५३ दशमलव ५३ विन्दुमा झरेको हो ।
कारोबार रकम पनि गत साताभन्दा यो साता ९८ करोड ७७ लाख ६७ हजारले घटेको छ । गत साता रू. १७ अर्ब ९ करोड ८६ लाख ७० हजार बराबरको शेयर कारोबार भएकोमा यो साता रू. १६ अर्ब ११ करोड ९ लाख ३ हजार बराबरको शेयर कारोबार भएको हो । कारोबार रकमसँगै यो साता ३० लाख २२ हजार ९५ कित्ता कम शेयर कारोबार भएको छ । गत साता ३ करोड ९५ लाख ६ हजार ९६६ कित्ता शेयर कारोबार भएकोमा यो साता ३ करोड ६४ लाख ८४ हजार ८७१ कित्ता शेयर कारोबार भएको हो ।
बजारका महत्वपूर्ण परिसूचकहरुमा कमी आएको यो साता सूचीकृत कम्पनीहरुको कुल शेयरमूल्य पनि रू. १ खर्ब २ अर्ब ८१ करोड ४४ लाखले घटेको छ । गत साताको अन्तिम कारोबार दिन रू. ३४ खर्ब ४४ अर्ब २६ करोड ४२ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. ३३ खर्ब ४१ अर्ब ४४ करोड ९८ लाखमा झरेको छ ।
यो साताको बजारका सूचकहरुको अवस्था :
स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
यो साता निर्जीवन बीमा समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाए :
यो साताको कारोबारमा निर्जीवन बीमा समूहका लगानीकर्ताहरुको सम्पत्तिको मूल्य सर्वाधिक घटेको छ । गत साता १० हजार ८२६ दशमलव ७६ विन्दुमा रहेको निर्जीवन बीमाको समूहगत परिसूचक यो साता १० हजार १९८ दशमलव २८ व्न्दिुमा झरेको हो ।
गत साताभन्दा यो साता निर्जीवन बीमा समूहको परिसूचक ५ दशमलव ८० प्रतिशत घटेको हो । यो साता सबै समूहगत परिसूचक घटेका छन् । निर्जीवन बीमासँगै विकास बैंक समूहको परिसूचक ५ दशमलव ७८ प्रतिशत घटेको छ ।
त्यस्तै, व्यापारिकको ५ दशमलव ६५ प्रतिशत, बैंकिङको १ दशमलव ४९ प्रतिशत, होटल्स तथा पर्यटनको २ दशमलव ३२ प्रतिशत, जलविद्युतको ३ दशमलव ८७ प्रतिशत, वित्तको २ दशमलव ३९ प्रतिशत, जीवन बीमाको ४ दशमलव ४२ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ८० प्रतिशत र लगानी समूहको २ दशमलव ९८ प्रतिशत परिसूचक घटेको हो ।
साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तनको अवस्था :
स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)